बन्दीको मृत्युसँगै बाल सुधार गृहमा तोडफोड, छानबिन समिति गठन

नेपालभ्युज

बन्दीको मृत्युसँगै बाल सुधार गृहमा तोडफोड, छानबिन समिति गठन

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहेका एक युवकको आइतबार रहस्यमय ढङ्गले मृत्यु भएको छ । मृत्युपछि गृहमा तोडफोड भएको छ ।

बलात्कार आरोपमा थुनामा रहेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको रहस्यमय ढङ्गले मृत्यु भएको भन्दै निजका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गर्नुका साथै तोडफोडमा उत्रिएका थिए ।

बालसुधार गृहभित्र रहेका बस्नेतको मृत्युपछि सुधार गृहमा रहेका पुरुष थुनुवाले भित्रैबाट र मृतकका आफन्तले बाहिरबाट नाराबाजी गरेका थिए ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रजित केसीले जिल्ला प्रहरी कार्यालय रामेछापबाट विसं २०७७ जेठ २९ गते जबरजस्ती करणी मुद्दाका कारण सुधार गृहमा राखिएका बस्नेतको अचानक बेहोस भएपछि उपचारका लागि गठ्ठाघरस्थित नागरिक अस्पतालमा लगिएकोमा त्यही मृत्यु भएको जानकारी दिए ।

मृतकको बाया खुट्टाको तिघ्रामा पिलो आएको र पहिलादेखि नै आँखामा समस्या रहेको तर बेहोसको कारण खुल्न नसकेको भन्दै घटनाबारे आवश्यक छानबिन गरिरहेको उनले बताए ।

सुधार गृहले आज परिवारलाई मृत्यु भएको खबर दिए पनि कारण स्पष्ट नगराएको र रहस्यमय भएको भन्दै आफन्तले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्ति माग गर्दै नाराबाजी गरेका थिए ।

जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले घटनाबारे यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

बाल सुधार गृहमा क्षमताभन्दा बढी बालबन्दी रहेका छन् । यहाँ दुई सय १० जनाको क्षमता रहेपनि हाल तीन सय बन्दी रहेका छन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved