कोशीको कामचलाउ मुख्यमन्त्री को ? प्रदेश प्रमुखले साँधे मौनता !

नेपालभ्युज

कोशीको कामचलाउ मुख्यमन्त्री को ? प्रदेश प्रमुखले साँधे मौनता !

विराटनगर । कोशी प्रदेशको कामचलाउ मुख्यमन्त्री को ? अन्योलता छ । यसमा प्रदेश प्रमुख परशुराम खापुङले पनि कुनै निर्णय दिएनन् । ४ दिनभित्र मुख्यन्त्रीमा दाबी गर्न आह्वान गरेका प्रमुख खापुङले कामचलाउ मुख्यमन्त्रीबारे भने मौनता साँधे, बोलेनन् ।

यसअघि बिहीबार मात्रै सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापाको नियुक्त बदर गर्‍यो भने हिक्मत कार्कीलाई परमादेश पनि दिएन । यस्तो अवस्थामा कामचलाउ मुख्यमन्त्री को हुने भन्ने सन्दर्भमा अन्योलता भएको हो ।

त्यसो त संविधानले सरकारको नेतृत्व ‘रिक्कता’को परिकल्पना गरेको छैन । यस्तो अवस्थामा कामचलाउ मुख्यमन्त्री हुनैपर्‍यो । तर, को ? अन्योलता कायमै छ । त्यसमाथि सबैले आ-आफ्नो तरिकाले अर्थ्याउन थालेका छन् ।

महान्यायाधिवक्ता दीनमणि पोखरेलसहित सरकारी वकिलहरूले कोशीमा कामचलाउ मुख्यमन्त्रीका रूपमा उद्धव थापा नै रहने जिकिर गर्छन् । एक सरकारी वकिलको भनाइ छ, “काममचलाउ मुख्यमन्त्रीका रूपमा उद्धव थापा नै रहिरहन्छन् अर्को सरकार नबनिन्जेलसम्मका लागि ।”

राप्रपालाई सभामुख दिएर फकाउने दाउमा गठबन्धन, एमाले फाल्दैछ ‘कांग्रेस कार्ड’

तर, यता संविधानविद् डा. भीमार्जुन आचार्य भने कामचलाउ मुख्यमन्त्रीका रूपमा उद्धव थापाभन्दा अगाडि मुख्यमन्त्री रहेका हिक्मत कार्की नै रहने बताउँछन् । “उद्धव थापा मुख्यमन्त्री नै भएनन् । उहाँ मुख्यमन्त्री बन्ने प्रक्रिया नै असंवैधानिक भएपछि उहाँलाई मुख्यमन्त्री मान्नुभएन । संविधानको मर्म त्यही हो,” आचार्यले भने ।

यता वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई पनि आचार्यकै कुरा सही मान्छन् । नियुक्ति कै खारेज भइसकेपछि त्यो नियुक्ति नै अवैधानिक भएको उनको अर्थ्याइँ छ ।

कोशी प्रदेश : ४ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

काठमाडौंमा रहेका एमाले नेतासमेत रहेका पूर्वमुख्यमन्त्री हिक्मत कार्की शुक्रबार बिहानमात्रै विराटनगर आएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जाने भनेर काठमाडौंबाट आएका कार्की अहिले निजी निवासमै छन् । उनलाई विमानस्थलमा कार्यालयका केही कर्मचारीहरूले स्वागत गरेका थिए । तर, धेरै कर्मचारिहरू भने कार्कीको स्वागतमा पुगेनन् । उनी त्यहाँबाट प्रमुख प्रतिपक्ष दलको नेताका रूपमा चढ्दै आएको स्कर्पियो गाडी नै चढेर निजी निवासतिर सोझिएका छन् ।

स्रोतकाअनुसार उनले आफू नै कामचलाउ मुख्यन्त्री हुनुपर्ने र मुख्यमन्त्री चढ्ने झण्डावाला गाडी र सुरक्षाकर्मीका साथ मात्रै कार्यालय जाने बताएका छन् । जुन, अहिले उद्धव थापाले नै प्रयोग गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved