बाल्यकालीन दशैं अनुभूति : मानिसहरू तोरी पेल्न भक्तपुरसम्म जान्थे, चिउरा घरमै बन्थ्यो

बजारबाट ल्याएका नयाँ बास्ना आउने कपडा घरमै पनि सिलाउने गरिन्थ्यो । त्यतिबेला अहिलेजस्तो बजारमा भर परिँदैनथ्यो । सबैथोक घरमै तयार हुन्थ्यो ।

बाल्यकालीन दशैं अनुभूति : मानिसहरू तोरी पेल्न भक्तपुरसम्म जान्थे, चिउरा घरमै बन्थ्यो

काठमाडौं । बाल्यकालमा शरद् ऋतुको त्यो मनमोहक याममा दशैं पर्खेर बस्नुको अनुभूति कम्ता रोमाञ्चक छैन । मेरो बाल्यकाल गाउँमा बित्यो । बाल्यकालका हरेक दशैं रमाइला हुन्थे । बिहान घरबाट बाहिर निस्कँदा खुलेको मौसम हुन्थ्यो । त्यही खुलेको मौसमले पनि खुशी बनाउँथ्यो ।

दशैं आएको प्रकृतिले बताउँछ । सबै कामहरू सकिएको बेला हुन्छ । वर्षभरि काम गरेका किसानहरू दशैं आएपछि फुर्सदिला हुन्थे ।

त्यतिबेला हाम्रो माटोको घर थियो । फराकिलो आंगन, पिँढी, भित्र भूइतल्ला, माथिल्लो चोटा कोठा, बाहिर बार्दली, त्यसमाथि अर्को तला थियो । दशैँमा हजुरबाले घर चिटिक्क बनाउनुहुन्यो । आँखीझ्यालमा हरियो इनामेल लगाउनुहुन्थ्यो । भित्तामा भने रातो र सेतो माटो लगाइन्थ्यो । हजुरबाले भित्ताको तल रातो माटोले पोत्नुहुन्थ्यो । माथि सेतो कमेरा वा चुनले पोत्नुहुन्थ्यो ।

हामी भने ‘दशैं आयो, खाउँला पिउँला, कहाँबाट ल्याउँला, चोरी ल्याउँला, धत्त पापी म त छुट्टै बसौँला’ भन्दै औँला भाँच्दै दिन बिताउँथ्यौ ।

बाल्यकालको दशैंको अर्को रमाइलो पक्ष पिङ थियो । पिङ बाटेर हालेपछि बल्ल दशैं आएको जस्तो लाग्यो । वन जङ्गलबाट बाबियो ल्याएर हजुरबाले डोरी बाट्नुहुन्थ्यो । घर छेउको चौतारामा पिङ हाल्नुहुन्थ्यो । त्यसपछि दशैंको थप रमाइलो हुन्थ्यो ।

सानो छँदा हाम्रो घरको बाटो भएर टिका जमरा लगाएका मान्छेहरू लस्करै हिँड्दथे । तिनीहरू हेर्दा पनि रमाइलो हुन्थ्यो ।

हामी बच्चा छँदा दशैंको बेलामा नै वर्षभरिलाई पुग्ने कपडा किनेर ल्याउने गरिन्थ्यो । हजुरआमाले दुई तीन जना साथीहरू लिएर भक्तपुरसम्म स्कुलको कपडा घर बस्दा लगाउने कपडा र जाडो गर्मीका कपडा सबै एकै पटक किनेर ल्याइदिनुहुन्थ्यो । बजार टाढा थियो । महिनौँ अघिदेखि कपडा सिलाउन जाने गरिन्थ्यो ।

मेरो ममी काठमाडौं बस्नुहुन्थ्यो । दशैंमा उहाँ काठमाडौंबाट गाउँमा आउनुहुने भएकाले थप उत्साह हुन्थ्यो । कपडा सिलाउने मान्छे घरमै आउँथे । बजारबाट ल्याएका नयाँ बास्ना आउने कपडा घरमै पनि सिलाउने गरिन्थ्यो । त्यतिबेला अहिलेजस्तो बजारमा भर परिँदैनथ्यो ।

सबैथोक घरमै तयार हुन्थ्यो । दशैंको लागि घरका मानिसहरू तोरी पेल्न भक्तपुरसम्म जान्थे । चिउरा घरमै बन्थ्यो । हजुरआमाले चिउराका लागि धान भिजाउनुहुन्थ्यो । राती हामीलाई सुत्न पठाएर लालटिन बालेर ढिकीमा चिउरा कुटिन्थ्यो । बिहान उठेर हामीले दूध चिउरा खान्थ्यौँ । ताजा दूधमा ताजा चिउरा भिजाएर खाँदाको स्वाद बेग्लै हुन्थ्यो । त्यो स्वच्छ स्वाद अहिले पनि मेरो मुखमा झुन्डिरहेको छ ।

मेरो हजुरआमा गाउँमा सबैभन्दा पाको उमेरको हुनुहुन्थ्यो । त्यसैले गाउँभरका मानिसहरू टिका लगाउन आउँथे । उनीहरूलाई आलु बोडीको तरकारी, खसीको मासु चिउरा खुवाएर पठाइन्थ्यो । बाल्यकालका यति धेरै स्मृति हुँदाहुँदै पनि मलाई दशैंको मौसम नै सबैभन्दा प्रिय लाग्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved