आलेख

आँधीको गीत

किन हाम्रो लोकतान्त्रिक गणतन्त्रले मान्छेमा आशा जगाउन सकेन ? किनभने हाम्रो राजनीतिमा समस्या छ । हाम्रो सत्तामा समस्या छ । हाम्रो शासकीय चरित्रमा समस्या छ । हाम्रो दलीय नेतृत्वले सत्ता र शासनको ऐतिहासिक दुश्चक्र, विभेदकारी चरित्र र भ्रष्ट आचरणलाई तोड्न सकेन । न त सत्ताको चरित्रमा लोकतन्त्र आयो, न त नेताको । मात्र व्यवस्था फेरियो, बाँकी केही फेरिएन । यो नै राम्रो राजनीतिको दु:खान्त भयो ।

आँधीको गीत

असोज तेश्रो हप्ता, न्युरोड सडकपेटीमा भेटिएका सामान ओसार-पसार गर्ने एक मजदुर ठट्यौलो स्वरमा भन्दै थिए– ‘दशैं आयो, महँगीले ज्यान खायो ।’ उनको यो भनाइ आधारभूत तहका प्रत्येक नेपालीको साझा हो । जसभित्र व्यंग्य त छ, तर त्यो भन्दा धेरै छ निराशा र आक्रोश ।

निराशा अहिले घर-घरमा छ । निम्न र मध्यमवर्गीय नेपाली आजकल भेट हुँदा सुस्केरा हाल्दै भन्छन्– खत्तम् छ यार । विद्यार्थी निरास छन् । शिक्षक निरास छन् । डाक्टर निरास छन् । काठमाडौंका सडकमा हिँड्दा ‘सटर खालि छ’ का सूचना यत्रतत्र देखिन्छन् । व्यापारी, उद्योगपति निरास छन् । किसान, मजदुर, गृहस्थ र जागिरदार निरास छन् ।

आखिर, को खुसी छ यो देशमा ? न्युरोडमा पसल गर्ने एक व्यापारीले मेरो प्रश्नको जवाफ दिदैं भने– मात्र केही मुठ्ठिभर मान्छेहरू खुसी छन् जोसँग सत्ता छ । अथवा, बिचौलिया र तिनका आफन्त खुसी छन्, जो सँग सत्ताको साँठगाँठ छ । अथवा, खुसी छन् राज्यमा लुट मच्चाउने मनुवाहरू, जोसँग राज्यदोहनको लाइसेन्स छ ।

मलाई लाग्छ, अरु पनि खुसी छन् यो देशमा । अर्थात पश्चगामीहरू । जो आम निराशाको आगोमा पश्चगमनको मालपुवा पकाउन लालायित छन् । यही मौकामा उनीहरू राजतन्त्र पुनर्स्थापित तानावाना रच्दैछन् । अन्यथा, आम मान्छे अहिले दुःख र निराशाले घेरिएको छ ।

यस्तो लाग्छ, यो निराशाको अँध्यारो काल हो । अर्थात्, विषकाल ।

किन निरास छन् मान्छे ? के मान्छेहरू अकारण नै निरास छन् ? कसले छर्दैछ निराशाको बिउ ? कसले गर्दैछ निराशाको गोडमेल ? के निराशा नै हाम्रो नियति हो ? कि यसको समाधान सम्भव छ ?

माथिका यी प्रश्नलाई हामी ३ भागमा राख्न सक्छौं ? एकखाले प्रश्नले हामीलाई निराशाको कारण खोज्न प्रेरित गर्दछन् । दोश्रो खाले प्रश्न मुख्यतः निराशालाई अराजकतामा बदल्ने प्रवृत्तिबाट प्रेरित छन् । तेश्रो खाले प्रश्नले हामीलाई आशाको उज्यालो खोज्न सहयोग गर्दछन् ।

यिनै तीन खाले प्रश्न र प्रवृतिमाथि यो लेख केन्द्रित छ ।

किन निरास छन् मान्छेहरू ?

मान्छेहरू निरास हुनुका अनेकौं कारण छन् । ती मध्येको मुख्य कारण हो ‘राजनीति’ ।

हाम्रो राजनीतिले देश र नागरिकका सपना पूरा गर्न सकेन । यो स्वयं भ्रष्ट, गतिहीन र दिशाहीन भयो । यो नकारात्मक कुरा होइन, सत्य कुरा हो । परिणाम के भयो ? परिणाम, सरकार गतिलो भएन । अर्थतन्त्र शिथिल भयो । रोजगारीका अवसर संकुचित भए । महँगी आकासियो । भ्रष्टाचार टोलसम्म पुग्यो । स्कुल, कलेजमा पढाइ राम्रो छैन । अस्पताल स्वयं बिरामी बने । मान्छेको दैनिक जीवनमा भुक्तमान थपियो । र, प्रत्येक दिन भुक्तमान माथि भुक्तमान खपेर मान्छे थिलथिलो भए ।

त्यसैले मान्छे निरास छन् । त्यसैले, मान्छे आक्रोशमा छन् ।

प्रश्न स्वाभाविक हुन्छ, किन हाम्रो लोकतान्त्रिक गणतन्त्रले मान्छेमा आशा जगाउन सकेन ? किनभने हाम्रो राजनीतिमा समस्या छ । हाम्रो सत्तामा समस्या छ । हाम्रो शासकीय चरित्रमा समस्या छ । हाम्रो दलीय नेतृत्वले सत्ता र शासनको ऐतिहासिक दुश्चक्र, विभेदकारी चरित्र र भ्रष्ट आचरणलाई तोड्न सकेन । न त सत्ताको चरित्रमा लोकतन्त्र आयो, न त नेताको । मात्र व्यवस्था फेरियो, बाँकी केही फेरिएन । यो नै राम्रो राजनीतिको दु:खान्त भयो ।

सत्ता र शासनको ऐतिहासिक दुश्चक्र भनेको के हो ?

सत्ता र शासनको ऐतिहासिक दुश्चक्र, विभेदकारी चरित्र र गतिहिनता बुझ्न मुख्यतः तीनवटा काल्पनिक प्रश्न गर्नुपर्ने हुन्छ । मानौ, हाम्रो शासनसत्ता लिच्छवीकालबाट (वा मल्लकाल) स्वाभाविक गतिमा अगाडि बढेको भए त्यो कस्तो हुन्थ्यो होला ? मानौ, कोतपर्व नभएको भए, अथवा जंगबहादुरको उदय नै नभएको भए त्यो कस्तो हुन्थ्यो होला ? मानौ, राजा महेन्द्रले निर्वाचित सरकारलाई अपदस्थ गरी पञ्चायत (०१७ साल) लागू नगरेको भए के हुन्थ्यो होला ?

तर, नेपाली राजनीतिमा शाहवंशको उदय, कोतपर्व र पञ्चायत यी तीन यस्ता घटना हुनपुगे, जसले हाम्रो सत्ता, शासन र शासकीय चरित्रलाई एउटा आकार दियो । भयो के भने, यी घटनाले हाम्रो सत्तालाई चरम व्यक्तिवादी, परिवारवादी र अहंकारी बनाइदियो । जसले सत्ता, शक्ति र सम्पत्तिलाई सत्ताको केन्द्रमा ल्यायो । यो उदार, सहिष्णु र लोकतान्त्रिक बन्न सकेन । यो एकांकी र एकात्मक त भयो नै, साथै यो भ्रष्ट पनि भयो । दुर्भाग्य, यसले सत्तालाई संकीर्ण, षड्यन्त्रकारी र पंगु हुनबाट बचाउन सकेन ।

राजनीति, राजकाज र सत्ताको यो ऐतिहासिक दुश्चक्रलाई लोकतान्त्रिक आन्दोलनले तोड्न सक्नुपर्थ्यो । तर, त्यसो हुन सकेन ।

उदाहरणका लागि, हिजो राणाहरू व्यक्तिवादी थिए, आज नेताहरू छन् । हिजो सत्तामा परिवार हावी थियो, आज, गुट, वंश र नातावाद हावी छ । हिजो सत्ता दरबारको नियन्त्रणमा थियो, आज सत्ता दलतन्त्रको सिकार भएको छ । हिजो पनि हत्याराहरू पुरस्कृत हुन्थे, आजपनि त्यही छ ।

हिजो भूमिगत गिरोहले बिचौलियाको काम गर्थ्यो, आज दलाली गर्न नयाँ गिरोह हाजिर छ । हिजोपनि सत्ताको केन्द्रमा नागरिक थिएनन्, आज पनि छैनन् । हिजो पनि सत्ताका लागि षड्यन्त्र गरिन्थ्यो, आज पनि त्यही छ । यो सत्तामा ‘पिपुल फष्ट’ कहिल्यै भएन ।

यो अर्थमा हामीले झण्डै २६० वर्षदेखि सत्ताको अकर्मण्यता र असक्षमता भोगिरहेका छौं । विगत २६० वर्षदेखि हाम्रो सत्ता संकीर्ण, लक्ष्यहिन, क्षमताहीन र भ्रष्ट छ । हिजो जस्तै आज पनि हाम्रो राजनीतिमा सपना छैन । हाम्रो राजनीतिमा उदारता छैन । अर्थात्, हाम्रो राजनीतिमा राजनीति छैन, नागरिक छैन, छ त मात्र सत्ताको अंकगणित र दलाली ।

यी हाम्रा ऐतिहासिक कमजोरीहरू हुन् । जो आज पनि नियमित र निरन्तर छन् । अर्थात, हाम्रो लोकतान्त्रिक राजनीतिले सत्ता र शासनको ऐतिहासिक दुश्चक्र, विभेदकारी चरित्र र गतिहीनतालाई तोड्न सकेन । यो तिनै परम्परागत ऐतिहासिक विकृतिहरूको निरन्तरतामा खुम्चियो । त्यसैले हाम्रो परिवर्तन झुटो सावित भयो । कतै क्रमभंग भएन । त्यसैले, हामी निरास छौं । वस्तुतः हामी निरास मात्र छैनौं, त्योभन्दा धेरै हामी या त राजनीतिप्रति नै उदासीन छौं, अथवा उत्तेजित र अराजक हुँदैछौं ।

महासिन्डिकेट 

नेपाली सत्ताले आफ्नो ऐतिहासिक विरासत, वर्चश्व र चरित्रलाई बचाइराख्न चौतर्फी सिन्डिकेट बनाएको छ । यस्तो सिन्डिकेट, जसको केन्द्रमा छन् सत्ताधारीहरू । वरिपरी छन् उनका बिचौलिया, दलाल र नाफाखोर । उनीहरूको एउटै स्वार्थ छ, सत्ता, शक्ति र सम्पत्ति ।

विचार गरौं, को हो त्यो सिन्डिकेटको सदस्य ? त्यो दलबाट प्रशिक्षित विश्वविद्यालय वा अनुसन्धानशालाको हाकिम हो । त्यो दलको झोला बोक्ने, शिक्षक वा प्राध्यापक हो । अथवा त्यो कुनैबेला सडकमा नारा लगाउँथ्यो, अहिले सरकारी अड्डामा हाकिम छ । विद्यार्थीकालमा उ रातो झण्डा बोकेर पुस्तकालय जलाउँथ्यो, अहिले उ कुनै संस्थाको हर्ताकर्ता छ । उ वकिल हो, उ पत्रकार हो तर त्योभन्दा धेरै उ बिचौलियो हो । उ त्यही गुण्डा हो, जो कुनैबेला सडकमा नारा लगाउँथ्यो र अहिले कालो बजारमा हप्ता उठाउँछ ।

उदाहरणका लागि उ भ्रष्ट ठेकेदार हो, लुब्ध व्यापारी हो । अथवा, उ दलको कार्यकर्ता हो, जो सडकमा यौनहिंसाविरुद्ध नारा लगाउँछ र घरमा वधुशिक्षा पढाउँछ । उ त्यो स्वघोषित परिवर्तनकारी हो, जो छुवाछुतविरुद्ध चुइँक्क बोल्दैन र बलात्कारी साधुसँग बसेर नैतिकताको भजन गाउँछ । उ सत्ताको हिस्सेदार हो । जो सिंहदरबारमा बसेर आफ्नो स्वार्थको घोडा वेफिक्रिसाथ नागरिकका आशामाथि दौडाइरहेको छ ।

यो यस्तो सिन्डिकेट हो, जहाँ एउटाले भ्रष्टाचार गर्छ, दोश्रोले अनुसन्धान गर्छ, तेश्रोले सफाइ दिन्छ । एउटाले बिन्ती बिसाउँछ, अर्कोले विभूषण बाँड्छ र तेश्रोले सुशोभित गरिदिन्छ । एउटाले टेन्डर निकाल्छ, अर्कोले ठेक्का पार्छ, तेश्रोले भुक्तानी दिन्छ । एउटाले मान्छे मार्छ, अर्कोले माफी माग्छ, तेश्रोले माफी दिन्छ । एउटाले आयोग बनाउँछ, अर्को आयोगमा बस्छ, तेश्रोले आयोगमार्फत बेथितिहरूलाई अनुमोदन गरिदिन्छ ।

अर्थात्, यहाँ सबका सब मिलेका छन् । यो मिलनको चरित्र पूरापूर ऐतिहासिक छ । अर्थात्, हिजो राजाको शासनमा पनि यस्तै थियो, आज दलहरूको शासन पनि उस्तै छ । उनीहरू एयरलाइन्स डुबाउन मिलेका छन्, खोला बेच्न मिलेका छन्, सरकारी जग्गा हडप्न मिलेका छन् ।

औपचारिक राजनीतिमा पार्टीहरू अलग छन् । जनसंगठन अलग छन् । तर, अनौपचारिक सम्बन्धमा उनीहरूको एउटा सिन्डिकेट छ र आफ्नो वर्चश्वका लागि उनीहरू जस्तोसुकै लेनदेन गर्न पनि तयार छन् ।

यसरी राज्य पंगु बनेको छ । संरचनाहरू बेकामे, पत्रु र गतिहीन बनेका छन् । यसरी हाम्रो समय, चेतना र गति अवरुद्ध भएको छ । अर्थात् हामी सिन्डिकेटको जालोमा परेका छौं । त्यसैले, हामी निरास छौं ।

भ्रमको खेती 

यो निराशालाई हेर्ने हाम्रो राजनीतिमा मुख्यतः दुईवटा भ्रमपूर्ण दृष्टिकोण छन् । पहिलो, सत्ताधारी दृष्टिकोण । दोश्रो, परम्परागत पश्चगामी दृष्टिकोण ।

सत्ताधारी दृष्टिकोण राख्नेहरू न त समस्याका कारण खोज्दछन्, न त समाधानका लागि संरचनागत प्रयत्नमा नै विचार पुर्‍याउँछन् । उनीहरू ठान्दछन् कि, हिजो उनीहरू सत्तामा थिएनन्, त्यसैले समस्याहरू थिए । तर, जब उनीहरूको सत्तारोहण भयो, समस्याहरू ‘छुमन्तर’ भए । हिजो उनीहरू सत्तामा थिएनन् त्यसैले देश अप्ठ्यारोमा थियो । तर, जब उनीहरू सत्तामा पुगे, सबै कुरा ठीकठाक भयो ।

सत्तालाई परिवर्तनको साध्य ठान्नु सिद्धान्ततः उनीहरूले गर्ने मुख्य गल्ति हो । साध्य हुनुपर्ने थियो मुलुकको रूपान्तरण र साधन सत्ता । तर भयो के भने, उनीहरूका लागि सत्ता नै साध्य भयो । जब साधनको प्राप्तिलाई नै राजनीतिको लक्ष्य ठानिन्छ, स्वभावतः गडबडी त्यहीँबाट सुरु हुन्छ ।

निराशालाई हेर्ने दोश्रो हो पश्चिगामी दृष्टिकोण । पश्चगामीहरू ठान्दछन्, कुनैबेला यो देश स्वर्ग थियो, जतिबेला यहाँ राजतन्त्र थियो । यसरी उनीहरू इतिहासलाई बग्याइरहेका छन् र वर्तमानको तेजोवध गर्न निरन्तर लागि रहेका छन् । उनीहरू निराशालाई, अराजकतामा बदल्न चाहन्छन् । र, दलहरूका दोषलाई अपव्याख्या गर्दै भन्छन्, यो सबै संघीय लोकतान्त्रिक गणतन्त्रको दोष हो ।

स्पष्ट छ, पश्चगामीहरू धमिलो पानीमा माछा मार्न चाहन्छन् । उनीहरू लोकतन्त्रलाई बदनाम गरेर, मान्छेलाई भड्काउने प्रयत्न गरिरहेका छन् ।

वस्तुतः यी दुवै खतरनाक दृष्टिकोण हुन् । दुवै निराशाको खेतीमा छन् । उनीहरूको अनुहार फरक छ । तर, दुवै अन्ततः हाम्रो राजनीतिलाई दायाँ वा बायाँ नचाउन र तमासा हेर्न लालायित छन् ।

आँधीको पर्खाइ 

समाधान कहाँ छ ? कसरी यी दुवै प्रवृत्तिहरूलाई परास्त गर्ने ?

केही अगाडि बागबजारको पुरानो गल्लिमा एकजना दौतरीसँग १६ वर्षपछि भेट भयो । ऊ विदेशबाट केही महिना अगाडि मात्र नेपाल फर्किएको थियो । उसले आक्रोशमा भन्यो– साथी मलाई त नेताहरू देख्नासाथ थुक्न पो मन लाग्छ । संसारका सबै गालीहरू जम्मा गरेर तिनलाई सराप्न मनलाग्छ । अथवा कहिलेकाहीँ लाग्छ तिनका चिल्ला गालामा झापड हानौं ।

उ आँधीको कुरा गर्दै थियो । यस्तो आँधी जसले सबै फोहोर बढारेर लैजाने छ ।

मेरो साथी भुईंमान्छेको एउटा विम्ब हो । अर्थात्, सत्ता र सिन्डिकेट बाहिरको मान्छे । जो कहिले एक्लै देखिन्छ, कहिले समुहमा । कहिले सडकमा चिच्याउँछ, कहिले सभाहलमा । उ कहिले अटेरी बनेर बगावत गर्छ, कहिले स्वतन्त्र बनेर उभिन्छ । मलाई लाग्छ, उ एउटा संकेत हो । अर्थात, एउटा आँधीको संकेत ।

कस्तो होला त्यो आँधी ? कस्तो होला त्यो विद्रोह ? के त्यसले पश्चगामी बाटो समाउला ? कि त्यो यथास्थितिमै अलमलिएला ? देश र नागरिकले भोगिरहेका निराशाका पत्रहरू छिचोल्न हामीले समाउनुपर्ने अबको मूलबाटो कुन होला ?

देशले भोगिरहेका संकट, अन्योल र निराशाको समाधान न त सरकारमा जाने व्यक्ति वा दल फेर्दैमा हुन्छ न त राजा आउँदैमा । नेपाली सत्ताको ऐतिहासिक विरासत, चरित्र र निरन्तरको शासकीय अहंकारलाई नभत्काई हाम्रो देश उज्यालोतिर कसैगरी आउँदैन । न त यथावस्था, न त पश्चगमन, हाम्रो बाटो हो अग्रगमन ।

वस्तुतः यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउने, तर राजनीतिलाई बदल्ने समय हो । अन्यथा हाम्रो निराशा अराजकतामा फेरिने छ र हामी असफलताको उम्किनै नसक्ने भासमा जाकिनेछौं ।

यहाँनेर, अग्रगमन भनेको के हो ? यहाँनेर अग्रगमन भनेको नयाँ राजनीतिक शक्तिको निर्माण हो । जो पूर्ण लोकतान्त्रिक होस् । जो पूर्ण समावेशी होस् । जो पूर्ण अग्रगामी होस् । जो सँग नयाँ मुद्दा होऊन् । जसले नयाँ भाष्यलाई स्थापित गरोस् । जसले राष्ट्र निर्माणको नयाँ अभिभारा बोकोस् । जसले राष्ट्रिय एकताको नयाँ आह्वान गरोस् । जसले भ्रष्टहरूलाई पाता फर्काओस् । जसले राज्यको चरित्र बदल्ने संकल्प गरोस् ।

अन्यथा नेताहरू फेर्ने, तर राजनीति नफेरिए के हुन्छ ? मन्त्रीको अनुहार फेर्ने तर चरित्र नफेरिए के हुन्छ ? व्यक्ति फेर्ने तर सत्ताको चरित्र नफेरिए के हुन्छ ? फेरि संविधान च्यात्ने र उल्टो हिँडेर राजा ल्याउने, जसलाई नेपाली जनताले २४० वर्ष देखेकै थिए, त्यसपछि के हुन्छ ?

यदि, हामी केही गर्न चाहन्छौं भने, त्यसका लागि एउटा आँधी आवश्यक छ । यस्तो आँधी जसले पश्चगमनलाई रोक्नेछ र यथास्थितिलाई पनि बदल्नेछ । जसले परम्परादेखि जमेर बसेको राज्यको ऐतिहासिक विरासत, वर्चश्व र चरित्रलाई भत्काउने छ र अग्रगमनको नयाँ यात्रा सुरु गर्नेछ ।

अतः आऔं, सबै मिलेर लोकतन्त्र र अग्रगमनको नयाँ गीत गुनगुनाऔं ।

यो आँधीको गीत गाउने समय हो ।

[email protected]


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved