रुस-युक्रेन युद्धको रेड जोनमा सयौं नेपाली : चारजना बन्धक, आएन सातवटै शव

रुस-युक्रेन युद्धको रेड जोनमा सयौं नेपाली : चारजना बन्धक, आएन सातवटै शव
रुस–युक्रेन युद्धमा मारिएका सात मध्य ६ जना (ब्ल्याक एन्ड ह्वाइटमा), युक्रेनको नियन्त्रणमा रहेका चारजना बन्दीहरू

काठमाडौं । रुस–युक्रेन युद्ध लम्बिँदै जाँदा त्यसमा नेपालीको संलग्नता रहेको विषय बाहिरिएका थिए । युद्ध सुरु भएको वर्षदिनपछि केही नेपाली युवा युक्रेनी सेनामा रहेको टिकटक भिडिओ बाहिरियो ।

ती विषय समाचारमा आउन थाले पनि थाहा नपाएको जस्तो गरेको सरकार अहिले नेपाली युवाले त्यहीं युद्धमै मृत्युवरण गरिरहेका शृङ्खला सार्वजनिक गरिरहेको छ । पछिल्लो केही सातायता रुसी सेनामा भर्ना भएका नेपाली युवा मारिएपछि नेपाल सरकार औपचारिक रूपमा बोल्न बाध्य भएको छ ।

सुरुआती दिनमा एकदुई नेपाली युक्रेनी सेनामा पनि भर्ती भएका खबरहरू सार्वजनिक भएका थिए । यस्ता खबरहरूलाई सकभर बेवास्ता गरिरहेको परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका नेपालीको एकपछि अर्को मृत्युको खबर बाहिर ल्याइरहेको छ ।

हालसम्म रुस र युक्रेन युद्धमा परी मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ । मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, मेलुङ गाउँपालिका–६, दोलखाका राजकुमार कार्की, वाणगंगा–१, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दनसिंह नागल रहेका छन् ।

रुसी सेनामा भर्ती भएर सस्तो मृत्यु रोज्न बाध्य भएकाहरूमा बेरोजगार, गरिबदेखि माओवादी जनयुद्धमा होमिएका पूर्वलडाकुहरू छन् । प्रहरी र सेनाको जागिर बीचमै छोडेकाहरू र सुरक्षा निकायबाट अवकाशप्राप्तहरू पनि छन् ।

युक्रेनमा बन्दी अवस्थामा चारजना नेपाली रहेका छन् । रुसी सेनामा कार्यरत रहेको अवस्थामा युद्धका क्रममा उनीहरू युक्रेनी सैनिकको नियन्त्रणमा रहेका हुन् । बर्दियाको राजापुर नगरपालिका– १ का विवेक खत्री र काभ्रेको मन्डनदेउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल बन्दी छन् । परराष्ट्रका अनुसार बन्दीमा मोरङको लेटाङ नगरपालिका– २ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका– ८ का प्रतीक पुन पनि छन् ।

अझै सयौँ नेपाली युद्धको ‘रेड जोन’मा

नेपाली युवालाई भर्ती केन्द्र नै खोलेर भारतीय र बेलायती सेनामा भर्ती गराउने क्रम क्रम दशकौँदेखि चलिरहेको छ । सरकारले यस्तो भर्तीलाई कूटनीतिक रूपमै सघाउँदै आएको छ ।

तर, अहिले दलालहरूले नेपाली युवालाई आकर्षक सुविधाको प्रलोभनमा सुरक्षा गार्ड भन्दै सेनामा भर्ती गराइरहेका छन् ।

अहिले रुसमा मारिएका र रुसी सेनाबाट युद्ध लड्न जाँदा युक्रेनले पक्राउ गरेका युवाहरू उनै हुन् । रुस–युक्रेन युद्धसँग नेपालको कुनै साइनो छैन । तैपनि यसमा नेपालीहरू व्यक्तिगत रूपमा सहभागी भएर ज्यान गुमाइरहेका छन् ।

रुसी सेनामा भर्ती भएका नेपालीमध्ये सात जना मारिएका खबर सार्वजनिक भएको छ । चारजना नेपाली युक्रेनको नियन्त्रणमा छन् । सयौँ जना नेपालीहरू अझ युद्धमा छन् ।

तर, ‘रेड जोन’मा खटिएका नेपालीहरूको ज्यान जाने क्रमलाई रोक्न न नेपाल सरकारले परिणाममुखी पहल गरेको न त रुसी सरकार नै इमानदार बनेको छ ।

मानव तस्करको यस्तो छ जालो

पछिल्लोसमय मानव तस्करको पछिपछि महिनौँसम्म धाएर नेपाली युवाहरू रुस र युक्रेनसम्म पुगिरहेका छन् । नेपालले रुस भ्रमण गर्न तत्कालका लागि रोक लगाएको छ । रुसी सेनामा भर्ना हुन खोज्नेहरू भारत तथा दुवईबाट पुग्ने गरेका छन् ।

सरकारले पर्यटन भिसामा रुस जान रोक लगाए पनि नेपालबाट दुबई तथा भारत हुँदै जानेहरू धेरै छन् । पर्यटक भिसामा दुबई छिर्ने र त्यहाँबाट रुस र युक्रेन छिर्ने गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्र खत्री बताउँछन् ।

उनी भन्छन्, ‘‘सङ्गठित मानव तस्करका एजेन्ट र उनीहरूका सहयोगीहरू देशैभरि छ्यापछ्याप्ती छन् । गरिबी, अभाव र संकटसँग जुधेर बसिरहेका बेरोजगार युवालाई सेक्युरिटी गार्डमा लैजाने भनेर वा विभिन्न बहानामा रुस र युक्रेन पुर्‍याइरहेका छन् । मानव तस्करमाथि हामीले निगरानी बढाइरहेका छौँ ।’’

रुस आर्मीमा नेपाली पठाउने मानव तस्करको गिरोह

कतिपय युवाहरू भने सेनामै भर्ना हुने भन्दै मानव तस्करको पछि लागिरहेका छन् । युद्धमा कथं बाँचियो भने रुसी नागरिकता हात पर्ने र मरियो भने परिवारले केही करोड रुपैयाँ पाउने कुराले पनि कतिपयलाई लोभ्याइरहेको बताइन्छ ।

जानकार भन्छन्, ‘‘पचासौँ लाख दलाललाई बुझाएर, दर्जनौँ देशका सीमा अवैध रूपमा कटेर लुकीछिपी रुस, युक्रेन र अमेरिका छिर्न उद्धत छन् । यो सबै गरिबी र अभावको कारण हो ।’’

युद्धमा खटाइएहरू जीवन रक्षाको याचना गर्दै

युक्रेनसँगको युद्धमा रहेको रुसी सेनामा भर्नाका लागि भन्दै नेपालमा मानव तस्करीको डरलाग्दो सञ्जाल देखिएको छ । रुसी सेनामा भर्ना भएकाहरू भने जीवन रक्षाको याचना गरिरहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको कारबाहीमा रुसी सेनामा भर्ना गर्न पठाउने गिरोहका १३ जना पक्राउ परेका छन् । युक्रेन–रुस युद्ध चलिरहँदा रुसी सेनाका लागि भन्दै पठाउने गिरोह नै सक्रिय रहेको देखिएको छ । केही रुसी दूतावासमा कार्यरत नेपाली नै छन् ।

विशेष रूपमा भइरहेको अनुसन्धानका क्रममा गिरोहका सदस्यमध्ये गोकर्ण अर्याल नेपालस्थित रुसी दूतावासका कर्मचारी निकोलस नाम गरेको व्यक्तिसँग सिधा सम्पर्कमा देखिएका छन् ।

दूतावासका कर्मचारीकै योजनामै रुस जान चाहनेका लागि १२ दिनभित्र भिसा तयार पार्ने गरेको खुलेको छ । सात लाख रुपैयाँ लिएर रुस पठाउने गिरोहको सञ्जाल देखिएकाले गम्भीर रूपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए ।

रुस आर्मीमा नेपाली पठाउने मानव तस्करको गिरोह

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved