जनमतले ‘डिमान्ड’ गरेको मन्त्रालय आफूसँग नहुँदा प्रधानमन्त्रीलाई सकस !

जनमतले ‘डिमान्ड’ गरेको मन्त्रालय आफूसँग नहुँदा प्रधानमन्त्रीलाई सकस !

काठमाडौं । सत्तारूढ गठबन्धनले डा. चन्द्रकान्त राउत ऊर्फ सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय गरिसकेको छ । यसको व्यवस्थापनको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिइएको छ ।

सरकारमा सहभागी गराउन जनमतलाई मनाइसकेका प्रधानमन्त्री प्रचण्डले मन्त्रालय मिलाउन भने सकेका छैनन् ।  जनमतले भने आफूले मागेको मन्त्रालय पाए तत्कालै सरकारमा सहभागी हुन तयार रहेको बताएको छ । पूर्वमन्त्रीसमेत रहेका जनमतका उपाध्यक्ष अब्दुल खानले नेपालभ्यूजसँग भने, “हामी अहिल्यै सरकारमा सहभागी हुन तयार छौँ । तर, त्यसका लागि वातावरण हाम्रो अनुकूलको पनि हुनुपर्छ ।”

जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय पाउनुपर्ने अडान राखेको छ । तर, ती दुवै मन्त्रालय प्रधानमन्त्री प्रचण्डको दल नेकपा (माओवादी केन्द्र) सँग छैन । माओवादी केन्द्रसँग राज्यमन्त्रीसहित ७ मन्त्रालय भएपनि जनमतको ‘डिमान्ड’को मन्त्रालय आफूसँग नभएपछि प्रधानमन्त्री प्रचण्ड सकसमा परेका हुन् ।

उनले यसअघि जनमतलाई ‘सङ्घीय मामिला, पर्यटन र खानेपानीमध्ये एक लिँदा के हुन्छ ?’ भनेर सोधेका थिए । तर, प्रधानमन्त्रीको उक्त प्रस्ताव जनमतले अस्वीकार गरिसकेको छ । उपाध्यक्ष खानले भने, “हामीलाई जिताउने जनताका समस्याका समाधान ती दुईवटा मन्त्रालयसँग मात्रै सम्बन्धित छन् । ती मन्त्रालय लिँदामात्रै समस्याको समाधान खोज्न सकिन्छ ।”

हाल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय माओवादी केन्द्रकै अमनलाल मोदीसँग छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय माओवादी केन्द्रकै सुदन किरातीसँग छ । यस्तै खानेपानी माओवादी केन्द्रकै चुनाव चिह्न हँसिया-हथौडाबाट चुनाव जितेका नेपाल समाजवादी पार्टी (नेसपा) का सङ्घीय परिषद् अध्यक्ष महिन्द्र राय यादवसँग छ । प्रधानमन्त्री प्रचण्डले यी नै ३ मन्त्रालयमध्येबाट १ मन्त्रालय जनमतका लागि खाली गराउने भनेपनि यी ३ वटै मन्त्रालय आफूले नलिने बताइसकेको छ ।

अहिले जनमतको ‘डिमान्ड’को मन्त्रालय उद्योग नेपाली कांग्रेसका रमेश रिजालसँग छ भने कृषि एकीकृत समाजवादीका डा. वेदुराम भुसालसँग छ । कांग्रेस र एकीकृत समाजवादी दुवै मन्त्रालय छाड्ने पक्षमा छैनन् । त्यसो त २५ सदस्यीयभन्दा ठूलो मन्त्रिपरिषद् गठन गर्न नपाइने संवैधानिक अड्चन छ । अहिले मन्त्रिपरिषद्ले पूर्णता पाइसकेको अवस्था छ ।

उसो त कांग्रेसका एक नेता जनमतका लागि मन्त्रालय सत्तारूढ दल माओवादी केन्द्रले नै गराउनुपर्ने बताउँछन् । “सरकारको नेतृत्व गरिरहेको दल पनि माओवादी केन्द्र नै हो,” उनले नेपालभ्यूजसँग भने, “मन्त्रालय उसैले खाली गर्नुपर्छ । अन्य दलहरूबाट खाली गराउनु हुँदैन ।”

प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल गृहकार्य भइरहेको बताउँछन् । “अहिले यही भन्ने अवस्था छैन । प्रधानमन्त्रीज्यूले गृहकार्य गरिरहनुभएको छ । केही दिनमा फाइनल हुन्छ,” उनले भनेका छन् ।

अहिले कांग्रेससँग ९ मन्त्रालय छ भने सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसँग १ राज्यमन्त्रीसहित ७ मन्त्रालय छ । नेकपा (एकीकृत समाजवादी) सँग १ राज्यमन्त्रीसहित ३, जनता समाजवादी पार्टी (जसपा) सँग १ राज्यमन्त्रीसहित ३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग १ र नागरिक उन्मुक्ति पार्टी (नाउपा) सँग १ मन्त्रालय छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved