अन्तर्वार्ता

सरकार तत्कालै ढल्दैन, सङ्क्रमणकालीन न्याय चाँडै टुङ्गिन्छ : अग्निप्रसाद सापकोटा

'सरकारको कामले जनतामा आशा जगाएको छ'

‘समग्रमा यो सरकारले राम्रो काम गरेकै हो । अपवादलाई छाडेर हेर्दा विगतका अरु सरकारहरूभन्दा धेरै राम्रोगरी अगाडि बढेको छ यो सरकार । यत्तिचाहिँ भन्न सकिन्छ कि यो सरकारले जनतामा केही आशचाहिँ जगाएको छ ।’

सरकार तत्कालै ढल्दैन, सङ्क्रमणकालीन न्याय चाँडै टुङ्गिन्छ : अग्निप्रसाद सापकोटा

काठमाडौं । तिहार अघिसम्म राष्ट्रिय राजनीतिक वृत्तमा एउटा ‘हल्ला’ थियो सरकार परिवर्तनको । भनिँदैथ्यो— चाडपर्व मनाउन मात्रै दिएको हो । त्यसो त प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का खासगरी दोस्रो नेताहरूले मंसिर लागेपछि राष्ट्रिय राजनीतिमा ‘उथलपुथल’ आउने बताउने गरेका थिए ।

उसो त सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै पनि आफू धेरै समय पदमा नरहने सङ्केत गर्ने गरेका छन् । काग-तिहारको दिन कात्तिक २५ गते मात्रै उनले ‘म कति दिन प्रधानमन्त्री हुन्छु, त्यो ठूलो कुरा होइन’ भनेर बोलेका थिए ।

जसै प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको खासगरी संस्थापनइतर पक्ष, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लगायत संसद्‌मा प्रतिनिधित्व गर्ने अन्य केही दलहरूले पनि सरकार फेरिनुपर्ने आजाव पटक-पटक उठाउने गरेका छन् ।

यी यावत् घटना/परिघटना र सन्दर्भ उठिरहँदा प्रचण्ड नेतृत्वको सरकार कहिलेसम्म टिक्छ ? सङ्क्रमणकालीन न्याय कहिले टुङ्गिन्छ ? सरकारले कस्तो काम गर्‍यो ? लगायतका विषयमा सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटासँग संक्षिप्त संवाद गरेका छौँ । प्रस्तुत छ—

तिहारअगाडि केही नेताहरूले ‘मंसिरभित्र सरकार सङ्कटमा पर्छ, चाडपर्व मनाउन मात्रै दिएका हौँ’ भनेर बोल्नुभएको थियो, बताइदिनुस् त सरकार कहिलेसम्म टिक्छ ?

तिहार मनाउन दिने, दशैं मनाउन दिने अथवा कुनै चाडपर्व मनाउन दिने र सरकार ढाल्ने भन्ने विषय राजनीतिमा हुँदैन । यो राजनीतिक चालबाजीको भाषा हो । जो-जो साथीहरूले बोल्नुभयो, उहाँहरूले राजनीतिक चालबाजीको भाषा बोल्नुभयो । मैले पनि सुनेँ केही नेताहरूले बोलेको; तर त्यस्तो होइन । उहाँहरूले बोलेजस्तो हुँदैन ।

सरकार कहिलेसम्म जान्छ, त्योचाहिँ बताइदिनुस् न !

ठ्याक्कै यही मितिसम्म त म भन्दिनँ । तर, अहिल्यैचाहिँ सरकार ढलिहाल्ने अवस्था पनि बनेको छैन । जत्ति मैले सूचनाहरू प्राप्त गरेको छु, ती सूचनाहरू सरकारका विरुद्धमा छैनन् । ती सूचनाहरू वर्तमान सरकारको पक्षमा पनि छ, वर्तमान सरकार नै चाहिन्छ मुलुकमा भन्नेहरू पनि छन् ।

भनेपछि यही सरकार यसैगरी अगाडि जान्छ ? ढल्दैन ?

अहिलेको अवस्था नै हेर्दाचाहिँ त्यो देखिन्छ, सरकार अगाडि बढ्छ । तर, राजनीति; त्यसमा पनि संसदीय व्यवस्थामा कतिबेला के हुन्छ थाहा हुँदैन । तर, तत्कालैचाहिँ सरकार परिवर्तन हुने, ढल्ने वा अनपेक्षित केही भइहाल्ने अवस्था छैन नै । मंसिरमा सङ्कटमा पर्छ, पुसमा सङ्कटमा पर्छ भन्ने कुरा अथवा चाडबाड मनाउन दिने भन्नेजस्ता माया, दयाको कुरा राजनीतिमा हुँदैन, मैले दोहोर्‍याएँ ।

तर, प्रधानमन्त्री आफैँले पनि ‘म कहिलेसम्म रहन्छु, त्यो मुख्य कुरा भएन’ भनेर बोलिरहनुभएको छ, त्यो भनेको जत्तिबेला पनि जे पनि हुनसक्छ भनिएको हो कि ?

अब संसदीय व्यवस्थामा सधैँ म रहन्छु भनेर हुने कुरा पनि भएन । सरकार बन्ने र ढाल्ने कुरा सधैँ रहिरहन्छ र यसलाई स्वीकार्नुपर्छ । तर, सरकारमा हुँदा कसले के गर्‍यो भन्ने कुरामा मूल्याङ्कन जनस्तरमा हुनुपर्छ । सधैँ म नै रहन्छु भनेर भन्न पनि हुँदैन ।

यहाँहरूकै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले सङ्क्रमणकालीन न्यायको विषयलाई निकै महत्त्व दिएर अगाडि बढाउँदै हुनुहुन्छ, यसपटक टुङ्गिन्छ सङ्क्रमणकालीन न्याय ? कि विगतकै जस्तै फेरि सेलाउने हो ?

यस सन्दर्भमा आशालाग्दो अवस्था देखिन्छ । संसदीय समितिमा रहेको विधेयकमा मोटामोटीरूपमा सहमति पनि भइसकेको छ । अब यही सहमतिको मर्मअनुरूप अगाडि बढियो भने अब चाँडै नै यो टुङ्गिन्छ । यसमा दुईमत छैन ।

तर, संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूबीच पूरापुर सहमति भएको देखिँदैन, प्रमुख प्रतिपक्ष दलसँगै अन्य दलहरूले पनि कतिपय विषयमा असहमति राखेका छन् नि ?

अब सुरू हुने संसद् अधिवेशनमा यो पेश हुन्छ । त्यसअघि समितिमा बृहत् छलफलमार्फत सहमति निस्कन्छ । त्यही त, केही दलहरूले कतिपय विषयहरूमा असहमति राख्दा अलिक अप्ठ्यारो भएकै हो । तर, अब सहमतिनिकट छौँ । चाँडै टुङ्गिन्छ यो विषय । र, सुल्झिनै पनि पर्छ । यसमा अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग रहने देखिन्छ अबचाहिँ । संयुक्त राष्ट्रसङ्घका महासचिवले पनि सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिवले बोलिदिएर मात्रै हुँदैन, पहिले यहीँकै दलहरूबीच सहमति जुट्नुपर्छ भनेर नागरिक समाजले भनेका छन् नि ? तर, तपाईंहरू मिल्न सक्नुभएको छैन ।

त्यही त समस्यै यहीँनेर त छ नि ! तर, मैले अघि नै भनिहालेँ नि, यहाँ पनि सहमति जुट्ने नै छ । प्रधानमन्त्रीको पहल पनि त्यहीँ छ । अरु नेताहरूको प्रयास पनि यहीँ छ । तर, महासचिवको भनाइलाई पनि समान गर्नुपर्छ ।

अहिलेको सरकारको कार्यसम्पादनलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

समग्रमा यो सरकारले राम्रो काम गरेकै हो । अपवादलाई छाडेर हेर्दा विगतका अरु सरकारहरूभन्दा धेरै राम्रोगरी अगाडि बढेको छ यो सरकार । यत्तिचाहिँ भन्न सकिन्छ कि यो सरकारले जनतामा केही आशचाहिँ जगाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved