प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना दोषी ठहर, दिपकराजले पाए सफाइ

नेपालभ्युज

प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना दोषी ठहर, दिपकराजले पाए सफाइ

काठमाडौँ ।  काठमाडौँ जिल्ला अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम बहादुर चलाउनेमाथि कुटपिट गर्नेहरुलाई दोषी ठहर गरेको छ ।

अदालतका न्यायाधीश विनोदकुमार खतिवडाको एकल  इजलासले बिहीबार कुटपिटमा संलग्न र कुटपिट गर्न लगाउने सबैलाई दोषी ठहर गरेको हो ।

२०७७ कात्तिक २० गते काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा दर्ता भएको उक्त मुद्दामा अदालतले ज्यान मार्ने उद्योग नभई कुटपिट र अङ्गभङ्गमा दोषी ठहर गरेको हो ।

घटनामा संलग्नमध्ये मुख्य योजनाकार मानिएका हरि आचार्य, सह योजनाकार योगेन्द्र रावल तथा कुटपिटमा संलग्नहरु रुपेश साह, रविनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठलाई सजाय र जरिवानाको फैसला सुनाएको हो । घटनामा सहयोगी रहेका भनिएका दिपकराज ओझालाई भने सफाइ दिइएको छ ।

उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १९२ को उपदफा ५ बमोजिमको सजाय सुनाइएको हो ।  उनीहरुले जनही डेढ वर्ष कैद सजाय र जनही २० हजार रुपैयाँ जरिवाना समेत बुझाउनुपर्ने भएको छ ।

उपप्राध्यापक चलाउनेको गोडा भाँचिई हाल जोडिएकाले कुटपिट अङ्गभङ्गमा संलग्नहरुलाई तीन वर्षसम्म कैद सजाय हुन सक्नेमा न्यायाधीश विनोदकुमार खतिवडाले त्यसको आधा अर्थात् डेढ वर्ष कैद र जनही २० हजार रुपैयाँ जरिवाना गराउने फैसला सुनाएका हुन् ।

साथै सजाय पाएका व्यक्तिहरुबाट २८ लाख १७ हजार ५५३ रुपैयाँ क्षतिपूर्ति रकम पीडितलाई भराउनेसमेत फैसला भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved