पुस्तक समीक्षा

‘नोस्टाल्जिया’को जहाजमा गाउँ फर्किरहेको परदेशी !

संसारमा जति पनि लेखकहरू छन्, उनीहरूले कलम चलाउने विधा जुनसुकै भएतापनि आखिर त्यो विचार सम्प्रेषणको माध्यम हो । चरम भावनाको वैयक्तिक दस्तावेज हो । आफू बाँचेको समयकालको लिखित विवरण हो ।

नेपालभ्युज

‘नोस्टाल्जिया’को जहाजमा गाउँ फर्किरहेको परदेशी !

काठमाडौं । संसारमा जति पनि लेखकहरू छन्, उनीहरूले कलम चलाउने विधा जुनसुकै भएतापनि आखिर त्यो विचार सम्प्रेषणको माध्यम हो । चरम भावनाको वैयक्तिक दस्तावेज हो । आफू बाँचेको समयकालको लिखित विवरण हो । कुनै ‘वाद’ लेख्नु पनि त्यो विचारको परिस्कृत रूप हो, जो समाजको दृष्टिकोणलाई गोलबन्द गरेर लैजाने उद्देश्य राख्छ । बस् हामीले सम्प्रेषण गर्ने माध्यमको सही पहिचान गर्नमात्र सक्नुपर्छ ।

यस्तै अहिले सबैभन्दा प्रचलनमा आफ्नो भावनात्मक कुन्ठा, वैचारिक स्वतन्त्रता वा न्यायिक संयन्त्रसम्म आफ्नो समाजको कुराहरूलाई सम्प्रेषण गर्ने विशिष्ट माध्यम कविता बनेको छ । र यही माध्यमद्वारा आफ्नो विचारको फूल रोप्न कवि सयपत्री थुलुङ ‘गाउँ फर्किरहेको परदेशी’ मार्फत कविताको गाउँमा आइपुग्नुभएको छ । आफ्नो सामान्य जीवनबाट यो कविताको गाउँसम्म आइपुग्न कवि थुलुङलाई यो होचो दुनियाँमा कति टुक लाग्यो, त्यसको प्रमाणित उत्तर उहाँसँग नै होला । यो वस्तीसम्म आइपुग्न झेल्नुपरेका साँघुरो बाटोका किस्सा र ‘गाउँ फर्किरहेको परदेशी’लाई मूर्त बनाउन उहाँले गर्नुभएको हैसेको विस्तृतिकरण पनि उहाँको मनमै होला । तर, जे-जसो भएपनि हामीलाई यस्तो बलियो कविताहरूको सँगालो ‘गाउँ फर्किरहेको परदेशी’ थमाइदिनुभएकोमा हार्दिक धन्यवाद ।

गाउँ फर्किरहेको परदेशी बहुआयामिक दृष्टिकोणबाट लेखिएको कृति हो । विचारको प्रारम्भ, देशप्रतिको अपनत्व, प्रेमको आँखिझ्याल, अस्तित्वको दाबी, नारी अस्तित्व, कल्पनशीलता र स्मृतिका कोलाज आदि थुप्रै आयामको गासनबाट बनेको यो सङ्ग्रहले नेपाली साहित्यको घरमा आफ्नो घनत्व बिछ्याएर बस्न सक्ने औकात राख्तछ ।

कविको चेतना बादलसँग डुलिरहेको हुन्छ । हावासँग नाचिरहेको हुन्छ र फूलसँग पनि ओइलिरहेको हुन्छ । जब कविता पारखीले कवितामा कविताको तत्त्व भेटाउँछ, तब उसले मार्क गर्छ कि यो पक्कै कवि हो । र कवि छान्ने महत्त्वपूर्ण मापदण्ड पनि यही हो । कवि थुलुङको यो सङ्ग्रह पढ्दा उहाँ यस मापदण्ड भेटाएर पनि अघि बढ्ने चेष्टामा हुनुहुन्छ भन्ने ठम्याउँन सकिन्छ

माटोको खोजी, सोल्टी कान्छ, सम्बोधन पारिजातलाई, मृत्युको उत्सव र उधारो सपना आदि यहाँ पेस गर्न सकिने प्रतिनिधि कविताहरू हुन ।

कविहरू जहिले पनि आफ्नै सौन्दर्य र ‘सिग्नेचर क्राफ्ट’को दौडमा कुदिरहेका हुन्छन् । यस्तै कवि सयपत्री थुलुङ पनि आफ्नो सौन्दर्य निर्माण गर्न आफ्नो धरातल र इतिहासमा पुग्नुभएको छ । उहाँको प्रायः कवितामा किरात सभ्यताले तोकिदिएको नामहरू भेट्न सकिन्छ । उहाँले ‘कम्पोज’ गर्नुभएको कवितामा मुन्धुमी ‘रिदम’ छ । आदिवासी चेतनाको रेकीबाट तयार भएका कविताहरूमा अस्तित्वको दाबी भेट्न सकिन्छ ।

‘कविहरूले नै नैरास्यता लेख्यो भने समाजमा त्यसको प्रभाव कस्तो होला ? हामीले दिने सन्देश त सकारात्मक हुनुपर्छ’ कुनै बेला मेरो कवितामा धारणा बनाउँदै एकजना दाइले यसो भन्नुभएको थियो । यो सङ्ग्रहमा निराश भाव बनाउने कुनै कविताहरू भेटिँदैनन् । बरु ‘नोस्टाल्जिया’चाहिँ टन्नै भेटिन्छ । तर, नोस्टाल्जियामै यस्तो छुरा चलाउनुभएको छ कि त्यसले ऊर्जा थप्न प्रेरणा दिन्छ । किनभने यहाँ मार्ग निर्देशन छ । पर्खाइको कमलो समर्पण छ । आत्मबल छ ।

यस सङ्ग्रहमा एउटा महत्त्वपूर्ण एजेन्डा नारी सवाल र नारी अस्तित्व पनि हो । जो समसामयिक छ । अनिवार्य छ । आधा आकाश, आमा, र न्यायको पृष्ठभूमि आदि यसका प्रमाणहरू हुन् ।

प्रेमको सवालमा कवि एकदमै दृढ र विश्वसनीय देखिनुहुन्छ । भ्रमको उज्यालोमा उहाँ पर्खाइको डोरी बाटिरहनुहुन्छ । आफ्नो समर्पण सुनाउँदै उही सुदूर प्रेमीलाई ओठमा मुस्कानको फूल सजाउँदै उसकै हुने प्रतिबद्ध जनाउनुहुन्छ । साँच्चै प्रेम त उहाँले पो गर्नुभएको छ सच्चा, सफा र अभ्रष्ट प्रेम । यो सङ्ग्रह पढ्दा यस्तो लाग्छ ।

कविता एउटा सरल रेखा हो आविष्कारको । जसको अन्त्य अपवादमा पनि छैन । त्यो सरल रेखाले विचार बोक्न सक्छ, प्रेम बोक्न सक्छ, स्मृति बोक्न सक्छ, कल्पना बोक्न सक्छ, अस्तित्व बोक्न सक्छ, संकल्प बोक्न सक्छ । उसले भ्याउन सक्ने सबै बोक्न सक्छ । तर, उसले बोक्ने यी तत्त्वहरूमा आविष्कारकले कस्तो माल भरेको छ भन्ने कुराले महत्त्व राख्छ । यसैले महत्त्व राख्छ कि आविष्कारक (कविले) कविताको यात्रा कहाँसम्म गर्न सक्छ भन्ने । कवि थुलुङ कविताको अन्त्यहीन यात्राङ्गा अनवरत यात्रा गर्न सक्ने क्षमता भएको कवि हुनुहुन्छ भन्ने यै सङ्ग्रहबाट ठोकुवा गर्न सकिन्छ ।

जुनैपनि लेखकको आफ्नो धारणा हुन्छ । जोसँग धारणा हुँदैन त्यो छताछुल्ल पोखिने सम्भावना हुन्छ । कवि थुलुङले पनि आफ्नो घेरा तय गर्नुभएको छ । नारीलाई गरिने व्यबहार र उसलाई लगाइने पितृसत्तात्मक अङ्कुशको घेरा तोड्दै नारीलाई ब्रह्माण्ड मान्नुपर्ने उहाँको धारणा छ । पहिचानको आत्मसात र देशलाई जुनसुकै भूगोलबाट भएपनि प्रेमले बेरिराख्ने हृदय बनाउनेमा उहाँको जोड देखिन्छ ।

मजस्तो अल्छीले त्यत्रो ब्रह्माण्ड बोकेको कृतिको लेखाजोखा गर्न का सक्छु र तै पनि पढ्दा मलाई लागेको कुराहरू राख्ने दुस्साहस गरेँ । मलाई प्रशंसा गर्न आउँदैन । झन् त्यसको कमजोरी केलाउनु त परको कुरा । तर, पनि टिप्पणी लेख्नुको धर्म शरण गर्दै । यहाँ केही कविताहरू हतारिएको देखिन्छ । कुनै ‘स्टान्जा’हरू नराख्दा कविता सुन्दर हुने देखिन्छ । यदि म भएको भए यो सङ्ग्रहको नाम ‘माटोको खोजी’ राख्ने थिएँ होला भन्ने लाग्यो । कुनै-कुनै शब्दहरू जबरजस्ती राखिएको होकि जस्तो लाग्यो । जसले गर्दा कविताको मीठासमै ढुङ्गा लाग्न आउँछ ।

समग्रमा यो सङ्ग्रह नोस्टाल्जिया बोकेको जहाज हो । जसको अवतरण केवल मातृभूमिमा हुन्छ । प्रेमको बिरुवा हो । जो समर्पण र पर्खाइमा नतमस्तक छ । अस्तित्वको दाबी हो । जो आउँदो पुस्ताको लागि दस्तावेज हुनेछ । नारी चेतना र अस्तित्वको लेखाजोखा हो । जो यो शताब्दीलाई हेक्का राख्नुपर्छ ।

अन्तमा—

थाहा छैन,
उदाउन पनि सक्छ
अस्ताउन पनि सक्छ
आत्मीयताको आभा बोकेर
प्रेमका घाम, जून । (भ्रमको उज्यालो)

— सधैँ प्रेमका घाम-जून उदाइमात्र रहुन आत्मीयताको आभा बोकेर । हजुरलाई र ‘गाउँ फर्किरहेको परदेशी’लाई बधाई एवम् शुभकामना !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved