छठ पर्व : आज यसरी मनाइँदै छ खरना

छठ पर्व : आज यसरी मनाइँदै छ खरना

जनकपुरधाम ।
केरवा ज फरल घउरस वोपर सुगा मडराय ।
मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।।

अर्थात छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन । छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर यो गीतबाटै सचेत गराउन खोजिएको छ ।

अहिले जनकपुरधामसहित तराई मधेसमा यस्ता लोकगीत गुञ्जिएको सुनिन्छ । चार दिवसीय छठ पर्वको आज शनिबार खरना मनाइँदैछ ।

छठ पर्वको पहिलो दिन शुक्रबार व्रतालुहरुले नहाखाए अर्थात नुहाएर मात्र चोखो वस्त्र धारण गरेर बिना प्याज, लसुनको अरबा चामल सेवन गरेका थिए । पहिलो दिन चतुर्थीलाई ‘अरबा–अरबाइन’ वा नहा खाय भनिन्छ । यो दिनमा व्रतालुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् ।
आज पञ्चमी तिथि (दोश्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ ।

जनकपुरधाम किशोरी नगरकी व्रतालु ज्योती झाले भन्छिन्, “खरनाको दिन व्रतालु दिनभरि निर्जला बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ ।”
उनले प्रसादका रुपमा विशेष गरी पाकेको केरा र खीर लिने चलन रहेको बताइन् ।

खरना विधिको सन्दर्भ महेन्द्रनगरकी ७५ वर्षीया गीता झा भन्छिन्, “आँगनमा गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) चढाई सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ ।”

षष्ठीका दिन (तेश्रो दिन) गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री तयार गरिन्छ ।

क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरकी ६५ वर्षीया संगीता देवी यादवले छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो हुनु पर्ने बताउँँदै उनले भनिन्, “पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ ।” यस दिन जलासयमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ दिइने गरिन्छ ।

पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत लिनेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याउँछन् र प्रातःकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ ।
पण्डित लालबाबु झाका अनुसार अर्घ दिएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि छ ।
जनकपुरका वरिष्ठ पत्रकार तथा मैथिली साहित्यकार रामभरोस कापडी भन्छन्, “सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्ने चाड हो, छठ ।”

छठ पूजाको लागि अहिले जनकपुरसहित सारा मिथिलाञ्चल झकिझकाउ हुने गरि सिंगारिएको छ।

श्रद्धालुहरुले जनकपुरधामको इतिहासमा वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्ड लगायतका कुण्ड, पोखरी, तलाउमा छठ पर्व मनाउने गर्छन्।
दिपावली तिहारको रौनक नसक्दै यहाँ छठ पर्वको तयारी सुरु हुन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पुरा हुने विश्वासका साथ सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।

अहिले तराई मधेसका हाट, बजार, सडक र गल्लीहरु छठ पूजाका लागि आवश्यक पर्ने पूजा सामग्री, माटोबाट बनाइएको कलश, दियो, हात्ती, बाँसको चोयाबाट बुनिएको परम्परागत भाँडाकुँडा नाङ्गलो, दाउरा, सुपली, छैंटी, ढकनीबाट सजिएका छन् ।

उखू, केराउ, अदुवा, केरा, मुला लगायतका कृषि उपजका साथै सख्खर मिसाएर बनाइएको गुलियो खिर, गहुँको पीठोबाट बनाइएको परम्परागत बुट्टे ठेकुवा, चिनीको चास्नीबाट बनाइएको बतासाले यहाँको भान्छा, भूमिसँग जोडिएको जनजीविका र जन स्वास्थ्यको त्रिकोणात्मक सम्बन्धलाई झल्काइ रहेको हुन्छ ।

छठ पर्वका लागि माटाको भाँडाकुँडा कुमालेले बनाउँछन् भने बाँसको चोयाका भाँडाकुँडा दलित समुदायको डोम जातिले बुन्छन् । डोम समुदायले बुनेको बाँसको नाङ्लो, डगरा, सुपलि, छैटी, बेना(हाते पंखा) छठ पर्वका लागी नभइ नहुने हस्तकला सामग्री हुन् ।

यसरी सडक छेउमा लगाइएका बजारले तराईको संस्कृति, कृषि र विविधताले भरिपूर्ण यहाँको समाजबारे अध्ययन गर्ने खुल्ला संग्राहलयकै काम गरि रहेको प्रतित हुने समाजशास्त्री नागेन्द्र दुबे बताउँछन् ।

समाजशास्त्री दुबेको अनुसार छठ पर्वमा जात, धर्म, क्षेत्रीयतालाई ओझेलमा पार्नेगरी फरक फरक समुदायका अनुहारहरु जलाशयमा डुबुल्की लगाउँदै सूर्यदेवको उपासना गरिरहेको हुन्छ ।

“मूलरुपमा मधेशी समुदायको मुख्य पर्वका रुपमा मानिदै आएको यो पर्व मनाउनेको भीडमा सिउँदोदेखि नाकको टुप्पा समेत ढाकिने गरी सिन्दुर लगाएर साडीको आँचलले शिर छोपेर आराधनामा व्यस्त पहाडी समुदायका गृहणी उल्लेख्यरुपमा देख्दा समाजको मीठो तस्वीरले जोकोहीको मन छुने हुन्छ”, मैथिली संस्कृति जानकारी तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल बताउँछन् ।

अर्थशास्त्री डा. सुरेन्द्र लाभका अनुसार रोजगारीको ठूलो बजार मानिएको संघिय राजधानी काठमाडौंबाट दशैं मान्न मोफसल फर्किनेको लर्को लाग्दा छठ पर्वलाई नै मुख्य पर्व मान्ने तराईवासीले राजधानीको जनजीवन सहज बनाइ दिइरहेका हुन्छन् ।

अर्थशास्त्री लाभले भने, “जब दसैं मान्नेहरु सबैतिरबाट काठमाडौं फर्किन्छन् तब कामको जिम्मेवारी हस्तान्तरण गरेर छठ पर्वका लागी तराई मूलका व्यापारी, कर्मचारी, मजदुर, विद्यार्थी पोकोपन्तरो कसेर घरतर्फको यात्रा गर्ने हतारोमा हुन्छन् ।” सामाजिक विविधताले भरिएको हाम्रो समाजको चक्रलाई एउटा समुदायले अर्को समुदायलाई जिम्मेवारी हस्तान्तरण गर्दै रिले ओलम्पिक खेलमा झैं यसरी नै यात्रालाई निरन्तरता दिइरहेको उनको कथन छ।

तराईवासी मधेसी समुदाय मुख्य पर्वको रुपमा रहेको यस छठ पर्व अहिले पछिल्लो समय आएर पहाडी समुदाय मात्र नभएर मुश्लिम धर्माबलम्बीहरुले समेत आस्था र भक्तिपूर्वक मनाउने गरेको देखिन्छ ।

यस पर्वको अर्को विशेषताको रुपमा सबै जात जाति, ठूला साना, धनि,गरिब सबै एकै ठाउँमा जम्मा भएर पूजा अर्चना गर्नु पनि हो । यस कारण वर्षौ सम्म भेटघाट नभएकाहरु बोलचाल नभएकाहरुसंग पनि भेटघाट तथा वार्तालाप हुने हुन्छ ।
तसर्थ छठ पर्व सबैको मन जोड्ने सेतुको रुपमा मान्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved