सन्दर्भ : ली क्वान यू शतवार्षिकी

ली क्वान यूपछिको सिंगापुर

‘सिंगापुर भाग्यको एक धक्का, एक कल्पनाशील, मौलिक र कडा मेहनत गर्ने समूहको कारणले बनेको हो । र, मलाई लाग्छ सिंगापुर जारी रहन सक्दछ । सिंगापुर त्यतिबेलासम्म मात्र स्थिर र सुरक्षित रहन सक्दछ, जबसम्म यो उत्कृष्ट भइरहन्छ ।’

ली क्वान यूपछिको सिंगापुर

सिंगापुरका संस्थापक प्रधानमन्त्री ली क्वान यूलाई एकपटक सोधियो–‘तपाईंलाई इतिहासले कसरी सम्झियोस् भन्ने चाहनुहुन्छ ?’ उनले बढो सामान्य शैलीमा हल्का उत्तर दिए–‘म मरिसकेको हुन्छु, जसरी सम्झिए पनि मलाई केही फरक पर्दैन ।’

उनी आफ्नो बारेमा अरुले के सोच्छन् भनेर धेरै वास्ता गर्ने खालका मान्छे थिएनन्, कम्तीमा आफू बितेपछिको त झनै चिन्ता थिएन उनलाई। तर, उनी सिंगापुरको भविष्यबारे भने धेरै चिन्तित थिए । आफ्नो जीवनका अन्तिम वर्षहरूमा उनी सिंगापुरलाई फुल्न, फल्न र समृद्धि जारी राख्न के-के गर्नुपर्दछ भन्ने विषयमा लेख्न र अन्तर्वार्ता गर्न राजी भए।

सिंगापुरको सफलतालाई आजको युवा पुस्ताले सहज स्वीकार नगरेको र आजको समृद्ध शहर बनाउने सम्भावनाको बेडा कसरी पार लागेको थियो भन्ने नबुझेकामा उनी दु:खी थिए ।

सन् २०१५ को मार्चमा उनको निधन भयो । त्यसको आठ वर्षपछि सिंगापुरी जनता ली क्वान यूको जन्मको शतवार्षिकी मनाउँदैछन् । यो बेला यो प्रश्न उठाउन उपयुक्त हुन्छ । राष्ट्र निर्माणबारे उनका कुन-कुन विचार आज पनि सान्दर्भिक छन् र कुन-कुन गलत सावित भए ?

धेरै अघि बढिसक्यो सिंगापुर

आज सिंगापुर दशकौं अघि लि क्वान यूले शासन गरेको अवस्थामा छैन । यो एक विकसित देश भइसक्यो । यो कसरी सम्भव भयो ? यो प्रश्नको उत्तरमा एउटा लामो सूची बन्छ । तीमध्ये प्रमुख हुन्–अभ्रष्टता, योग्यतातन्त्र, अपवादवाद, सबल नेतृत्व, विश्वका लागि खुल्लापन र बहुसांस्कृतिकतावाद।

यी प्रत्येक तत्त्वप्रति उनको विचार निकै बलियो थियो र यी सबै वर्षौंदेखि सिंगापुरको विकासलाई आकार दिन महत्त्वपूर्ण सावित भए । तर, अहिले देखापरेका नयाँ चुनौतीका सन्दर्भमा यी प्रत्येक तत्त्वमाथि उनका विचारबारे मुद्दाहरू छन्। प्रश्नहरू उठेका छन्। सिंगापुर अब ली क्वान यूले ३० वर्ष भन्दा बढी शासन गरेको देश रहेन । यसको विश्व वातावरणमा पनि व्यापक परिवर्तन भइसकेको छ ।

योग्यतातन्त्रको अर्थ अब जागिरमा सबैभन्दा उत्तमलाई छनोट गर्नुमा मात्र सीमित रहेन। यसले त्यो वर्गलाई फाइदा पुर्‍याउन थाल्यो जसका बुबाआमाले जीवनको सुरुवातमै उनीहरूलाई अघि बढ्ने अवसर दिए । यस्तो योग्यतातन्त्रले के हुन्छ, जसले लाभान्वितहरूलाई नै अझ बढी लाभ दिन्छ ?

साथै, ली क्वान युले महत्त्व दिएको योग्यतातन्त्र धेरै हदसम्म शैक्षिक प्रमाणपत्रमा आधारित थियो । उनी कुनै एक व्यक्तिको विद्यालय जीवन अर्को व्यक्तिको विद्यालय परीक्षा परिणामभन्दा श्रेष्ठ ठान्ने तुलनाका लागि प्रसिद्ध थिए । आज योग्यतातन्त्रको यस्तो परिभाषा बिल्कुलै साँघुरो मानिन्छ । यस्तो योग्यतातन्त्रको चरित्र सम्भ्रान्तवादी छ र यो राजनीतिक रूपमा पनि सही छैन ।

सिंगापुरी अपवादवादका आफ्नै विश्वास थिए । ली क्वान यू ठान्थे कि, सिंगापुरको उत्पादकत्व यसका छिमेकीको भन्दा अधिक कुशल हुनुपर्दछ, अन्यथा यो देश बाँच्न सक्दैन । उनी आर्थिक विकासप्रति एकपाखे दृष्टिकोणले प्रेरित थिए । उनी यो विश्वास गर्थे कि, उन्नत समाजमा पाइने सबै चिज हासिल गर्न आर्थिक समृद्धि पूर्व शर्त हो ।

सन् २०११ मा म समेतको सहलेखन भएको पुस्तक ‘हार्ड ट्रथ टु किप, सिंगापुर गोइङ’ का लागि अन्तर्वार्ता गर्दा मैले उनलाई सोधेको थिएँ- लागतस्तर कम गर्न सस्तो विदेशी श्रममा भर पर्नुका अवाञ्छनीय ‘साइड इफेक्ट’ पनि थिए । आम्दानीको खाडललाई कम गर्न पुनर्वितरण नीति अवलम्बन गर्न सकिन्थ्यो । त्यो बेला पनि उनी आफ्नो विचारमा अडिग थिए । उनले हल्का आक्रोशित हुँदै भनेका थिए –‘त्यतिखेर त्यसो गर्नुको अर्को कुनै विकल्प थिएन।’

उनले भने–‘हामीले वृद्धिलाई दीगो राख्न सक्नेगरी छिटो अघि बढ्नुपर्छ । हामी आर्थिक वृद्धि गर्नसक्ने अवस्थामा छौं, तर वृद्धि रोज्दैनौं भने हामी मुर्ख हौं । त्यस्तो बेला हाम्रो वृद्धि सुस्त हुनेछ । रोजगार र तलब कम हुनेछ । यसरी यो वा त्यो घट्नु भनेको सबै चिज कम हुनु हो ।’

आज सिंगापुरका अधिकांश राजनीतिक विमर्श वृद्धिमा आधारित छैनन् । बरु निम्न आय भएका कामदारलाई कसरी सहयोग पुर्‍याउने भन्ने ठाउँमा केन्द्रित छन् । यसको अर्थ उच्च तहलाई धनी हुनुबाट रोक्ने हैन तर न्यून आय वर्गको उन्नतिको सवालले सबैलाई प्रभावित गर्दैछ ।

यसको अर्थ यो पनि हैन कि, लि क्वान यूलाई पिँधमा भएका तल्लो वर्गप्रति कुनै सरोकार थिएन। उनी र उनको टिमलाई नै त्यो जस दिन सकिन्छ, जसले स्वतन्त्रताको १५ वर्षभित्र सिंगो एक पुस्तालाई गरिबीबाट बाहिर निकालेको थियो ।

तर, उनले जटिलताभन्दा सरल विचारलाई समर्थन गरेका थिए । उनलाई सिद्धान्त वा तर्कको लालित्यमा रुचि थिएन । उनका लागि राष्ट्र–निर्माण एक अति मह, पूर्ण र जरुरी काम थियो र उनी परिणामका लागि अधिर थिए ।

सन् १९९७ मा प्रकाशित मेरो समेत सह–लेखनको अर्को पुस्तक ‘लि क्वान यु : द म्यान एन्ड हिज आइडिया’ मा उनको भनाइ यसरी राखिएको छ–‘हामी विचारधाराका लागि थिएनौं । म सिद्धान्त पढ्थें, हुन सक्दछ आधाजसो विश्वास गर्थें । तर, हामी पर्याप्त व्यावहारिक र प्रयोजनशील थियौं। सिद्धान्तद्वारा बाँधिएका वा त्यसका आदती थिएनौं । यदि, कुनै चिजले काम गर्दछ भने काम गर्न दिउँ । यही तरिकाबाट आजको हाम्रो अर्थतन्त्र विकास भएको हो । हाम्रो परीक्षणको एउटै आधार थियो, त्यसले काम गर्छ कि गर्दैन ? परिणाम दिन्छ कि दिँदैन ? के त्यसले जनतालाई फाइदा पुर्‍याउन सक्दछ ?’

ली व्यक्तित्वको शक्ति

सम्भवत: उनको सबैभन्दा सरलीकृत विचार नेतृत्वमा थियो । कुनै देशलाई राम्रो शासन-प्रशासन दिन राम्रा मान्छे चाहिन्छ । तिनलाई खोज र फेला पार । तिनलाई आकर्षक भुक्तानी देउ र यस्तो तरिकाले काम लगाऊ कि परिणाम निकाल्न सम्भव होस् ।

चिसा तर्कहरूले बहस गरेर मान्छेलाई काम लगाउन सकिँदैन । ली क्वान यूले आफ्नो व्यक्तित्वको बल प्रयोग गरेर बाटोका व्यवधानमा बुल्डोजर लगाए । मन्त्रीहरूलाई उच्च तलब दिने र काममा जोत्ने तरिका अवलम्बन गरे । उनी हुञ्जेल यो सूत्रले राम्रो काम गर्‍यो, तर आज पनि यसले उत्तिकै काम गर्दैछ भन्न सकिन्न, जबकि मन्त्रीहरूले अहिले पनि सापेक्षिक रूपमा राम्रै भुक्तानी पाइरहेका छन् ।

सिंगापुरको सफलताका लागि राजनीतिक नेतृत्वको भूमिका महत्त्वपूर्ण छ भन्ने धारणा अहिले पनि कायमै छ । यो उनको व्यक्तित्वको प्रभाव अहिले पनि उत्तिकै छ भन्ने कुराको साक्षी–प्रमाण हो । जस्तो कि उनका विचार योग्यतातन्त्र, अभ्रष्टता र बहुसाँस्कृतिकतावाद अझ पनि जीवन्त लाग्दछन् । जबकि, यसका नीतिहरू भने जनताका अपेक्षा र आवश्यकतालाई ध्यान दिएर परिवर्तन गरिएका हुन सक्दछन्।

‘ली क्वान यू : द म्यान एन्ड हिज आइडिया’ किताबका लागि सिंगापुरका पछिल्ला नीतिहरू के हुनुपर्दछ भन्ने प्रश्न सोध्दा उनी रिसाउँथे । भन्थे–‘यो प्रश्न मलाई हैन, युवा मन्त्रीलाई सोध्नुस् ।’ कहिलेकाहीँ उनी यो पनि भन्थे कि जमिनमा के भइरहेको छ, त्यो अहिले मलाई थाहा छैन, तसर्थ कुनै नीति सिफारिस गर्ने अधिकार पनि मसँग छैन ।

उनी सिद्धान्तमोहित नभएर काम गर्ने तरिकामा अडिग मान्छे भने थिएनन् । उनी योग्यतातन्त्र, अभ्रष्टता, सबल र परिणामुखी नेतृत्व र बहुसाँस्कृतिकतावादमा भने अडिग थिए।

उनी सबै कुरामा ठीक थिए भन्ने नि:सन्देह हैन । न्यून आयवर्ग परिवारका बालबालिकालाई सहयोग गर्न प्रारम्भिक प्रि-स्कुलको सवालमा उनी गलत सावित भएका थिए । उनले प्रि-स्कुलका खराबीबारे समाचार लेख्ने रिपोर्टर र सम्पादकहरूलाई पत्याएका थिए । उनी भन्थे कि, अभिभावकहरूले बेकारमा त्यस्ता स्कुलमा आफ्ना बच्चा पठाएर पैसा बर्बाद गर्दैछन् । उनी बच्चालाई त्यति सानो उमेरदेखि पढाउन जरुरी छैन, विद्यालयस्तरको शिक्षा नै पर्याप्त छ भन्ने ठान्थे । विद्यालयस्तरको ग्रेडलाई नै पर्याप्त ठान्थे ।

अध्ययनले पछि के देखायो भने यो सवालमा उनी गलत थिए । पछि सरकारले पाठ्यक्रम नै परिवर्तन गर्नुपर्‍यो । आज प्रि-स्कुल शिक्षाले सबैको ध्यान खिचेको मात्र छैन, यसले परिणाम पनि राम्रो दिँदैछ ।

फरक तर अझै उस्तै

उनले परिवर्तन गर्न नचाहेको एक महत्त्वपूर्ण विचार भने स्वयं सिंगापुर, सिंगापुर विचार हो । यो त्यस्तो देश हो जो देश हुने कुरामै शंका गरिन्थ्यो तर, उनले यसलाई तेस्रोबाट पहिलो विश्वमा पुर्‍याइदिए । यो कस्तो देश हो त ?

के यो व्यापक रूपान्तरणपछि सिंगापुरको विचारमा कुनै बद्लाब आएको छ ? सन् १९६५ मा स्वतन्त्रता प्राप्त गर्दाभन्दा अहिले यसको पहिचानमा के भिन्नता आएको छ वा छैन ? के अब सिंगापुरलाई धनी, अत्यधिक सुरक्षित र कम नाजुक स्थितिको देश मान्न सकिन्छ ?

तीव्ररूपमा परिवर्तन भइरहेको विश्व अनिश्चितताबीचमा सिंगापुरीहरूले यसको स्पष्ट जवाफ खोज्न आवश्यक छ । मलाई लाग्छ सायद ली क्वान यूले भन्ने थिए– सिंगापुरको नाजुकता अहिले पनि बदलिएको छैन ।

‘हार्ड ट्रथ टु किप, सिंगापुर गोइङ’ लेख्दा उनलाई हामीले सोधेका थियौं–‘तपाईंले सिंगापुरीहरूलाई चिनाउन, बुझाउन चाहनुभएको सिंगापुर कस्तो हो ?’

उनले भने–‘सिंगापुर एक चमत्कारजस्तो हो, लगभग चमत्कार भन्दा हुन्छ यसलाई । तपाईं जब यसभित्र आउनु हुन्छ, आफूलाई एक असाधारण र उत्कृष्ट संगठनमा सामेल भएको पाउनुहुनेछ । यो कुनै साधारण संगठनले सिर्जना गरेको हैन । यो एक विशिष्ट संलग्नताको उपज हो ।’

उनले थपे–‘सिंगापुर भाग्यको एक धक्का, एक कल्पनाशील, मौलिक र कडा मेहनत गर्ने समूहको कारणले बनेको हो । र मलाई लाग्छ सिंगापुर जारी रहन सक्दछ । सिंगापुर त्यतिबेलासम्म मात्र स्थिर र सुरक्षित रहन सक्दछ, जबसम्म यो उत्कृष्ट भइरहन्छ ।’

सिंगापुरका सबै चिज यही अपरिवर्तनीय सिंगापुरको केन्द्रीय विचारबाट प्रवाहित हुन्छन् । जस्तो कि, उनको एक प्रसिद्ध भनाइ छ–‘सिंगापुरलाई ठीकठाक राख्न उनी आफ्नो चिहानबाट बाहिर निस्कन परे निस्कनेछन् ।’

(एसीएनएबाट अनूदित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved