ब्लग :

म त स्याङ्जाली, तपाईं कुन जाली ?

यस्तो वाइह्यात किस्सा कसले रच्यो होला । जुन किस्साले स्याङ्जालीहरू त्यसै बदनाम छन्। तर, जे होस् रच्नेको उटपट्याङ दिमागलाई चाहिँ मान्नैपर्छ । झन् अचेल त सुनिन्छ– ‘‘दश झापाली बराबर एक स्याङ्जाली, एक स्याङ्जाली बराबर पुरा नेपाली ।’’

म त स्याङ्जाली, तपाईं कुन जाली ?

“स्याङ्जामा त कसैका घरमा बास बस्न पुगियो भने पनि बूढीऔँला लुकाएर सुत्नुपर्छ रे ! नत्र खाली कागजमा औँलाको छाप लगाएर पाहुनाको जग्गाजमिन, आफ्नै नाममा पास गरिदिन्छन् रे” हातका चारवटा औँलाले बूढी औँलो छोपेर भनिँदै आएको यो कथन तपाईंले सुनेकै हुनुपर्छ ।

यसै कथन अनुसार पहिले स्याङ्जाको बिम्ब बनेको थियो– “जाली, फटाहाहरू भएको ठाउँ । लाटा–सीधालाई फसाई दुःख दिने अत्यधिक मान्छे भएका जिल्ला ।”
यो रोचक किस्सा र यससँग जोडिएका सत्यता वा मिथकको चर्चा गर्नुअघि यसैसँग जोडिएका मेरा केही अनुभूतिको चर्चा गर्छु ।

मेरो घर स्याङ्जा भए पनि पाल्पामा बसेर पढेँ । त्यहाँ पढ्दासमेत मेरो नाम स्याङ्जाली थियो। जिस्केर साथीहरूले कसैले जाली भन्थे । कसैले फटाहा । हाँसो मजाककै रूपमा भए पनि म स्कुले जीवनदेखि जालीको ट्याग भिरेर हिँडिरहेको थिए ।

त्यसले मलाई त खासै असर गरेको थिएन । तर, स्याङ्जाकै एक जना दिदी चन्दा क्षेत्रीबाट सुनेको थिएँ, “स्याङ्जाबाट आएको भनेपछि आजभन्दा प्रन्धबिस वर्ष अघिसम्म त मुख्य शहरहरूमा डेराभाडा पाउन मुस्किल थियो” रे ।

त्यो दुखान्त त मलाई आइलागेन। तर, तपाईंलाई सुन्दा कथा जस्तो लाग्ला, अझै पनि कसैले घर स्याङ्जा भन्यो भने मान्छे दच्किन्छन् । स्याङ्जाली र झापालीको कथा सम्झन्छन्। अनि त्यही कथन र भास्यको चातुर्यतासँग कायल हुन्छन् । जाली र फटाहासम्मका आरोप लगाउँदै पन्छिन् ।

यी किस्सा, कथन वा उटपट्याङहरू कसले, कुन कालखण्डमा जन्मायो ? केका लागि, कुन प्रयोजनमा वा स्वार्थमा प्रयोगमा ल्यायो ? सबै ठाउँ वा जिल्लामा धुर्त्याइँ र फट्याइँ गर्ने दुई/चारजना हुन्छन् । थिए होलान् दुई चारजना स्याङ्जालीहरू जाली र फटाहा । तर, ती थिए भन्दैमा सबै स्याङ्जाली यस्तै हुन्छन् त ? के अरू जिल्लामा सबै सज्जन नै सज्जन छन् ?

यसैले अलि पहिलाताका सोध्नेलाई घर स्याङ्जा भनेर अर्काेले जवाफ दियो भने नाक खुम्चाउँथ्यो । कुराकानीको क्रममा पनि आफूलाई गलत नजरले हेर्ने भएकैले कतिपय स्याङ्जाली आफ्नो घर तनहुँ वा पोखरा भनेर ढाँट्थे रे ।

कोही स्याङ्जालीहरू त जिल्लाको नाम नभनेर ठाउँको नाम पुतलीबजार, वालिङ यस्तैयस्तै भन्थे रे ।

अझै पनि चिया पसलतिर कसैले समसामयिक राजनीतिक वा कुनै विषयमा वैचारिक तार्किक कुराकानी कसैले गरेमा ‘स्याङ्जाली हो कि के हो कस्तो बाठो’ पनि भनिन्छ ।

नामपछाडि ‘जाली’ झुन्डिँदैमा स्याङ्जालीहरू सबैलाई जाली भन्छिन् । नाउमा जाली उपसर्ग लाग्दैमा जाली फटाहा भनेर सामाजिक सञ्जालमा समेत स्याङ्जाली लक्षित बनाइएका अनेक ट्रोल देख्नुभएकै होला ।

कसैले जिस्केकै भरमा भनेका होलान् । तर, यसले स्याङ्जाली जाली नै हुन्छन् भन्ने भास्यले निरन्तरता पाइरहँदैन र ?

जहाँ पनि राम्रा मान्छेहरूकाबीचमा एकाध नराम्राहरू हुन्छन् नै । मरेपछि राम्रा मान्छेहरू स्वर्ग र नराम्राहरू नर्कतिरको बाटो लाग्छन् भन्छ, हिन्दूको धर्मले ।

पापी र धर्मात्माहरू सर्लक्कै छुट्टिने र छुट्टिएको अलग दुनियाँ भएजस्तै यो संसारमा त्यस्तो ठाउँ छ र ? स्याङ्जामा जाली फटाहा हुने, अरू जिल्लामा सज्जन नै सज्जन बस्ने ।

तर, एकाध वा अमूक ठाउँको अमूक मान्छेले गरेका गल्तीमा अतिशयोक्ति गरेर ‘त्यताका मान्छे त्यस्ता, उताका मान्छे उस्ता’ भनेर ठाउँलाई नै सराप्ने विश्वकै नभएको चलन नेपालमा छ।

देश चिनाउने नै स्याङ्जाली

मेरो कर्म थलो काठमाडौं । अहिले दशैँ मनाउन म गृहजिल्ला स्याङ्जा आएको छु । गाउँघरबाट सहर पसेकाहरू दशैँको लागी भनेर गाउँघर फर्किएका छन् ।

देउराली डाँडोमा देखिने लस्करले गाउँ र बस्ती नै रंगीनमय देखिन्छ । यी दृश्य हेर्दै म सोच्छु— कति मेहनती र भाग्यशाली छ, स्याङ्जा ।

कति भाग्यमानी छन्, यहाँका मान्छेहरू । सायद, यो भूमिमा टेक्ने हरेकमा सिर्जना शक्तिको तरङ्ग उर्लिन्छ ।

देशमा जति पनि लोककलाकारहरूको संख्या छ। त्यो मध्ये धेरै स्याङ्जाकै छन्, जो लोकगीत सङ्गीतमा जल्दोबल्दो हस्तीका रूपमा लोकप्रिय र चर्चित छन् ।

लोकगीत कुनै पनि जाति, स्थान, समाजको साझा सम्पत्ति हो । लोकगीत समाजको गीत हो यो समाजले गाएको हुन्छ । तर, त्यो संस्कृति धेरैले जाली भनिरहेका स्याङ्जाले नै बचाएको छ ।

रेडियो नेपालमा गीत रेकर्ड गराउने प्रथम कलाकार चन्द्रबहादुर सेन ‘मसाने’,लगायतका पुराना अग्रज कलाकारहरूलाई बिर्सन सकिन्न, जो स्याङ्जाकै थिए ।

लोकगीत सङ्गीतको नयाँ पुस्ताका बारेमा हेर्ने हो भने स्याङजाका स्व. सूर्यकुमार क्षेत्रीको योगदान पनि महत्त्वपूर्ण छ । चर्चित गीत गायक पुरुषोत्तम न्यौपाने, रमेश बिजी, शर्मिला गुरुङलाई पनि स्याङ्जालेनै जन्माएको हो ।

भगवान भण्डारी, एकनारायण भण्डारी, विष्णु माझी, रामजी खाँण, खुमन अधिकारी, शिव हमाल पनि स्याङ्जाकै यही उर्वर भूमिमा जन्मिएका हुन् ।

देशका सबैजसो जिल्लाहरू तथा विदेशमा समेत हुने महोत्सव र विविध कार्यक्रमका लागि पनि स्याङ्जालीकै नाम पहिला आउने गर्दछ ।

अब भन्नुस् त स्याङ्जाली जाली फटाहा भए किन विश्वभरका नेपालीले पहिलो प्राथमिकतामा राखिरहेका छन् ?

निजामती सेवाको पर्याय स्याङ्जा

तपाईंलाई थाहा नै छ, देशका जुनसुकै निकायका सरकारी अड्डा पुग्दा पनि त्यहाँ एउटा न एउटा स्याङ्जाली कर्मचारी हुन्छन्, सायद भेट्नु भएकै होला । लाग्छ,‘स्याङ्जा कर्मचारी जन्माउने उर्वर भूमि हो ।

नपत्याए पूर्व मूख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीदेखि लोकदर्शन रेग्मीसम्मलाई हेर्नुहोस्। उनीहरुमात्र होइन निजामतीको उच्चतम तह मुख्यसचिवदेखि सचिव, सहसचिव, अधिकृत र खरदारसम्मै स्याङ्जाको बाक्लो उपस्थिति छ ।

देशमा जति पनि निजामती कर्मचारी छन्, त्यसको झन्डै तीस प्रतिशत स्याङ्जाका हुन् । निजामती सेवामा प्रवेश गर्न लोकसेवाको परीक्षा उत्तीर्ण हुनु अनिवार्य सर्त हो ।

त्यसको लागि पढ्नुपर्छ । स्याङ्जालीहरू धेरै पढ्छन्, लेख्छन्। कडा मिहिनेत गर्छन् । कडा मेहनत गरेर आफ्नै पौरखमा रमाउनेहरू कसरी फटाहा होलान् त ?

कुनै बेला पोखराको लोकसेवामा २९ जना गाविस सचिवमा जागिर खुल्दा २८ जना स्याङ्जालीले नाम निकालेका थिए । १ जना मात्रै लमजुङकाले नाम निकालेका थिए। यसैबाट अनुमान लगाउनुस् स्याङ्जालीको क्षमता ।

अझ पढाइको कुरा गर्ने हो भने स्याङ्जामा माध्यमिक तह उत्तीर्ण हुने दर हेर्नुहोस् । शतप्रतिशत नजिक ७९ प्रतिशत छ । स्याङ्जाली जाली फटाहा हुने भए कसरी यस्तो नतिजा आउला ?

यसैले स्याङ्जाली जत्तिको असल मानिस पूर्व मेचीदेखि पश्चिम महाकाली उत्तर सगरमाथाको चुचुरोदेखि दक्षिण तराईसम्म जता खोजे पनि पाइन्न ।

हेर्न आउनुस्, कस्ता छन् स्याङ्जाली

स्याङ्जा धेरै दृष्टिबाट अरू पहाडी जिल्लाभन्दा अगाडि छ, त्यो पनि पहिलेदेखि नै । शिक्षा, स्वास्थ्य, कृषि, यातायात, बजार सबैमा । आंधीखोला, बाढ खोला, दह्रौं खोला, सुरौदी खोला, ज्याग्दी खोला, पिडिखोला, चापाकोटको फाँट, स्याङ्जाको आर्थिक मेरुदण्डका आधारहरू हुन् ।

आंधीखोलाको उर्वर फाँटले स्याङ्जालाई निरन्तर अग्रणी बनाइरहेको छ ।

प्रायः यी सबै खोलाका बगर र फाँटहरू, भन्ज्याङ, उकाली–ओराली र नागबेली जस्तै घुमेको राजमार्ग स्याङ्जाका सौन्दर्य हुन् ।

यसैले म स्याङ्जाली भएर जन्मनुमा गौरव गर्छु । अझै देशैभर झलल पार्ने ठुलो जलविद्युत गृह कालीगण्डकी ए यही छ। सबैभन्दा मिठो, गुलियो अनि सबैको रोजाइमा पर्न सफल सुन्तला स्याङ्जामा उत्पादन हुन्छ ।

यसैले तपाई पनि त्यही चलनचल्तीमा रहेको पुरानो मिथ्या कथन सुनेर धारणा बनाउनुभएको छ भने, स्याङ्जा आउनुहोस् । बस्नुहोस्, घुम्नुहोस् । स्याङ्जालीसँग सङ्गत गर्नुहोस्, अनि तपाईंलाई थाहा हुनेछन्, ‘कस्ता छन् स्याङ्जाली ।’

०००

म अहिले काठमाडौं, बस्छु। अहिले चाडबाडमा गृहजिल्ला स्याङ्जा टेक्दा धेरैले भट्ट्याइरहने त्यो सदियौँदेखिको मिथक सम्झिरहेको छु– “स्याङ्जालीहरू जाली हुन्छन्, बेइमान र धूर्त हुन्छन् ।”

अझ चारवटा औँलाले बूढी औँलो छोपेर भनिँदैआएको मिथक सम्झिन्छु “स्याङ्जामा कसैका घरमा बास बस्न पुगियो भने पनि बूढी औँला लुकाएर सुत्नुपर्छ रे ।”

यस्तो वाइह्यात किस्सा कसले रच्यो होला । जुन किस्साले स्याङ्जालीहरू त्यसै बदनाम छन्। तर, जे होस् रच्नेको उटपट्याङ दिमागलाई चाहिँ मान्नैपर्छ । झन् अचेल त सुन्ने गरिन्छ– “दश झापाली बराबर एक स्याङ्जाली, एक स्याङ्जाली बराबर पुरा नेपाली ।”

यी किस्सा, कथन वा उटपट्याङहरू कसले, कुन कालखण्डमा जन्मायो ? केका लागि, कुन प्रयोजनमा वा स्वार्थमा प्रयोगमा ल्यायो ? सबै ठाउँ वा जिल्लामा धुर्त्याइँ र फट्याइँ गर्ने दुई–चार जना हुन्छन् ।

थिए होलान् दुई चारजना स्याङ्जालीहरू जाली र फटाहा । तर, ती थिए भन्दैमा सबै स्याङ्जाली यस्तै हुन्छन् त ? के अरू जिल्लामा सबै सज्जन नै सज्जन छन् ?

यसैले समाज नबुझ्ने, बुझ्न नचाहने वा बुझेर पनि हाँसो मजाकमा उडाउनेहरूलाई हो स्याङ्जाली जाली ।

बोल्नेले मज्जा मानेर बोल्दै आए; जसको छाप हामी स्याङ्जालीले बोकेर कहिलेसम्म हिँडिरहनुपर्ने ? यो छाप कुन युगमा पुगेर मेटिएला कि नमेटिएला ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved