पेम जामलाई भेट्न लुनाना जाने होइन त ?

बर्लिन इन्टर्नेशनल फिल्म फेस्टिभलमा प्रिमियर गरिएको लुनानामा आखिर के को कथा छ त ? के यो एउटा याकको कथा हो ? होइन, तर हुन पनि सक्छ ! के यो एउटा क्लासरुमको कथा हो ? ठ्याक्कै त होइन, तर नहुन पनि सक्दैन ! लुनानामा के छ त्यस्तो जसले भुटानलाई ९४ वर्षमा पहिलो पटक ओस्कारमा छिराउन सक्यो !

पेम जामलाई भेट्न लुनाना जाने होइन त ?

सन् २०२२ को ओस्कारमा उत्कृष्ट विदेशी फिचर फिल्मका लागि मनोनयनमा पर्न सफल भुटानी फिल्म ‘लुनाना: अ याक इन द क्लासरुम’ निर्देशक पाओ छ्योइङ दोर्जीको पहिलो फिचर फिल्म हो।

भुटानबाट ओस्कार छिर्न सकेको यो पहिलो फिल्म हो। यसअघि निर्देशक पाओ दोर्जीकै गुरू खेन्त्से नोर्बु रिम्पोचे निर्देशित ‘द कप’ पनि ओस्कारका लागि पठाइएको भने थियो। ओस्कारमा लुनाना मनोनीत मात्रै हुनुले पनि भुटानका लागि ठूलो अर्थ राखेको छ।

बर्लिन इन्टर्नेशनल फिल्म फेस्टिभलमा प्रिमियर गरिएको लुनानामा आखिर के को कथा छ त? के यो एउटा याकको कथा हो? होइन, तर हुन पनि सक्छ! के यो एउटा क्लासरुमको कथा हो? ठ्याक्कै त होइन, तर नहुन पनि सक्दैन! लुनानामा के छ त्यस्तो जसले भुटानलाई ९४ वर्षमा पहिलो पटक ओस्कारमा छिराउन सक्यो!

लुनानामा नौलो कथा छैन। कमसेकम भुटानजस्तै हिमाली बस्ती समेटेको नेपालका लागि त यो कसैगरी नौलो होइन। नेपालमा ताप्लेजुङदेखि हुम्लासम्म हिमाली बस्ती-बस्तीमा लुनाना भेटिन्छ। लुनानाको कथा जटिल पनि होइन। एकदमै सरल र सामान्य कथा बोलेको छ फिल्मले। फिल्ममा एउटी बाल पात्र छे- पेम जाम।

पेम जामहरूले पनि सहजै बुझ्नसक्ने कथा भनेको छ फिल्मले। भलै तिनको बुझाइ तिनकै क्षमताअनुरूपको होला तर, गलत भने हुनेछैन। हो, यो अति सामान्य लेकाली-हिमाली कथा भन्ने फिल्म हो जसलाई दर्शकले आ-आफ्नै क्षमताअनुरूप बुझिलिनेछन्। फिल्ममा म आफूले भने के के भेट्टाएँ त? केलाउने जमर्को गरूँ न त है!

१. ग्रस नेशनल ह्याप्पीनेश

भुटानका चौथो राजा जिग्मे सिङ्ग्ये वाङचुकले ग्रस डोमेस्टिक प्रडक्ट (जी.डी.पी.)को अवधारणालाई खारेज गर्दै ग्रस नेशनल ह्याप्पीनेश (जी.एन.एच.)को अवधारणा लागू गरेका हुन्।

जी.डी.पी.ले भौतिकतामा मात्रै जोड दिने भएको हुँदा जनताको मनोविज्ञानलाई समेत समेट्ने गरी आफूले जी.एन.एच.को अवधारणा ल्याएको र यसले मात्र जनताको असली अवस्थाको सम्बोधन गर्ने उनको दाबी छ।

जीवनस्तर, स्वास्थ्य, शिक्षा, वातावरण, समुदाय, समय-प्रयोग, मनोवैज्ञानिक स्वास्थ्य, विधिको शासन र संस्कृति गरी जम्मा ९ आयामको अध्य्यन गरी भुटानले आफ्नो राष्ट्रिय खुसीको मापन गर्दै आइरहेको छ।

नागरिकहरू एउटै राज्यमा कति लामो समयसम्म बस्न सक्छन्, त्यस तथ्यले उनीहरूको राष्ट्रिय खुसीको मापन देखाउँछ भन्ने जी.एन.एच.को मान्यता छ।

फिल्मको सुरुमै ‘जी एन एच, भुटान’ लेखिएको टिसर्टमा हामी मुख्य पात्र ‘उग्येन’लाई देख्छौँ। तर, आइरनी कस्तो छ भने जिएनएचको टिसर्ट भिरेर सुत्ने-उठ्ने यो भुटानी युवा देश छोडेर अस्ट्रेलिया जाने तयारी गर्दो छ।

सरकारी शिक्षकको प्रतिष्ठित जागिर खाइरहेको, राजधानी थिम्पुको पनि बजारैमा बस्ने यो युवक आफ्नो खुशी स्वदेशमा देख्न सकिरहेको छैन।

अस्ट्रेलिया जाने उसको चाहना मात्रै होइन, ऊ वास्तवमै गएको छ अस्ट्रेलिया देश छोडेर। स्वदेशको प्रतिष्ठित शिक्षण पेसा त्यागेर ऊ फिल्मको अन्त्यमा अर्काको देशमा नोकरी गर्न पुगेको छ।

‘पैसा दिएको छु राम्रोसँग काम गर् !’- विदेशी साहुले गाली गरेको छ तर, स्वदेशको ग्रस नेशनल ह्याप्पीनेशको टिसर्ट मिल्क्याएर ऊ अर्काको देश पुगेको छ।

फिल्मले भुटानको ग्रश नेशनल ह्याप्पीनेशको धज्जी उडाएको त छ नै तर, फिल्मले यो पनि भनिरहेको छ कि- बिदेसिएका लायक, योग्य युवाहरूको स्वदेशलाई खाँचो छ! देश फर्किएर त हेर जिएनएचको अवधारणा कति साँचो छ!

एकातिर फिल्मले भुटानमा भौतिक सुख नहोला तर मनको खुशी स्वदेशमै छ भनिरहेको छ भने अर्कातिर मनको खुसीले मात्रै नागरिकलाई पुग्दैन, भौतिक सुख-सुविधा पनि उत्तिकै आवश्यक छ भन्दै तर्क गरिरहेको छ। यस हिसाबले हेर्दा लाग्छ, यो फिल्म भुटानका राजा र प्रजाबिचको बहस हो।

२. अपब्रिङ्गिङ ग्याप

हामीले जेनेरेसन ग्याप त सुन्दै आएका हौँ। धेरै फिल्महरूले जेनेरेशन ग्यापलाई कथाको एउटा तहमा गाँस्दै आएका हामी पाउँछौँ। २०२३ को ओस्कार विजेता फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स’ ले नै पनि आफ्नो कथामा जेनेरेशन ग्यापको मुद्दामाथि बहस गरेकै हो।

तर, लुनानाको कथा भने ‘अपब्रिङ्गिङ ग्याप’ को मुद्दालाई नजानिँदो गरी छोएर बगेको छ। हो, यसले बहस गरेको छैन। मुद्दालाई समाएको पनि छैन, खाली नजानिँदो गरी छोएर मात्र बगेको छ। किनभने, लुनाना, ‘एभ्रिथिङ एभ्रिह्वेयर …’ जस्तो लाउड फिल्म होइन। यसको अप्रोच सफ्ट एण्ड सबल (Soft & Subtle) छ।

राजधानीमा हुर्किएको आधुनिक युवा उग्येन जब हिमाली दुर्गम भेगतिर पुग्छ अचानक ऊ बच्चाजस्तै हुन्छ। ऊ त्यहाँको रहनसहन केही पनि जान्दैन।

मिचेनको गाउँले गमबुट हिलोमा टेकेर पनि स्निग्ध छ तर ब्राडपिटले समेत लगाउने गरेको उसको ब्राण्डेड एण्ड एक्स्पेन्सिभ फ्यान्सी जुत्ता भने ऊ जान्दैन कसरी हिलो-हिलो भएको छ, किन पाइलैपिच्छे गाडिएको छ र हिँड्न अप्ठ्यारो भइरहेको छ!

ऊ जान्दैन लुनानामा भात पकाउन कसरी आगो बाल्नुपर्छ! आफ्नै उमेरको मिचेनले उसलाई सिकाउन परेको छ आगो बाल्न। लुनानामा त चौँरीको बिस्ठाले पो आगो बाल्दारहेछन् !- सहरिया मास्टर उग्येनलाई यस्तो कुरा भर्खरै थाहा हुँदैछ।

यति त मिचेनबाट सिक्यो कि बिस्ठा चाहिने रहेछ आगो बाल्न। तर, ऊ जान्दैन आगो बाल्न आलो होइन सुकेको बिस्ठा चाहिन्छ। यो भने उसले साल्डनबाट सिक्नुपरेको छ।

त्यसो त गाउँले पनि ऊबाट केही नसिकेको कहाँ हो र? ‘ब्ल्याकबोर्ड’ भन्दा ‘कुन चराको नाम होला?’ भनेर अचम्म मान्ने पेम जामहरूलाई उसले ब्ल्याकबोर्ड बनाइकन त्यसैमा पढाएको छ।

अंगारले भित्ता कोर्दै पढ्ने केटाकेटीहरूले पहिलो पटक चकले आफ्नो नाम ब्ल्याकबोर्डमा लेखे। केटाकेटीहरूले टुथपेस्ट लगाएर दाँत माझ्न सिके।

थिम्पुमा हुँदा हजुरआमाको काठको थालमा खाना खान पाउनु मात्रै ‘हजुरआमाको थालमा खान पाउनु हो’ बुझेको उग्येनले लुनाना गएपछि मात्रै बुझ्यो त्यसको गहिराई।

काठको थालमा खान पाउनु त माया पाउनु पो रहेछ, स्नेह पाउनु पो रहेछ, सत्कार र सम्मान पाउनु पो रहेछ! हजुरआमाको प्रेम त उसले लुनानाले दिएको प्रेम अंगालेपछि मात्रै पो बुझ्यो।

सिटी लाइफ नदेखेका पेम जाम, मिचेन, साल्डन र असाहरू अनि भिलेज लाइफ नभोगेका उग्येनहरूबिच बुझ्न बाँकी यस्ता अरू कति खाल्डाहरू होलान् है?

यो अपब्रिङ्गिङ ग्याप अथवा भनूँ हुर्काइको खाडलमा थोरबहुत पुल हाल्ने फिल्मको प्रयास दर्शकलाई साँच्चै नै मीठो लाग्नेछ।

३. कथाभित्रको कथा

भलै फिल्म गायक बन्न चाहने एउटा युवकको कथा हो तर त्यही गायकी र संगीतको माध्यमबाट फिल्मले कथाभित्रै अर्को कथा भनेको छ।

अनेक कन्सेप्टलाई लेयरिङ गर्ने लुनानाको यो काइदा पनि लाउड छैन। बरु बर्तिका एम राईका कर्णप्रिय गीतहरूजस्तै फिल्मका लेयर्सहरू एकअर्कामा मानौँ ठोक्किएर होइन मिसिएर सलल बगेका छन्।

साल्डनले उग्येनलाई सुनाएको चौँरी गोठालो र चौँरीको कथा, गाउँको मुखियाले गरेको पुनर्जन्मको किस्सा र उग्येनले विद्यार्थीहरूलाई सुनाएको चौँरी र भैँसीको कथा फिल्म हेरुन्जेल हामीलाई छुट्टाछुट्टै लाग्छ। तपाईँमा यदि कमन सेन्स राम्रै नै छ भनेचाहिँ एउटै कुरा भन्न खोजेको हो कि कतै जस्तो भने लाग्न सक्छ।

तर, क्लाइमेक्सको मुखैनेर नपुगुन्जेल फिल्मले मुख्य सस्पेन्सलाई सस्पेन्स नै राख्न सकेको तपाईँले बल्ल भेउ पाउनुहुनेछ। फिल्मभरि कर्मकै किस्सा एवं गफहरू गरिरहेर पनि कर्मको कथा किस्ता-किस्तामा भन्नुले फिल्मको लेयरिङलाई सुन्दर बनाउन सघाएको छ।

कर्मको अवधारणालाई फिल्मले आत्मसात् गरे पनि फिल्मले उग्येनलाई रोजाईको जिन्दगी जिउन भने स्वतन्त्र छोडिदिएको छ। फिल्म यदि दसैँको चङ्गा हो भने यसो भन्न सकिन्छ, निर्देशक पाओ दोर्जी लट्टाई चलाउन माहिरै रहेछन्।

उग्येन कर्मले बाँधिएको त छ तर, खुला आकाशमा उड्न पनि उसले बिर्सेको छैन।

पुनश्च:

जाँदाजाँदै, फिल्म हेरेर सकाइसक्दा आँखामा आँसु, गालामा आरु र ओठमा गुलाबको फूल बोकेर उफ्रिहिँड्ने क्लास क्याप्टेन पेम जामलाई प्रत्यक्ष भेट्ने हुटहुटीले तपाईँलाई नपछ्याउला भन्न सकिन्न।

त्यसो भए भन्नुस्, हुम्ला वा ताप्लेजुङका लागि भोलिको टिकट काटौँ कि आजकै? लुनाना आखिर, नेपालमै पनि त छ नि!

हाय! पेम जाम र साथीहरूको त्यो चिठ्ठी! साल्डनले दिएको गीतको लिरिक्स जतन गरेजस्तै त्यो चिठी पनि उग्येनले पक्कै जतन गरेको हुनुपर्छ। त्यही चिठी सम्झिएर पनि के उग्येन फर्किएला?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved