नियमित हवाई उडान गर्न कर्णाली प्रदेश सरकारको माग

नियमित हवाई उडान गर्न कर्णाली प्रदेश सरकारको माग

सुर्खेत। कर्णाली प्रदेश सरकारले कर्णालीका हिमाली तथा दुर्गमका जिल्लामा नियमित हवाई उडान गर्न माग गरेको छ । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नियमित हवाई उडान गर्नका लागि नेपाल सरकारसँग माग गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेदेखि १२ बजेपछि उडान गर्न नपाउने निर्णय गरेका कारणले कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, डोल्पा र मुगुमा १३ साउनबाट कर्णालीमा हवाई सेवा प्रभावित भएको छ ।

कर्णालीका हिमाली तथा पहाडी जिल्लामा सडक सञ्जालको भरपर्दो माध्यम नभएका र वर्षाका कारणले सडक अवरुद्ध भइरहने कारणले नियमित हवाई उडान गर्न माग गरिएको कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. विनोदप्रसाद देवकोटाले बताए ।

‘नेपाल नागरिक उड्डयन प्राधिकरणले भदौ १२ गते गरेको निर्णयको असर कर्णाली प्रदेशमा बढी परेको छ ।’ उनले भने,‘अत्यावश्यक तथा आकस्किम खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा प्रवाह र प्राकृतिक प्रकोपबाट पीडितलगाएतका सेवा उपलब्ध गराउन कठिन बनेको छ ।’

डोल्पामा एक महिनापछि जहाज

मौसम सुधारसँगै डोल्पाको जुफाल विमानस्थल जहाज पुगेको छ । नेपालगञ्ज डोल्पा आउने जहाजको आकाशे मार्ग अवरुद्ध भई २६ दिनसम्म हवाई सेवा बन्द भएको र मौसममा सुधार आई आकाश खुलेसँगै बुधबार नेपालगञ्जबाट डोल्पाको लागि तारा एयरलाइन्सको जहाजले एउटा उडान भरेको नेपाल नागरिक उड्डयन प्राधिकरण डोल्पाका प्रमुख अमितकुमार चौरसियाले बताए ।

‘मौसममा सुधार आएपछि उडान भएको तर प्राधिकरणले बिहान ६ बजेपछि दिउँसो १२ बजेसम्म मात्र उडान गरिने गरी बनाएको मापदण्डमा फेरबदल छैन ।’ उनले भने,‘यसको असर नागरिकमा स्वाभाविकै रूपमा परेको छ ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved