यस्तो छ चन्द्र अभियानको इतिहास, भारतको सफलता कति महत्त्वपूर्ण ?

चन्द्रयान–३ चन्द्रमाको दक्षिण ध्रुवमा सुरक्षित अवतरण गरेपछि भारतीय अन्तरिक्ष सफलताको कथाले विश्वभरि चर्चा पाएको छ। ठीक यस्तै सफलताको अपेक्षा गरिरहेको रुसमा भने निराशा छाएको छ । विश्वमा चन्द्र अभियानको इतिहास कस्तो छ ? अमेरिका र तत्कालिन सोभियत संघबीच चलेको प्रतिस्पर्धामा कसले बाजी मारेको थियो ? विस्तृतमा पढ्नुहोस ।

यस्तो छ चन्द्र अभियानको इतिहास, भारतको सफलता कति महत्त्वपूर्ण ?

काठमाडौं । अगष्ट २३, २०२३, बुधबार साँझ ६:०४ बजे चन्द्रयान–३ चन्द्रमाको दक्षिण ध्रुवमा सुरक्षित अवतरण गरेपछि भारतीय अन्तरिक्ष सफलताको कथाले विश्वभरि चर्चा पाएको छ। ठीक यस्तै सफलताको अपेक्षा गरिरहेको रुसमा भने निराशा छाएको छ ।

भारतीय चन्द्रयान–३ को सफल अवतरण भएको ठीक ५ दिनअघि अगष्ट १९, शनिबार बिहान ११:४५ बजे रुसको लुना-२५ भने चन्द्रमा अक्षमा दुर्घटना र सम्पर्कविहीन भयो । अगष्ट ११ मा लञ्च भएको लुना–२५ रकेट ६औं दिन अगष्ट १६ मा चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो । लुना-२५ त्यसको ५ दिनपछि ११ औं दिन अर्थात् अगष्ट २१ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुनुपर्ने थियो ।

भारतको चन्द्रयान-३ लाई चन्द्रमाका पुग्न ४१ दिन लाग्यो । चन्द्रयान-३ जुलाई १३ मा लञ्च गरिएको थियो । रुसले ४८ वर्षपछि पुनश्च चन्द्रमा पुग्ने प्रयत्न गरेको थियो । सन् १९७६ को लुना-२४ पछि रुसले चन्द्र अभियान स्थगन गरेको थियो ।

अझ रोचक कुरा अमेरिकाको यात्रुसहितको एपोलो–११ लाई चन्द्रमामा सुरक्षित अवतरण गर्न ३ दिन मात्र लागेको थियो । पृथ्वीबाट चन्द्रमाको दूरी करिब ३, लाख ८४ हजार किलोमिटर छ । पृथ्वी र चन्द्रमाबीचको सिधाबाटो तय गर्न शक्तिशाली रकेट इन्जिन भएको चन्द्रयान चाहिन्छ । जसले उच्च गुरुत्वाकर्षण भएको बिन्दुबाटै अक्ष परिवर्तन गर्न सक्दछ ।

भारतसँग त्यसप्रकारको बलियो रकेट इन्जिन थिएन । तसर्थ चन्द्रयान–३ ले पृथ्वीको अक्षमा धेरै दिन घुमेर कमजोर गुरुत्वाकर्षण बिन्दुबाट अक्ष परिवर्तन गर्नु परेको थियो। यो विधिलाई ‘वाई-इलिप्टिक ट्रान्सफर’ भनिन्छ । यो विधिमा धेरै दिन लागे पनि निक्कै सस्तो हुन्छ । अमेरिकाले एपोलो कार्यक्रमा प्रयोग गरेको प्रविधि भने निक्कै महङ्गो हो ।

रुसले प्रयोग गरेको रकेट इन्जिन भने त्यति शक्तिशाली थिएन, जुन सोभियतकालमा प्रयोग हुन्थ्यो । सोभियत संघको विघठनपछि रुसको यो पहिलो प्रयत्न थियो। रुस चन्द्र अभियानमा आफ्नो पहिलो प्रयत्नमा नै असफल भयो तर संसारमा अन्तरिक्ष अभियान प्रारम्भ गर्ने पहिलो देश रुसको पूर्ववर्ती राज्य सोभियत संघ नै थियो ।

मानव जातिले अन्तरिक्षमा पठाएको पहिलो यान स्पुतनिक-१ थियो, जो सन् १९५७ अक्टोबर ४ मा लञ्च गरिएको थियो । सोभियत संघको यो सफलतापछि सन् १९५८ बाट संयुक्त राज्य अमेरिकाले पनि अन्तरिक्ष दौड सुरू गर्‍यो।

सन् १९६१ को अप्रिल १२ मा सोभियत संघका युरी गागरिन भोस्तोक-१ मा सवार हुँदै पृथ्वीको अक्षमा १०८ मिनेट बिताएका थिए । उनी संसारकै पहिलो अन्तरिक्ष यात्री कहलिए । दूर्भाग्य सन् १९६८ मा एक सोभियत सैनिक विमान दुर्घटनामा ३४ वर्षको कलिलो उमेरमै उनको निधन भयो ।

युरी गागरिनले अन्तरिक्षको यात्रा गरेको दुई वर्षपछि सन् १९६३, जुन ९ मा सोभियत एयरफोर्सकी विमान चालिका भ्यालेन्तिना तेरेस्कोभाले भोस्तोक–७ मा एक्लै पृथ्वीको अक्षमा ७० घन्टासम्म चक्कर लगाएर पहिलो महिला अन्तरिक्ष यात्रीको अभिलेख सोभियत संघकै नाममा राखिन् । त्यो बेला उनी २६ वर्षकी मात्र थिइन् । उनी यद्यपि जीवित छन् । अहिले राष्ट्रपतिको पार्टी रसिया युनाइडेट कि सदस्य छन् ।

त्यसपछि सुरू भयो सोभियत संघको लुना र अमेरिकाको रेन्जर कार्यक्रमको प्रतिस्पर्धा र दौड । यी दुवै चन्द्र अभियान थिए तर, मानवरहित यान पठाउने अभियान ।

सोभियत अन्तरिक्ष यानका मुख्य डिजाइनर इन्जिनियर सेर्गेइ कोरोनेभ थिए भने अमेरिकी रकेट प्रविधिका पहिलो प्रयोगकर्ता नाजी जर्मन पराजित भएपछि अमेरिकी सेनामा समेल भएका एक जर्मन वैर्नर भो ब्राउन ।

सन् १९५९ जनवरी २ मा सोभियत संघले लुना-१ लञ्च गर्‍यो । तर, यो मिसन सफल भएन । चन्द्रमाको सतहमा पुग्नु करिब ६ हजार किलोमिटर बाँकी छँदै यान दुर्घटनामा परेर सम्पर्कविहीन भयो ।

लुना-३ वाट मात्र सोभियत संघले चन्द्रमामा मानवरहित यान अवतरण गराउन सफलता पायो । यो यान सन् १९६९ अक्टोबर ४ मा लञ्च भएको थियो । ३ दिन पछि अक्टोबर ७ बाट यसले चन्द्रमाको फोटो पठाउन थालेको थियो भने १८ दिनपछि सम्पर्कविहीन भयो ।

सन् १९६० बाट लञ्च हुन थालेका रेन्जर शृङ्खलामा अमेरिकाले रेन्जर १-६ सम्म लगातार असफलता बेहोर्‍यो । रेन्जर–७, ८ र ९ भने सफल भए । त्यसपछि सन् १९६१ को मे २५ मा अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले घोषणा गर्दिए–अमेरिकाले १० वर्षभित्र मानवसहितको चन्द्रयान पठाउनेछ र यात्रुलाई सकुशल फिर्ता ल्याउने छ । केनेडीको यो घोषणापछि रेन्जर शृङ्खला स्थगित भयो र सुरू भयो एपोलो अन्तरिक्ष कार्यक्रम ।

अमेरिकाले सन् १९५९ मा नासा गठन गरेको थियो र सोही वर्षको अक्टोबर महिनाबाट यसले काम सुरू गरेको थियो ।

एपोलो–१ पहिलो मानव यात्रुसहितको चन्द्र यान हुनेवाला थियो तर, दूर्भाग्य त्यो असफल भयो । फेब्रुअरी २१, १९६७ का दिन यसको लञ्च हुने तय थियो । तर परिक्षणको अवस्थामा जनवरी २७ मा यो दूर्घटनामा पर्‍यो । यसका तीन निर्धारित यात्री ग्रस ग्रिसोम, इड ह्वाइट र रोगर चाफी यो दुर्घटनामा मारिए ।

अन्ततः आयो एपोलो ११ जसले मानव जातिको इतिहासमा पहिलो मानवसहितको चन्द्रयान बन्ने अवसर पायो । सन् १९६९ जुलाई १६ का दिन एपोलो ११ लञ्च भयो । यसमा तीन यात्री थिए– नील आर्मस्ट्रोङ, बुज अल्ड्रिन र माइकल कोलिन्स । तर, आर्मस्ट्रोङ र अल्ड्रिन लुनर मोडुलर खण्डमा थिए भने माइकल कोलिन्स कोलम्बिया नाम दिइएको खण्डमा थिए । चन्द्रमाको अक्षमा पुगेपछि यो खण्ड फिर्ता हुन्थ्यो ।

अन्ततः ३ दिनपछि जुलाई २० मा चन्द्रमामा दुई व्यक्ति उत्रिए, नील आर्मस्ट्रोङ र बुज अल्ड्रिन। नील आर्मस्ट्रोङ चन्द्रमामा पाइला टेक्ने पहिलो व्यक्ति मानिए । आर्मस्ट्रोङ र बुजले चन्द्रमाबाट राष्ट्रपति रिचार्ड निक्सनसँग टेलिफोनमा कुराकानी गरेका थिए । जुलाई २४ मा उनीहरू पृथ्वीमा फर्किए । यो मिसन ८ दिन, ३ घण्टा १८ मिनेट ३५ सेकेन्डमा पूरा भयो ।

सन् १९७२ मा अमेरिकाले एपोलो कार्यक्रम बन्द गर्नुअघि १२ अमेरिकी चन्द्रमा पुगेर सकुशल फर्किएका छन् । मानवसहितको चन्द्रयान पठाउने र अवतरण गरी सकुशल फिर्ता ल्याउने अभिलेख अहिलेसम्म अमेरिकाको नाममा मात्र छ ।

ती अमेरिकी हुन् एपोलो ११ का नील आर्मस्ट्रोङ र बुज अल्ड्रिन, एपोलो १२ का पिटे कोनार्ड र एलान बेल, एपोलो १४ का एलन सेफर्ड र इगर मिचेल, एपोलो १५ का डेविट स्कट र जेम्स इर्विन, एपोलो १६ का जोन यङ र चार्ल्स ड्युक, एपोलो १७ का जेने सेर्नान र ह्यासिन स्मिट ।

जसरी नील आर्मस्ट्रोङलाई चन्द्रमामा पाइला टेक्ने पहिलो मानव मानिन्छ त्यस्तै ह्यारिसन स्मिट अहिलेसम्म अन्तिम चन्द्रयात्री हुन् । एपोलो १३ भने अवतरण गर्न असफल भएर फर्किएको थियो । जसमा रहेका जीम लोवेल र ज्याक स्वीवर्डले चन्द्रमामा पाइला टेक्न त पाएनन् तर सकुशल धर्तीमा फिर्ता भने आए ।

सन् १९७२ मा अमेरिकाले एपोलो कार्यक्रम स्थगन गर्‍यो भने सोभियतले लुना–२४ पछि सन् १९७६ मा अभियान स्थगन गर्‍यो । सोभियत संघले भने मानवसहितको चन्द्रयान पठाउने प्रयत्न नै गरेन ।

सोभियत संघ र अमेरिकापछि चन्द्र अभियानको प्रयत्न गर्ने देश जापान र युरोपेली संघ थिए । जापानको हिटेन सन् १९९३ को अप्रिल १० मा दुर्घटनाग्रस्त भएपछि उसले प्रयत्न गरेको छैन । युरोपियन स्पेश एजेन्सीले सन् २००७ को सेप्टेम्बरमा लञ्च गरेको स्मार्ट–१ पनि असफल भएको थियो । यी दुवै यान मानवरहित थिए ।

सन् २००४ बाट चीन यो प्रक्रियामा प्रवेश गर्‍यो । सन् २००७ को अक्टोबर २४ मा चीनले पहिलो चन्द्रयान चाङगी–१ लञ्च गर्‍यो । सुरक्षित अवतरण भएर पनि यो लामो समय सम्पर्कमा रहेन । चाङगी–२ सन् २०१० अक्टोबर १ मा लञ्च भयो । यो ४ दिन १६ घन्टामा चन्द्रमाको अक्षमा प्रवेश गरेको थियो। चीनको पछिल्लो चन्द्रयान चाङगी–४ हो, जो सन् २०१८ को डिसेम्बर ७ मा लञ्च भई जनवरी ३ सन् २०१९ मा अवतरण गरेको थियो ।

चन्द्र अभियानमा भारतको भने यो पहिलो सफलता हो । चन्द्रयान–३ अघि भारतका दुई प्रयत्न असफल भएका थिए । सन् २००८ मा चन्द्रयान १ र सन् २०१९ को चन्द्रयान २ असफल भएका थिए।

सोभियत संघको विघठनपछि रुस चन्द्र अभियानमा अहिलेसम्म सफल नभएको र अगष्ट ११ को उसको पहिलो अभियान नै असफल भएको मान्ने हो भने संसारका ३ देश मात्र अब चन्द्र अभियानमा सफल छन्– अमेरिका, चीन र भारत । रुसलाई सोभियत संघको उत्तराधिकार मान्ने हो भने रुस समेत ४ देश हुन्छन् ।

तर, मानव यात्रीसहितको यान चन्द्रमामा अवतरण गर्ने र पृथ्वीमा फिर्ता ल्याउने सफलताको कीर्तिमान भने अहिलेसम्म अमेरिकाको बहीखातामा मात्र छ ।

अन्तर्राष्ट्रिय प्रतिष्ठा र शक्ति राष्ट्रको दौडमा भारतीय आत्मविश्वासका लागि चन्द्रयान–३ निक्कै ठूलो सफलता हो तर, अन्तरिक्ष प्रविधिको इतिहास र अभिलेखमा भने यो धेरै ठूलो र महत्त्वपूर्ण कुरा हैन ।

किनकि सोभियतकालीन, अमेरिकी र चिनियाँ प्रविधि भारतको भन्दा निक्कै उन्नत र द्रुत हो । तर, लागत प्रभावकारिताका दृष्टिबाट भारतले सबैलाई उछिनेको छ । भारतले ६१५ करोड रुपैयाँमा यो मिसन पूरा गरेको छ । जबकी अन्य देशका अभियान योभन्दा कयौं गुणा बढी लागतमा तयार भएका थिए । यसले भारतलाई नयाँ आत्मविश्वास दिएको छ ।

पृथ्वी र चन्द्रमाबीच सिधा दूरी तय गर्न सक्ने रकेट र मानवयात्रीसहितको चन्द्रयान अरुसँग नहुञ्जेल यो क्षेत्रको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिका नै मानिने छ । यद्यपि सन् १९७२ मा स्थगन भएको एपोलो अभियानपछि अमेरिकाले कुनै नयाँ अभियान सुरू गरेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved