एन्टिबायोटिकको जथाभावी प्रयोगले निम्तिन सक्ने संकट

नेपालभ्युज

एन्टिबायोटिकको जथाभावी प्रयोगले निम्तिन सक्ने संकट

एजेन्सी। एन्टिबायोटिक ब्याक्टेरिया संक्रमणको उपचारमा प्रयोग गरिने शक्तिशाली औषधि हो । तर, यसको दुरुपयोग तथा अत्यधिक प्रयोगले ब्याक्टेरियाको एन्टिबायोटिक प्रतिरोध गर्ने क्षमता बढ्न सक्छ । जसले गर्दा  भविष्यमा संक्रमणको उपचार गर्न गाह्रो बनाउँछ।

तसर्थ, एन्टिबायोटिक लिनुअघि धेरै कुरा विचार गर्नु महत्त्वपूर्ण छ ताकि उचित र प्रभावकारी रूपमा प्रयोग गर्न सकियोस् । एन्टिबायोटिक लिनुअघि ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण कुराबारे आज हामी बताउनेछौं ।

कुनै पनि एन्टिबायोटिक लिनुअघि यो पुष्टि गर्न आवश्यक छ कि, तपाईंको रोग ब्याक्टेरियाको कारणले भएको हो कि भाइरसका कारणले। एन्टिबायोटिक ब्याक्टेरियाको संक्रमणविरुद्ध मात्र प्रभावकारी हुन्छ । सामान्य रुघाखोकी वा फ्लू जस्ता भाइरल संक्रमणमा एन्टिबायोटिकले काम गर्दैन ।

एन्टिबायोटिक लिनुअघि सधैं स्वास्थ्यकर्मीसँग परामर्श लिने गर्नुहोस् । उनीहरूले तपाईंको स्वास्थ्य अवस्थाको मूल्यांकन गरेर आवश्यक भएमा सबैभन्दा उपयुक्त एन्टिबायोटिक सिफारिस गर्नेछन्। साथै, तपाईंलाई कुनै पनि एन्टिबायोटिकको एलर्जी छ भने त्यसको जानकारी पनि स्वास्थ्यकर्मीलाई दिनुहोस् ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, डाक्टरले सिफारिस गरेको डोज सकिनुअघि नै तपाईंलाई ठीक भएको महसुस हुन्छ भने पनि खान छोड्नु हुँदैन । यसको निर्धारितरूपमा पूर्ण डोज लिनै पर्छ । एन्टिबायोटिकलाई समयअगावै बन्द गर्नाले सबैभन्दा बलियो ब्याक्टेरिया बाँच्न सक्छ, जसले एन्टिबायोटिक रेसिस्टेन्सको जोखिम बढाउँछ।

एन्टिबायोटिक रेसिस्टेन्स स्वास्थ्य क्षेत्रमा एक विश्वव्यापी चिन्ताको विषय बनेको छ । यो यस्तो अवस्था हो जहाँ ब्याक्टेरियाले यी एन्टिबायोटिकको प्रतिरोध विकास गर्छन् फलस्वरूप, यी औषधिले तिनीहरूलाई असर गर्दैन। एन्टिबायोटिकको अत्यधिक प्रयोग र दुरुपयोगले यो समस्या निम्त्याउँछ। त्यसैले, आवश्यक परेको बेला र डाक्टरले तोकिएअनुसार मात्र एन्टिबायोटिकको प्रयोग गर्नुपर्छ ।

एन्टिबायोटिकसँग सम्बन्धित सम्भावित साइड इफेक्टको बारेमा सचेत हुनु पनि आवश्यक छ, जुन एन्टिबायोटिकपिच्छे फरक हुन सक्छ । सामान्य साइड इफेक्टमा पखाला, यिस्ट इनफेक्सन पर्छन् । यदि, गम्भीर वा असामान्य साइड इफेक्ट भएकमा चिकित्सकसँग परामर्श लिनुहोस् ।

साथै, एन्टिबायोटिकसँग अन्य कुनै औषधि लिनाले कतिपय अवस्थामा प्रभावकारिता कम हुन सक्छ वा प्रतिकूल असर गर्न सक्छ। त्यसका लागि पनि एन्टिबायोटिक लिनुअघि, आफूले खाई रहेको औषधिबारे डाक्टर लाई जानकारी दिनुहोस् ।

यदि, तपाईं गर्भवती हुनुहुन्छ वा स्तनपान गराइरहनुभएको छ भने, तपाईंको स्वास्थ्य सेवा प्रदायकसँग एन्टिबायोटिकको प्रयोगबारे छलफल गर्नुहोस् । केही एन्टिबायोटिक गर्भावस्थाको समयका लागि सुरक्षित नहुन पनि सक्छन् ।

भाइरल इन्फेक्सनका लागि एन्टिबायोटिकको प्रयोगले कुनै फाइदा गर्दैन उल्टै यसले ब्याक्टेरियाको एन्टिबायोटिकसँग लड्ने क्षमता बढ्न सहयोग पुर्‍याउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved