काठमाडौंका यी स्थान डुबानको उच्च जोखिममा

नेपालभ्युज

काठमाडौंका यी स्थान डुबानको उच्च जोखिममा

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढी र डुबानको उच्च जोखिम भएका १०७ स्थानको लगत तयार पारेको छ ।

वर्षातको पानी, ढल ओभरफ्लो हुँदा, खहरे खोला, पानीको बहाब बढ्दा, वर्षाको पानीको निकास पूर्णरूपमा नहुँदा, भेल र ढल निकास नभएका कारणले गर्दा महानगरका धेरै जसो क्षेत्रहरू डुबानमा पर्ने गरेको महानगरको विपद् व्यवस्थापन विभागका प्रमुख देवेन्द्र पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार प्रारम्भिक रूपमा वडाहरूबाट ९५ स्थानमा डुबानको समस्या झेलिरहेका छन्।

बाँकी विवरण महानगर आफैंले तयार गरेको हो। महानगरपालिकाको विपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख समेत रहेका नगर प्रहरी उपरीक्षक विष्णु जोशीका अनुसार वडा नम्बर १ मा हुँदै बग्ने टुकुचा खोलानजिक नारायणहिटी दरबारको उत्तरतर्फ धोबीधारा सडक, नक्साल भगवतीबहाल चोक, केशरमहल र जमल क्षेत्रमा वर्षासँगै ढल ओभरफ्लो हुँदा डुबान हुने गर्छ।

वडा नम्बर ४ मा विभिन्‍न ७ स्थानमा खहरेसँगै आउने ढलले डुबान हुने गर्छ। गत साउन २ गते सो वडामा पर्ने इच्छुमती मार्ग–चिनियाँ दूतावास पश्चिम,तल्लो बालुवाटार क्षेत्र ढलका कारण डुबानमा परेको महानगरको विपद् व्यवस्थापन विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ। साउन १ गते बर्सातसँगै खहरे खोलाका कारण वडा नम्बर ६ मा पाटीटार, सरस्वती नगर, शान्तिनगर, रामनगरलगायतका स्थानमा डुबानमा परेको थियो।

वर्षाका कारण कुमारी गाल, गौरीघाट, गंगाहिटी, गोपीकृष्ण, साततले एरिया क्षेत्रमा डुबानमा पर्दै आएको छ। विपद् व्यवस्थापन विभागका अनुसार वडा नम्बर ८ मा पर्ने पन्चकन्या टोल र गुहेश्वर टोल क्षेत्रमा बौद्ध हुँदै आउने आकाशे पानीका कारण डुबानमा पर्ने गरेको छ।

यस्तै, वडा नम्बर १६ मा पर्ने सोह्रखुटे गणेस्थान मार्गभित्रको क्षेत्र, ऐराहिटी, ढुंगेधारा क्षेत्र, खरिबोट क्षेत्र वर्षा हुनेबित्तिकै डुबानमा पर्ने गर्छ। विष्णुमती नदीमा बहाव बढ्दा १६ र १७ नम्बर छुट्याउने नयाँ पुलदेखि प्रहरी बिटसम्म, क्वाःबहाल, ढल्कोस्थित बुद्ध गल्ली क्षेत्र डुबानमा पर्ने गर्छ। कालोपुलदेखि रातेपुलसम्म डिल्लीबजार पिपलबोटदेखि सेतोपुल क्षेत्रसम्म वर्षातको पानी पूर्ण रुपमा निकास नहुँदा जनतामार्ग, पञ्चकुमारी मार्ग, पवन मार्ग, सहिद मार्गलगायतका क्षेत्रमा डुबानमा पर्छन्।

विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि भनेर महानगरले विपद् व्यवस्थापन कोष पनि बनाएको छ। कुनै स्थानमा तत्काल डुबान भए तत्कालनै राहत वितरण भने महानगरले गरेको छैन। यस्तै, स्तरसम्म विपद् व्यवस्थापन समिति गठन गरिएपछि उनीहरूलाई त्यससम्बन्धीको ज्ञान नै नभएको पाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved