नाटक समीक्षा

दाँवधारीहरू भुलक्कड छन्, सम्झाउन ‘युद्धका घाउहरू’ चलिरहनुपर्छ

समग्रमा यसो भन्न सकिन्छ— युद्ध, क्रान्ति र शान्तिका दाँवधारीहरूलाई झस्काइरहन र सम्झाइरहन ‘युद्धका घाउहरू’ चलिरहनुपर्छ ।

दाँवधारीहरू भुलक्कड छन्, सम्झाउन ‘युद्धका घाउहरू’ चलिरहनुपर्छ

काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भयो । शान्ति सम्झौताका कतिपय काम भएका छन् तर, ‘मेजर’ काम छाडेर । खासगरी मानवीयता र मानव सुखसँग जोडिएका विषय अझै टुङ्गिएका छैनन्, जुन काम तत्कालै हुनुपर्थ्यो । ती काम नटुङ्गिँदा पीडित रोएको-रोयै छन्, पीडक हाँसेको-हाँस्यै छन् । हामी युद्धका तिनै चहर्‍याइरहेका घाउ र छटपटाइरहेका घाउवाहक हेरेर बस्न विवश छौँ ।

यही देखाउने नाटक ‘युद्धका घाउहरू २.० हेर्न मण्डला नाटकघर पुगेँ । शान्ति सम्झौता गरिएको १७ वर्ष पूरा भएको स्मरण गराउन एकदिन (मंसिर ६ गते) मात्रै देखाइएको नाटकले साँच्चै सम्बन्धित संस्था, निकाय र दाँवधारीहरूको ध्यानाकर्षण गराएको महसुस व्यक्तिगतरूपमा मलाई भयो । र, सम्बन्धित सन्दर्भमा केही नभइरहेको अवस्थामा यसलाई पनि ठूलै काम मान्नुपर्छ ।

तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्धका क्रममा विद्रोही र सरकार दुवै पक्षबाट के-कस्ता घाउ बनाइए र ती घाउ अहिलेसम्म कसरी चहर्‍याइरहेका छन्, कसरी दुखिरहेका छन् भन्ने कुराको छर्लङ्ग दृश्य नाटकले देखाएको छ ।

त्यसो त युद्धमा रगत बग्छ नै । र, रगत बग्नका लागि घाउहरू लाग्नैपर्छ ।

तर, यसो भनेर हिजोका ती तमाम असह्य घाउ, पीडा अनि दु:खहरूलाई बेवास्ता गर्न कहाँ पाइन्छ ? काल-क्रममा घाउहरू बने, अब ती घाउ पुरिनुपर्छ । यत्तिकै पुरिँदैन, त्यसलाई पुर्नुपर्छ । त्यसका लागि प्रक्रियामा जानुपर्छ । र, त्यो जिम्मेवारी त्यसका दाँवधारीको हो, त्यसका वाहकहरूको हो । नाटक यही शिक्षा दिन्छ ।

युद्धपूर्व माओवादी नेताहरूले समाजको अध्ययन गरेकै थिए, बुझेकै थिए आफ्नो तहमा । त्यसैले त माओवादी जनयुद्धकै जगमा समावेशी, सामानुपातिक, धर्मनिरपेक्ष, सङ्घीयतालगायतका उपलब्धि हासिल पनि भए । यो अहिले सफल वा असफल हुनुमा यसका सञ्चालक नै जिम्मेवार छन् । तर, यी आफैँमा सफलता नै थिए । खैर यसतर्फ नजाउँ । तर, बुझेरै युद्धमा लागेका माओवादी नेताहरू पनि उङिरहेका छन् । तर, त्यसको दाँवधारी भएकाले अझै चनाखो हुनुपर्नेमा उनीहरू मौनप्राय: देखिन्छन् । यो निकै दुखद् हो ।

लेखक सुधीर शर्माले आफ्नो पुस्तक ‘प्रयोगशाला’मा एकठाउँ लेखेका छन्— युद्ध सुरू गर्नुभन्दा पहिले माओवादीका नेताले नेपाली समाजलाई यसरी अध्ययन गरेका थिए कि उनीहरू समाजशास्त्रका प्राध्यापकजस्ता लाग्थे ।

तर, अहिले समाजशास्त्रका प्राध्यापकजस्ता लाग्ने तिनै माओवादी नेतासँग त्यसको धङधङी मात्रै बाँकी छ । अझ भनौँ, अहिले उनीहरू ती सबै-सबै भुलेर सत्तासुखमा रमाएका छन् । खासगरी सत्तासुखमा रमाउन थालेपछि उनीहरू शहरकेन्द्रित भएका छन् । त्यसैले त गाउँतिर भेटिने ती घाउहरूसँग उनीहरूको नजिकको सम्बन्ध छैन । तर, अक्सर युद्धका घाउ गाउँतिरै भेटिन्छन्, पाखातिरै भेटिन्छन् ।

नाटकमा युद्धलाई हुरीको रूपमा प्रस्तुत गरिएको छ । जुन हुरीले आ-आफ्नै किसिमले जीवनयापन गरिरहेका जनताको सपना उडाइदिन्छन् । खेतीपाती गरेर गुजारा धानिरहेको किसान गाईगोरु फुकाएर जङ्गल धपाउन बाध्य हुन्छ । आरनमा फलाम पिटेर हातमुख जोड्ने आरनकर्मीको हात काटिन्छ । नानीबाबूहरूलाई कखरा सिकाएर जीवन-बाटो देखाउने शिक्षक अनेकन् यातनाहरूको वाहक बन्छ । बाटोमा खेलिरहेकी सानी नानीको अस्मिता लुटिन्छ । तमाम आमाहरूको सिन्दुर पुछिन्छ । हुन हुने र नहुने सबै काम हुन्छन् ।

‘खुकुरीले बिर्सन्छ, अचानोले बिर्सँदैन’ भनिएझैँ ती पीडा/घाउ सम्झिरहन्छन् पीडकहरू । उनीहरू दुख्नेहरू हुन्, दुख्नेहरू दुखाउनेहरूविरुद्ध एक हुन केको आइतबार । काटिएका हातहरू, लुटिएका अस्मिताहरू, पुछिएका सिउँदोहरू, यी सबै-सबै सामूहिकतामा बाँच्छन् र कुनै एकदिन ठूलो भङ्गालो तर्छन् ।

तर, त्यही भङ्गालो र त्यही हुरीबाट युद्धका दाँवधारीहरू बच्न सक्दैनन् । उनीहरूलाई त्यही भङ्गालोले डुबाइदिन्छ, त्यही हुरीले उडाइदिन्छ । ती दाँवधारीहरूको सपना ‘भ्यूटावर’बाट ती तमाम विकृति, विसङ्गति नियाल्ने हुन्छ, नियाल्दा-नियाल्दै उनीहरूलाई बाढीले बगाइदिन्छ, हुरीले उडाइदिन्छ ।

यसलाई यसो पनि भन्न सकिन्छ, जुनसुकै व्यवस्था आएपनि जनतालाई खास फरक पर्नेवाला छैन । जुनै व्यवस्था आएपनि जनताको जीवनमा केही फरक देखिएको छैन, देखिँदैन, फरक नेताहरूलाई पर्ने हो । हाम्रै देश हेरौँ, हिजो राजतन्त्र हुँदा होस् या पञ्चायतमा होस् । आज गणतन्त्रकै पनि कुरा किन नहोस् । यही कुराको सार हो जोकोहीको मुखबाट फुत्तै फुत्किने एक वाक्यांश—व्यवस्था फेरियो, अवस्था फेरिएन ।

नाटकको घुमाउरो सन्देश छ—अहिले गणतन्त्र डुब्यो भने जनताभन्दा पहिले नेताहरू डुब्नेछन्, त्यसका दाँवधारीहरू डुब्नेछन् ।

त्यसो त गणतन्त्र नडुबाउन ती घाउहरू पनि त वास्ताको सीमाभित्र हुनुपर्ला नि ? अहिलेसम्म चहर्‍याइरहेका ती घाउहरू कमसेकम खतसम्म बन्नुपर्ला नि । अनि त्यसका लागि घाउहरू सेकाउन प्रक्रियामा जानुपर्ला नि ? नाटक यी नै तमाम प्रश्नहरू त्यसका दाँवधारीहरूलाई गरिरहेको छ ।

२०६५ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र द्वन्द्वरत पक्ष तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच १२ बुँदे शान्ति सम्झौता नामको सहमतिपत्रमा हस्ताक्षर भयो । सम्झौताकै मर्मअनुरूप देशमा संविधानसभाबाट संविधान निर्माण भयो, त्यही संविधानकै आधारमा राज्य पुनर्संरचना मात्रै भएन,  दुई/दुईवटा निर्वाचनसमेत सम्पन्न भइसकेका छन् ।

सम्झौताकै मर्मअनुसार सेना समायोजनालगायतका कामहरू सम्पन्न भइसक्दा त्यसको मुख्य पाटोको रूपमा रहेको पीडितलाई न्याय भने छैन । अनि पीडकलाई दण्डित गर्ने कुरा कहाँबाट आउनू ? जे होस् पीडितका ती घाउ चहर्‍याइरहेकै छन्, दुखिरहेकै छन् । जुन कुरा नेताहरूलाई हर-हमेशा स्मरणमा हुँदैन, उनीहरू बिर्सिहाल्छन् । त्यसैले त सम्झाइरहन ‘युद्धका घाउहरू’जस्ता नाटकहरू बनिरहनुपर्छ, चलिरहनुपर्छ ।

र, समग्रमा यसो भन्न सकिन्छ— युद्ध, क्रान्ति र शान्तिका दाँवधारीहरूलाई झस्काइरहन र सम्झाइरहन ‘युद्धका घाउहरू’ चलिरहनुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved