दोहोरी गीत क्षेत्रमा पनि राजनीति

फुट्यो लोक तथा दोहोरी गीत प्रतिष्ठान, बमबहादुर कार्कीको अध्यक्षतामा नयाँ संस्थाको घोषणा

नेपालभ्युज

फुट्यो लोक तथा दोहोरी गीत प्रतिष्ठान, बमबहादुर कार्कीको अध्यक्षतामा नयाँ संस्थाको घोषणा

काठमाडौं। लामो अन्तरसंघर्षपछि अन्ततः नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान औपचारिक रूपमै विभाजन भएको छ। असन्तुष्ट समूहहरूले वरिष्ठ लोकगायक बमबहादुर कार्कीको अध्यक्षतामा नयाँ संस्थाको घोषणा गरेका छन्। कार्कीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति पनि प्रशासनमा दर्ता भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’ नामक संस्था दर्ता भएको छ। आफूहरूले लोक तथा दोहोरी गीत प्रतिष्ठान जस्तो संस्था खोलेको नभई सबै अटाउने बृहत् संस्था बनाउन लागेको नयाँ संस्था खेल्ने पक्षको दाबी छ।

उपाध्यक्षमा विष्णु खत्री, महासचिवमा वैकुण्ठ महत, सचिवमा राजु परियार, कोषाध्यक्षमा टीका पुन, सदस्यहरूमा खड्ग गर्बुजा, शिव आले र केशरी घर्ती छन्। यो तदर्थ समितिको बैठकले भदौभित्र अधिवेशन बोलाउने भएको छ।

उपाध्यक्ष खत्रीले औपचारिक रूपमा नयाँ संस्थाको गतिविधि सुरु भएको बताए। उनले भने, ‘‘नयाँ संस्था दर्ता भयो। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै कलाकर्मी अट्ने संस्था अब सुरु भएको छ। लोकदोहोरीका सबै विधालाई समेटेर वृहत् रूपमा अघि बढ्ने तयारीमा छौँ। ७७ जिल्लामै शाखा स्थापना हुनेछ।’’

यसअघि प्रतिष्ठानको पूर्व महासचिव समेत रहेका गायक खत्रीले संस्थामा नरहेको घोषणा गरेका थिए। यसअघि, फागुनमा धादिङमा भएको आठौँ महाधिवेशनमा विष्णु खत्री प्रतिष्ठानमा अध्यक्षको उम्मेदवार बन्ने चर्चा थियो। आन्तरिक तयारी लगभग गरेका उनी अन्तमा बाहिरिएका थिए।

को-को छन् संस्थापन संस्थामा ?

लोक तथा दोहोरी गीत प्रतिष्ठानमा ३० हजार बढी साधारण सदस्य छन्। पछिल्लो समय गैर कलाकार पनि संगठनमा रहेको भन्दै विरोध हुँदै आएको छ। पछिल्लो समय सामाजिक होस् वा पेशागत संघसंस्था, जताततै राजनीति घुसेको छ। यसकै परिणाम स्वरूप राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पनि फुटेको हो।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा भने रीता थापा मगर छिन्। गत फागुनमा धादिङ भएको महाधिवेशनमा उनी निर्विरोध निर्वाचित भएकी हुन्। वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा छन्। प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षमा क्रमशः सुवास केसी, दीपक खड्का र राधिका हमाल छन्। महासचिव शिव हमाल, उपमहासचिवद्धय हरि डाँगी र शिरिष देवकोटा छन्।

अमृता अधिकारी कोषाध्यक्षमा र जमुना राना महिला सचिवमा छिन्। यो संस्थामा कामगनेहरूभन्दा पदको लागि धेरै पद सिर्जना गरिएको भन्दै विवाद भएको थियो।

असन्तुष्ट समूहहरूले खोलेको ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’ नामक नयाँ संस्थामा लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट करिब आधा बढी सदस्य जाने दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved