माओवादीले बिडारीलाई राष्ट्रियसभा अध्यक्षको रूपमा अगाडि बढाउँदैछ ?

फागुन २० गते अध्यक्षसहित २० राष्ट्रियसभा सदस्यहरूको पदावधि सकिँदैछ । पदावधि सकिनुअगावै निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप निर्वाचन आयोगले माघ ११ गते निर्वाचन मिति तोकेको छ ।

नेपालभ्युज

माओवादीले बिडारीलाई राष्ट्रियसभा अध्यक्षको रूपमा अगाडि बढाउँदैछ ?

काठमाडौं । फागुन २० गते अध्यक्षसहित २० राष्ट्रियसभा सदस्यहरूको पदावधि सकिँदैछ । पदावधि सकिनुअगावै निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप निर्वाचन आयोगले माघ ११ गते निर्वाचन मिति तोकेको छ ।

निर्वाचनबारे सत्तारूढ गठबन्धनमा केही चरण छलफलसमेत भइसकेका छन् । त्यसक्रममा गठबन्धनसम्बद्ध दलहरूबीच भागबन्डामै निर्वाचन लड्ने मात्रै सहमति भएको छैन, सिट सङ्ख्यामा समेत प्रारम्भिक समझदारी भइसकेको छ ।

नेताहरूले बताएअनुसार गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले मनोनीतसहित १०, सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) ले ६, नेकपा (एकीकृत समाजवादी) ३ र जनता समाजवादी पार्टी (जसपा) १ सिट लिने प्रारम्भिक सहमति बनिसकेको छ ।

यसमा अध्यक्ष कसले लिने भन्नेबारे गठबन्धनका शीर्षस्थ नेताहरूबीच अनौपचारिक छलफल भएको छ । कांग्रेसको सञ्चार, सूचना तथा प्रभाव विभाग प्रमुखसमेत रहेका नेता मीनबहादुर विश्वकर्माकाअनुसार छलफल भएपनि सहमति भने भइसकेको छैन ।

तर, सशक्त दाबी भने माओवादी केन्द्रले गरेको छ । उसले यसअघि नै एक कार्यकाल राष्ट्रियसभा सदस्य रहिसकेका रामनारायण बिडारीलाई अघि बढाउन खोजेको छ ।

माओवादी केन्द्रका एक नेता भन्छन्— कसलाई अघि बढाउने भन्ने सन्दर्भमा छलफल होलान् । तर, बलियो सम्भावनाचाहिँ रामनारायण बिडारीजीकै देखिन्छ । त्यसबारे पार्टी कमिटीका अनौपचारिक फोरममा छलफलसमेत भएका छन् ।

अनुभव, अध्ययन र प्रस्तुतिका आधारमा पनि उनी अध्यक्ष हुनयोग्य रहेको ती नेताको भनाइ छ । “उहाँ कानूनका जानकार पनि । यसअघि नै सदस्य रहिसक्नुभएको । त्यसो हुँदा उहाँसँग अनुभव पनि छ । उहाँलाई अध्यक्ष बनाउँदा हुन्छ भन्ने लाग्छ मलाई,” उनले भने ।

राष्ट्रियसभा निर्वाचन : भागबन्डाबारे सत्तागठबन्धनमा जुट्यो प्रारम्भिक सहमति, को-को छन् आकांक्षी ? 

तर, अगाडि गठबन्धनमा कुरा मिल्नुपर्ने उनी बताउँछन् । यद्यपि पनि अध्यक्ष आफूहरूले नै पाउनुपर्ने जिकिर ती नेताको छ । गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले १० पाएपछि आफूहरूले ६ भित्र अध्यक्षसहित पाउनुपर्ने भनाइ उनको छ । “यदि अहिलेकै सङ्ख्याअनुसार निर्वाचनमा जाने हो भने अध्यक्ष माओवादीले पाउनुपर्छ । गठबन्धनको दोस्रो ठूलो दल माओवादी नै हो,” उनले भने ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ भने यसबारे गठबन्धनले टुङ्ग्याएपछि आफूहरूले पाए पार्टीमा छलफल गरेर टुङ्ग्याउने बताउँछन् । अहिले यसबारे छलफल नभएको उल्लेख गर्दै उनले भने— गठबन्धनमा छलफल हुन्छ । त्यहाँ एउटा सहमति बनेपछि बल्ल हामी अगाडि बढ्छौँ । अहिले औपचारिकरूपमा छलफल भएको छैन ।

बिडारी आफैँ पनि आफूले आकांक्षा राखेको सङ्केत गर्छन् । तपाईं अध्यक्षको रूपमा अगाडि बढ्न चाहनुहुन्छ ? भन्ने नेपालभ्यूजको जिज्ञासामा उनी प्रतिप्रश्न गर्छन्— मैले के बोलौँ अब ? के भनौँ ?

तर, पार्टीको निर्णय आफूले मान्ने उल्लेख गर्दै केही पछि बोल्छु । “पार्टीका अरु साथीहरूलाई सोध्नुस् । धेरै बोल्दिनँ । अलिक पछि बोल्छु,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved