राष्ट्रियसभा निर्वाचन : भागबन्डाबारे सत्तागठबन्धनमा जुट्यो प्रारम्भिक सहमति, को-को छन् आकांक्षी ? 

उता महाकाली-मेची सङ्कल्प यात्रामा रहेको एमालेले भने छलफल गरिसकेको छैन । नेताहरूले यात्रा टुङ्गिएपछि छलफल गर्ने बताएका छन् । 

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचन : भागबन्डाबारे सत्तागठबन्धनमा जुट्यो प्रारम्भिक सहमति, को-को छन् आकांक्षी ? 

काठमाडौं । राष्ट्रियसभाका २० जना सदस्यहरूको पदावधि आउँदो फागुन २० गते सकिँदैछ । पदावधि सकिनुअगावै निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप निर्वाचन आयोगले माघ ११ गतेका लागि निर्वाचन मितिसमेत तोकिसकेको छ ।

पदावधि सकिने सदस्यहरूमा नेकपा (एमाले) का ९, नेपाली कांग्रेसका ४ नेकपा (माओवादी केन्द्र) का ३, नेकपा (एकीकृत समाजवादी) का २, जनता समाजवादी पार्टी (जसपा) का १ र स्वतन्त्र सांसद १ छन् । त्यसमा कोशीबाट २, मधेशबाट २, बाग्मतीबाट ४, गण्डकीबाट ३, लुम्बिनीबाट २ र कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३/३ जनाको निर्वाचन हुँदैछ ।

यसैगरी राष्ट्रपतिबाट मनोनीत हुने एक महिला सदस्यको पनि पदावधि सकिँदैछ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले विमला राई पौड्याललाई नियुक्त गरेकी थिइन् । उनको पदावधि पनि फागुन २० गते नै सकिँदैछ भने अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको समेत पदावधि सकिँदैछ । जो, एमालेका हुन् ।

नयाँ राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा सत्तारूढ गठबन्धनमा ३ चरण छलफलसमेत भइसकेको छ । त्यसमा गठबन्धनकै तर्फबाट निर्वाचन लड्नेबारे प्रारम्भिक सहमति भइसकेको छ भने प्रारम्भिक भागबन्डासमेत मिलिसकेको छ ।

राष्ट्रियसभा निर्वाचनकेन्द्रित छलफलमा सहभागी एक नेताकाअनुसार शीर्षस्थ नेताहरूबीच सिट सङ्ख्यामा भागबन्डा मिलिसकेको छ । ती नेताकाअनुसार सत्तारूढ गठबन्धनमा कांग्रेसले मनोनीतसहित १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले ३ र जनता समाजवादीले १ सिट लिने प्रारम्भिक सहमति बनिसकेको छ ।

“यो प्रारम्भिकरूपमा जुटेको सहमति हो । पछि परिवर्तन पनि हुनसक्छ । यसैगरी जाने सम्भावना पनि रहन्छ,” ती नेताले नेपालभ्यूजसँग भने ।

स्रोतकाअनुसार गठबन्धनसम्बद्ध दलका नेताहरूले शीर्षस्थ नेताहरूकहाँ ‘लबिइङ्ग’समेत थालेका छन् । स्रोत भन्छ— शीर्षस्थ नेताहरूकहाँ धेरै नेताहरूले धाउन थालिसकेका छन् ।

प्रारम्भिक सहमतिअनुसार १० सिट पाउने कांग्रेसका सभापति शेरबहादुर देउवानिवास धुम्बाराही दिनमै धेरै नेताहरू पुग्ने गरेका छन् । यस्तै संस्थापनइतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाको सचिवालय पनि धेरै नेताहरूले धाउने गरेका छन् ।

कांग्रेसबाट कृष्ण सिटौला, मीनेन्द्रप्रसाद रिजाल, सुजाता कोइराला, डीना उपाध्याय, गोविन्द पोखरेल, फरमुल्लाह मन्सुर, मीनबहादुर विश्वकर्मालगायत आकांक्षी छन् ।

यसबाहेक अरु नेताहरू पनि आकांक्षी रहेको कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखसमेत रहेका नेता मीनबहादुर विश्वकर्मा बताउँछन् । “आकांक्षीहरू धेरै हुनुहुन्छ । त्यस्तो अवस्थामा प्रशस्त छलफल गरेर मात्रै टुङ्गिने विषय भयो यो,” विश्वकर्माले भने ।

यस्तै माओवादी केन्द्रले यसअघि नै सदस्य बनिसकेका रामनारायण बिडारीलाई अध्यक्षको भूमिकासमित राष्ट्रियसभा लान चाहन्छ । त्यसबाहेक धेरै नेताहरूले अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कहाँ धाउने गरेका छन् ।

यद्यपि अहिल्यै यसबारे छलफल भइनसकेको बताउँछन् माओवादी उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटा । तर, अध्यक्ष प्रचण्डले पूर्वकानूनमन्त्री अजयशङ्कर नायकलाई राष्ट्रियसभाका लागि वचन दिइसकेको बताइन्छ ।

यस्तै एकीकृत समाजवादीबाट उपाध्यक्षद्वय प्रमेश हमाल र घनेन्द्र बस्नेतको बलियो सम्भावना रहेको बताइन्छ । त्यसबाहेक महासचिव घनश्याम भुसालले पनि आकांक्षा देखाइरहेको बताइन्छ । यसबारे पार्टीमा छलफल हुने र टुङ्गिने उपमहासचिवसमेत रहेका प्रभार विभाग जगन्नाथ खतिवडाको भनाइ छ ।

जनता समाजवादीबाट महिलाको सिट खाली छ । त्यसो हुँदा उसले महिला नै पठाउनुपर्ने हुन्छ । यदि गठबन्धनमा सहमति भएर पुरुष भएमा त्यहाँबाट बलराम महतो आकांक्षी छन् ।

यसबारे पार्टीमा छलफल नभएको बताउँछन् प्रवक्ता मनीष सुमन । गठबन्धनमा अन्तिम सहमति भएपछि पार्टीमा छलफल हुने र मात्रै उम्मेदवार टुङ्गिने बताउँछन् उनी । “छलफल प्रारम्भ भएकै छैन । पहिले सत्तारूढ गठबन्धनमा टुङ्गिनुपर्‍यो अनि मात्रै पार्टीलेउम्मेदवार टुङ्ग्याउँछ,” उनले भने ।

उता महाकाली-मेची सङ्कल्प यात्रामा रहेको एमालेले भने छलफल गरिसकेको छैन । नेताहरूले यात्रा टुङ्गिएपछि छलफल गर्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved