कोशी एमालेलाई प्रश्न- समर्थन फिर्ता नलिएर ‘ढोक्सा’ थापेको हो ?

आफ्नो चाहनाविपरीत मुख्यमन्त्री केदार कार्कीले गठबन्धनसम्बद्ध दलहरूबाटै मन्त्री नियुक्त गरेपछि सरकारबाट बाहिरिएको एमालेले समर्थन भने फिर्ता नलिने निर्णय गरेको हो ।

नेपालभ्युज

कोशी एमालेलाई प्रश्न- समर्थन फिर्ता नलिएर ‘ढोक्सा’ थापेको हो ?

विराटनगर । नेकपा (एमाले) ले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । आफ्नो चाहनाविपरीत मुख्यमन्त्री केदार कार्कीले गठबन्धनसम्बद्ध दलहरूबाटै मन्त्री नियुक्त गरेपछि सरकारबाट बाहिरिएको एमालेले समर्थन भने फिर्ता नलिने निर्णय गरेको हो ।

असोज २७ गते आफ्नै प्रमुख समर्थनमा मुख्यमन्त्री बनेका कार्कीसँग एमालेको अडान थियो— सरकार विस्तार गर्दा गठबन्धनसम्बद्ध दलहरू सहभागी हुनुहुँदैन ।

तर, मुख्यमन्त्री कार्कीले त्यसभन्दा विपरीत गएर सरकार विस्तार गरे । कात्तिक १८ गतेमात्रै सरकार विस्तार गरेका उनले नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती र र नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेका छन् ।

यसपछि सरकारबाट बाहिरिएको एमालेले दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको छ । हेर्दा अस्वाभाविकजस्तो यो निर्णय किन गर्‍यो एमालेले ? भन्ने नेपालभ्यूजको जिज्ञासामा कोशी एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी केही कारणहरू देखाउँछन् ।

उनलाई नेपालभ्यूजले ‘तपाईंहरूकै अध्यक्षले भनेझैँ ढोक्सा थाप्नुभएको हो ?’ भनेर पनि सोधेको थियो । त्यसको प्रतिवाद त भण्डारीबाट हुने नै भयो । त्यसपछि त्यसका कारणहरू क्रमश: बताउँदा तपाईं के भन्नुहुन्छ ? भनेर पुछ्रे प्रश्न गरियो ।

त्यसमा उनले भनेका छन्— पहिलो कारणचाहिँ आफैँले बनाएको सरकार भएर समर्थन फिर्ता नलिएको हो ।

उनी थप्छन्— यसलाई तपाईंहरूले तत्कालका लागि विश्वासको मत कायम राखेको हो भनेर बुझ्दा पनि हुन्छ । सरकारले धेरै कामहरू अगाडि बढाएको छैन, भर्खरै बनेको सरकार हो । अब सरकारले कस्तो काम गर्छ र प्रतिपक्षसँग कस्तो सम्बन्ध बनाउन चाहन्छ, त्यसअनुरूप हामीले अर्को निर्णय लिन्छौँ । यो निर्णय तत्कालका लागि कार्यान्वयन हुने हो । सधैँभरि विश्वासको मत कायमै राख्छौँ भन्ने होइन । अब गरिने व्यवहार र कामअनुसार अर्को निर्णय गर्छौँ ।

प्रमुख सचेतक भण्डारीकाअनुसार एमालेले समर्थन फिर्ता नलिनुको दोस्रो कारण हो— मुख्यमन्त्री कार्की एमालेसँग ‘लोयल’ नै छन् ।

“उहाँ (मुख्यमन्त्री केदार कार्की) ले राम्रै संवाद गरिरहनुभएको छ । हामीले उहाँलाई मुख्यमन्त्री बनाउँदा पनि प्रदेशलाई निकास दिनेगरी नै समर्थन गरेका थियौँ । एमाले प्रदेश कुनै पनि हत्कण्डामा नफसोस् भन्ने चाहन्छ । अहिले पनि हाम्रो चाहना त्यही नै हो । प्रदेशलाई निकास दिने हाम्रो चाहना हो,” भण्डारी भन्छन् ।

उनी एमालेले प्रदेश मध्यावधिमा नजाओस् भन्ने पनि चाहेको बताउँछन् । “एमाले मात्रै होइन, अरु दलहरू पनि त्यही चाहन्छन् । प्रदेशलाई निकास दिनु ठूलो कुरा हो,” उनले भने,” मिलेर प्रदेशलाई निकास दिने बेला हो यो ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved