एसिया कप क्रिकेट : पाकिस्तानसँग नेपालको फराकिलो अन्तरको हार

नेपालभ्युज

एसिया कप क्रिकेट : पाकिस्तानसँग नेपालको फराकिलो अन्तरको हार

काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग फराकिलो अन्तरको पराजय व्यहोरेको छ ।

घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १०४ रन जोड्दा अलआउट भयो । र, २३८ रनले पराजित भयो ।

पाकिस्तानविरुद्ध बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा चुकेसँगै नेपालले ओडीआई इतिहासको सबैभन्दा खराब हार व्यहोर्‍यो । यो ओडीआईमा रनको हिसाबमा सबैभन्दा फराकिलो अन्तरको हार हो । यसअघि नेपाल वेस्टइन्डिजविरुद्ध १ सय १ रनले पराजित भएको थियो ।

नेपालका सोमपाल कामीले ४६ बलमा ४ चौकासहित सर्वाधिक २८ रन जोडे । खराब सुरुवात गरेको नेपालको लागि चौथो विकेटका लागि आरिफ शेख र सोमपाल कामीले ७८ बलमा ५९ रनको साझेदारी गरेका थिए । हरिस रौफको बलमा क्लिन बोल्ड भएका आरिफले ३८ बलमा ५ चौकासहित २६ रन बनाए ।

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरमै दुई विकेट लिएपछि नेपाल रक्षात्मक बन्यो । ओपनर कुशल भुर्तेलले अफ्रिदीलाई सुरुवाती दुई बलमा चौका प्रहार गरेका थिए ।। तर, उनी लेग साइडको पाँचौं बलमा एज लागेर विकेटकिपर मोहम्मद रिजवानबाट ९ रनमा क्याच आउट भए ।

लगत्तै अर्को बलमा रोहित पौडेल गोल्डेन डक आउट भए । गुलशन झा १३, दीपेन्द्रसिंह ऐरी ३, कुशल मल्ल ६, सन्दीप लामिछाने र ललित डक आउट भए भने करण ७ रनमा नट आउट रहे । पाकिस्तानका शादब खानले ४ तथा अफ्रिदी र हरिस रौफले दुई -दुई विकेट लिए ।

यसअघि नेपालले पाकिस्तानबाट ३४३ रनको विशाल लक्ष्य पाएको थियो । मुल्तान क्रिकेट मैदानमा पाकिस्तानले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा ३४२ रन बनाएको हो।

पाकिस्तानको लागि कप्तान बाबर आजम र इतिखार अहमदले शतकीय पारी खेले। आजमले १५१ रन बनाए। इफ्तिखार अहमदले भने अविजित १०९ रन बनाए। यी दुईले पाँचौँ विकेटको लागि २०० रनको साझेदारी गरे।

नेपालको लागि सोमपाल कामीले २, सन्दीप लामिछाने र करण केसीले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved