कोशीको ‘सङ्कट’ ज्यूँका त्यूँ : एमालेको अडानले मुख्यमन्त्रीलाई अप्ठ्यारो !

अब के हुन्छ ?

नेपालको संविधानको धारा १६८ को ५ बमोजिम बनेको कोशी प्रदेशको राजनीतिक सङ्कट अझै उस्तै छ । यसले मुख्यमन्त्री केदार कार्कीलाई अप्ठ्यारोमा पारेको छ । 

नेपालभ्युज

कोशीको ‘सङ्कट’ ज्यूँका त्यूँ : एमालेको अडानले मुख्यमन्त्रीलाई अप्ठ्यारो !

विराटनगर । नेपालको संविधानको धारा १६८ को ५ बमोजिम बनेको कोशी प्रदेशको राजनीतिक सङ्कट अझै उस्तै छ । यसले मुख्यमन्त्री केदार कार्कीलाई अप्ठ्यारोमा पारेको छ ।

मुख्यमन्त्री कार्की आफूलाई विश्वासको मत दिने सबै दलहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न चाहन्छन् । उनलाई राष्ट्रिय प्राजतन्त्र पार्टी (राप्रपा) बाहेक सबै दलले विश्वासको मत दिएका थिए । ती सबै दलको सहभागितामा मन्त्रिपरिषद् विस्तार गर्न चाहन्छन् उनी ।

तर, नेकपा (एमाले) ले सहमति नदिँदा उनलाई अप्ठ्यारो परेको छ । एमालेले गठबन्धन दल; त्यसमा पनि नेकपा (माओवादी केन्द्र) लाई सरकारमा ल्याउन नहुने अडान राखेको छ ।

एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारी गठबन्धनलाई सरकारमा सहभागी गराए आफूहरू सरकारमा नजाने बताउँछन् । “माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी तीन वटालाई सामेल गर्ने अनि हामी पनि त्यही बस्ने कुराचाहिँ हुँदैन भनेका छौँ हामीले । अब त्यसमध्ये कुनै एउटा थप्नै पर्ने परिस्थिति भयो । सहमति भयो हाम्रो कांग्रेस र एमालेको बीचमा भने कुनै एउटा थपिन पनि सक्ला । नभए हामी थप विकल्पहरू थप्दैनौँ,” प्रमुख सचेतक भण्डारीले भने ।

गठबन्धनसम्बद्ध  दलका नेताहरू भने एमाले आफूहरूसँग डराएको अभिव्यक्ति दिन्छन् । गठबन्धनसम्बद्ध दल माओवादी केन्द्रका एक नेताले नेपालभ्यूजसँग भने— सरकारमा हामी गयौँ भने ऊ नबस्ने एमालेले भनेको रहेछ । एमाले हामीसँग डरायो । खास नडराउँदा पनि हुन्छ । हामीले सरकारमा गएपनि आफ्नो भूमिका निभाउने हो इमान्दारीपूर्वक, अरुतिर लाग्ने होइन । प्रदेशमा खेल धेरै भयो । अब थप खेल्ने होइन, सरकारलाई स्थायित्व दिएर अगाडि बढ्ने हो ।

अब के हुन्छ ?

मुख्यमन्त्री कार्की अझै सबैलाई समेटेरै लाने प्रयासमा छन् । एमालेको अडानका बाबजुत पनि उनी अझै सहमति जुटाउने प्रयासमै छन् । उनले मङ्गलबार बिहान मात्रै कोशी एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसँग मन्त्रिपरिषद् विस्तारकै सन्दर्भमा संवाद गरेका थिए । संवादका क्रममा भण्डारीले सबैलाई समेटे आफूहरू सरकारमा नरहने बताएका छन् ।

स्रोतकाअनुसार धेरै भए एउटा दललाई समेट्ने तर, त्यो दल माओवादी केन्द्र हुन नहुने शर्त राखेका छन् । स्रोतले भन्यो— एमालेले माओवादी केन्द्रचाहिँ कुनै पनि हालतमा सरकारमा ल्याउनुहुन्न भन्ने शर्त राखेको छ । त्यसमा मुख्यमन्त्रीज्यूले थप संवाद गर्नुहोला ।

गठबन्धनसम्बद्ध दलका नेताहरू भने सहमति भएर मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताउँछन् । माओवादी केन्द्रका एक नेताले भने, “तत्कालै सरकार विस्तार हुने सम्भावना न्यून छ । सहमति भएको छैन । सहमतिबेगर सरकार विस्तार हुने कुरा भएन । मुख्यमन्त्रीजीले संवाद गर्दै हुनुहुन्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved