कोशी प्रदेश सरकार

राप्रपालाई सभामुख दिएर फकाउने दाउमा गठबन्धन, एमाले फाल्दैछ ‘कांग्रेस कार्ड’

सर्वोच्च अदालतले ७ दिनभित्र नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसारको नयाँ सरकार गठन गर्न आदेश दिएको छ । यससँगै प्रादेशिक गठबन्धनमा छलफल सुरू भएको छ । गठबन्धनमा मूलत: दुईवटा विकल्पबारे छलफल भइरहेको छ ।

नेपालभ्युज

राप्रपालाई सभामुख दिएर फकाउने दाउमा गठबन्धन, एमाले फाल्दैछ ‘कांग्रेस कार्ड’
विराटनगर । २० दिनमै उद्धव थापा नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेशमा राजनीतिक संकट बढेको छ । यहाँ फेरि कसले, कसरी सरकार बनाउने भन्ने अन्योल थपिएको छ ।
सर्वोच्च अदालतले ७ दिनभित्र नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसारको नयाँ सरकार गठन गर्न आदेश दिएको छ । यससँगै प्रादेशिक गठबन्धनमा छलफल सुरू भएको छ । गठबन्धनमा मूलत: दुईवटा विकल्पबारे छलफल भइरहेको छ । गठबन्धनसम्बद्ध नेकपा (माओवादी केन्द्र) का एक सांसदका अनुसार गठबन्धनमा दुई विकल्पबारे छलफल भइरहेको हो ।

पहिलो विकल्प— राप्रपालाई गठबन्धनमा सामेल गराउने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग प्रदेश सभामा ६ सांसद छन् । उसलाई गठबन्धन सामेल गराउन प्रयास गर्नेबारे गठबन्धनले छलफल गरेको छ । यद्यपि यसअघि पनि यो प्रयास गठबन्धनले नगरेको भने होइन । त्यसबेला राप्रपा मानेको थिएन । यसपटक मान्छ त ? भन्ने प्रश्नमा माओवादी केन्द्रका ती सांसद भन्छन्, “यसपटकचाहिँ मान्छ र मान्नुपर्छ ।”

राप्रपा मान्छु भन्नुको तात्पर्य उनी प्रष्ट्याउँछन् । “उसलाई रोजेको मन्त्रालय र सभामुख दिनेगरी ल्याउन सकिन्छ, अहिलेको छलफल त्यहीँ हो । राप्रपा आउनसक्छ । यसबारे राप्रपाका केही नेताहरूसँग सकारात्मक छलफलसमेत भएको छ,” उनले भने ।

राप्रपा गठबन्धन सामेल भयो भने सभामुख बाबुराम गौतमलाई राजीनामा गराउने गठबन्धनको तयारी छ । र, सभामुख राप्रपालाई दिने तयारी गठबन्धनको छ । ती सांसद अब नैतिकताको हिसाबले पनि सभामुख गौतमले राजीनामा दिनुपर्ने बताउँछन् । “अब अदालतले उहाँको कदम गलत भनेर सच्याइसकेको अवस्थामा उहाँले नैतिकताको हिसाबले पनि राजीनामा बुझाउनुपर्छ,” उनले भने ।

सभामुख र रोजेको मन्त्रालय दिँदा राप्रपा गठबन्धनमा सामेल हुने ती सांसदको दाबी छ । मुख्यमन्त्री नै चाहिँ दिन नसकिने उनको भनाइ छ । सम्वर्द्धनवादी शक्ति र प्रादेशिक संरचनाको खारेजको माग गर्ने दल हुनाले प्रदेशको नेतृत्व सुम्पिन भने नसकिने भनाइ ती सांसदको छ ।

दोस्रो विकल्प— सभामुखलाई राजीनामा गराउने ।

पहिलो विकल्पबाट पार नलागे दोस्रो विकल्पबाट सरकार निर्माण गर्ने गठबन्धनको तयारी छ । गौतमले सभामुखबाट राजीनामा दिएर सांसदकै हैसियतमा रहे सरकार भने बन्छ । यसअघिको सरकार निर्माण प्रक्रियामा पनि उनको सहभागिता भने थियो तर, राजीनामा नबुझाइकन । त्यसैले पनि अहिले उद्धव थापा नेतृत्वको सरकार ढलेको हो । तर, अब भने दोस्रो विकल्पका रूपमा राजीनामा गर्न लगाउने गठबन्धनको तयारी छ ।

कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राई यही विकल्प सुनाउँछन् । “सभामुखले राजीनामा गराएरै भएपनि सरकार गठबन्धनकै नेतृत्वमा बन्छ । कांग्रेसकै नेतृत्वमा बन्छ,” उनले भने । गठबन्धनले भनेझैँ सभामुख गौतमले राजीनामा दिए सरकार गठबन्धनकै पक्षमा बन्छ । गठबन्धनसँग ४७ सांसद हुन्छन् । जुन ९३ सदस्यीय प्रदेशसभामा सरकारमा दाबी गर्न पुग्ने सांसद सङ्ख्या हो । यद्यपि ‘इजी मेजरिटी’ भने होइन ।

सभामुख गौतमले पनि यसअघि नै वचन छाडिसकेका छन् । अन्तिम विकल्पका रूपमा आफू राजीनामा बुझाउनसमेत तयार रहेको उनले बताएका थिए । त्यसो त उनीमाथि गठबन्धनभित्रैबाट नैतिकताको प्रश्न उठ्न थालेको छ । यस्तो अवस्थामा उनले सहजरूपमा राजीनामा बुझाउने गठबन्धनका नेताहरू बताउँछन् ।

एमालेको ‘मुख्यमन्त्री’ कार्ड

यता कांग्रेस नेतृत्वको सरकारविरुद्ध सर्वोच्च अदालत पुगेको नेकपा (एमाले) भने कांग्रेससँगै मिलेर सरकार बनाउन तयार रहेको बताउँछ । अझ मुख्यमन्त्री कांग्रेसलाई नै दिन सकिने एमालेको भनाइ छ ।

शुक्रबार मात्रै काठमाडौंबाट विराटनगर पुगेका एमाले कोशीका संसदीय दलका नेता हिक्मत कार्कीले भने, “कांग्रेसलाई नै मुख्यमन्त्री दिएर सरकार बनाउन हामी तयार छौँ, एमाले तयार छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved