बुटवल उपमहानगरले ल्यायो ‘एआई च्याटबट’ सेवा

नेपालभ्युज

बुटवल उपमहानगरले ल्यायो ‘एआई च्याटबट’ सेवा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज र सरल बनाउन ‘एआई च्याटबट’ सेवा सञ्चालनमा ल्याएको छ ।

बुटवल उपमहानगरपालिकाबाट प्रदान हुने सेवा, सुविधा र अन्य जानकारीलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सँग जोडेर उपमहानगरपालिकाले ‘च्याटबट’ सेवा सञ्चालनमा ल्याएको हो ।

बुटवल नामको च्याटबटको आज बुटवल नगरप्रमुख खेलराज पाण्डेले ‘नमस्कार, जन्मदर्ता गर्न के गर्नुपर्छ ?’ भन्ने प्रश्न च्याटबटसँग सोधेर शुभारम्भ गरे ।

त्यस अवसरमा प्रमुख पाण्डेले उपमहानगरपालिकाका हरेक सेवा र सूचनामा आम जनताको पहुँचलाई सहज र सरल बनाउनका लागि सेवा सञ्चालनमा ल्याइएको बताए । उनले नगरप्रमुखदेखि वडाध्यक्षसम्मका जनप्रतिनिधिको जानकारी, सम्पर्क, दैनिक गतिविधि, योजना कार्यान्वयनको अवस्था, नगरमा के काम भइरहेको छ, कहिले सकिन्छ, कुन कुन काम कसरी हुन्छन् भन्ने जस्ता जानकारी र जनताका गुनासो र सम्बोधनको समन्वयको भूमिका निर्वाह गर्ने गरी च्याटबटलाई सुधार गर्दै लैजाने बताए ।

नगरप्रमुख पाण्डेले नगरलाई अग्रणी सहरका रूपमा स्थापित गर्नका लागि सूचना, प्रविधिको अधिकतम उपयोग गर्न नगरवासीलाई प्रेरित गर्ने र सूचना र सञ्चारमाध्यमबाट अधिकतम लाभ हासिल गर्न सकिने गरी उद्यमसँग जोड्ने गरी काम गरिरहेको बताए ।

कार्यक्रममा च्याटबटको उपयोगिताबारे जानकारी दिँदै युएनडिपीका प्रदेश प्रमुख सुदीप अर्यालले देशमै पहिलोपटक स्थानीय सरकारले सामाजिक सञ्जालमा आधारित च्याटबट सञ्चालनमा ल्याएको र यसले देशभर नयाँ सन्देश दिने बताए । उनले सूचना र सञ्चारको उपयोगबाट सरकारी सेवालाई सहज र सरल बनाउने काममा बुटवलले अगुवाइ सुरु गरेको र यसले जनतालाई लाभ पुग्ने बताए ।

एआई च्याटबट बुटवल उपमहानगरपालिकाको नेपाली र अङ्ग्रेजीमा ‘बुटवल उपमहानगरपालिका’ नामको फेसबुक पेजबाट सेवाबारे जानकारी लिन सकिने उपमहानगरपालिकाका सूचना प्रविधि शाखाका प्रमुख रोशन रेग्मीले बताए ।

एआई च्याटबटबाट अहिले नागरिक बडापत्रबारे जानकारीमूलक विषय राखिएको र आगामी दिनमा थप सेवा र सुविधाबारे जानकारीहरू थप गर्दै जाने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved