चलचित्र भवनमा छैनन् दर्शक

नेपालभ्युज

चलचित्र भवनमा छैनन् दर्शक

काठमाडौं। यस वर्षको सुरुआत नेपाली चलचित्रका लागि सुखद भयो। वर्षकै पहिलो दिन प्रदर्शन भएको चलचित्र ‘जारी’ को राम्रो व्यापार भयो। उक्त चलचित्र प्रदर्शनको ५१ दिन पार गर्दै रु १५ करोडको खुद व्यापार गर्न सफल भए पनि त्यसपछि प्रदर्शन भएका असफल भए। त्यसपछि हप्तामै दुई वा एक चलचित्र प्रदर्शन भइरहेका छन्। यद्यपि सफलता पाउने भने शून्य नै छन्।

दर्शकलाई आकर्षण गर्न चलचित्र सफल नभएको हुन सक्ने निर्देशक तथा निर्माता अशोक शर्माले बताए। “निर्माण समूहप्रतिको विश्वास, ती चलचित्रको प्रचार सामग्री कारण हुन सक्छन्”, उनले भने, “नेपालीसँगै अन्य भाषाका चलचित्रमा समेत दर्शकको उपस्थिति न्यून छ।” उनले चलचित्र ‘जारी’ ले नेपालभर राम्रो व्यापार गरेको जानकारी दिए।

“चलचित्रले नेपालभर नै राम्रो व्यापार गर्‍यो, सबै उमेर समूहका दर्शक चलचित्र भवनमा देखिनुभयो”, निर्देशक शर्माले भने। ‘जारी’ सँगै ‘बिहे पास’ र ‘बुलाकी’ तथा त्यसपछि वैशाख १५ मा ‘कैदीको पत्र’, ‘प्रसाद २’ र ‘नाईं नभन्नु ल ६’, वैशाख २१ मा ‘ज्याकी’ :  आइएम ट्वान्टी वान’, वैशाख २९ मा ‘हल्कारा’, जेठ ५ मा ‘डाकिनी’ र ‘ए साथी सुन’, जेठ १२ मा ‘हुक्का’ र ‘टुल्की’, जेठ २९ मा ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भए।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार ‘जारी’बाहेक अन्य चलचित्रको कुल व्यापार रु एक करोडभन्दा माथि भएको छैन। घरेलु बजारमा ‘जारी’ बाहेक अन्य असफल रहे। नेपाली चलचित्रको व्यापारलाई मन्दीले असर गरेको हुनसक्ने नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले बताए।

“दर्शक चलचित्र भवनसम्म निकै सोचेर पुग्नुभएको देखिन्छ, यद्यपि आकर्षित गर्न सके चलचित्रको व्यापार हुन्छ भन्नेमा दुईमत छैन”, उनले भने, “आउँदो भदौबाट हामी आशावादी छौं, त्यस अगाडी आउने चलचित्र कमजोर छैनन्, तर दर्शकको सोधपुछ भदौका चलचित्रमा बढी पाएका छौँ।” -रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved