एमालेको नयाँ जिम्मेवारी : पूर्व माओवादीलाई ‘कमसल’ भूमिका, सचिव टोपबहादुर निलम्बन र मणि थापा बिदामा

नेपालभ्युज

एमालेको नयाँ जिम्मेवारी : पूर्व माओवादीलाई ‘कमसल’ भूमिका, सचिव टोपबहादुर निलम्बन र मणि थापा बिदामा

काठमाडौं। नेकपा एमालेले पार्टी नेताहरुको जिम्मेवारी हेरफेरसँगै स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यको नयाँ जिम्मेवारी तोकेको छ।

पार्टीको सचिवालय बैठकले प्रदेश प्रदेश, जिल्ला र पालिकामा इन्चार्ज समेत तोकेको छ। अध्यक्ष केपी शर्मा ओलीलाई ‘समग्र नेतृत्व’को जिम्मेवारी छ भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहित पदाधिकारीको भुमिका पनि ठोस गरिएको सर्कुलर पठाईएको छ।

जसमा पदाधिकारीमा रहेका पूर्व माओवादी पृष्ठभूमिका नेता उपाध्यक्ष रामबहादुर थापा बादललाई कुटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मेवारी दिइएको छ। माओवादी जनयुद्धका कमाण्डर रहेका बादलले सुरक्षाको जिम्मेवारी पाएका हुन्।

यसैगरी पूर्व माओवादी नेता रहेका सचिव टोपबहादुर रायमाझीको भने कुनै जिम्मेवारी छैन। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीलाई एमालेले सचिव सहित पार्टी जिम्मेवारीबाट निलम्बन गरेको छ। अर्घाखाँचीबाट चुनाव जितेका उनको सांसद पद समेत निलम्बनमा छ।

अर्का पूर्व माओवादी नेता सचिव लेखराज भट्टलाई कर्णालीको ईन्चार्ज बनाईएको छ। सुदूरपश्चिमको ईन्चार्जबाट हटाएर उनलाई कर्णाली लगिएको हो । सुदूरपश्चिममा छविलाल विश्वकर्मालाई जिम्मेवारी दिईएको छ।

सुदुरपश्चिमको जिम्मेवारीमा रहँदा भट्टले माओवादी अध्यक्ष प्रचण्डलाई घरमै बोलाएर भेट गरेपछि एमालेभित्र आलोचना भएको थियो। यस्तै स्थायी कमिटी सदस्य रहेका मणिचन्द्र थापालाई पनि जिम्मेवारी दिईएको छैन। उनी पनि पूर्व माओवादी नेता हुन्। एमालेले पठाएको अन्तर पार्टी सर्कुलरमा उनको नाम छ । तर, जिम्मेवारीको ठाउँमा ‘बिदा’ भनेर लेखिएको छ।

नेता रुपनारायण श्रेष्ठलाई पनि जिम्मेवारीको ठाउँमा बिदा भनिएको छ। तर के प्रयोजनको बिदा भन्ने खुलाईएको छैन। अन्य केही सदस्यको भने सर्कुलरमा ‘बिरामी बिदा’ भनेरै किटान गरिएको छ। मैनाकुमारी भण्डारी र प्रमोद नारायण यादवलाई बिरामी विदा दिईएको छ।

त्यसैगरी माओवादी पृष्ठभूमिका ज्वालाकुमारी शाहलाई सर्लाहीको जिम्मा छ भने माधव शर्मालाई बुटवल उपमहानगरपालिकाको मात्रै जिम्मेवारी दिइएको छ । पदाधिकारी र स्थायी कमीटी सदस्य जस्तै केन्द्रीय सदस्यलाई पनि कुनै न कुनै तहको जिम्मेवारी दिइएको सर्कुलरमा उल्लेख छ । केन्द्रीय सदस्यलाई नगर र गाउँपालिकाको ईन्चार्ज सम्मको जिम्मेवारी तोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved