कोशी सरकारबाट माओवादी बाहिरियो, आङ्बोलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने

नेपालभ्युज

कोशी सरकारबाट माओवादी बाहिरियो, आङ्बोलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने

विराटनगर । कोशी प्रदेश सरकारबाट सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ । मङ्गलबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउने तयारी गरिरहेका छन् । एक सांसदले भने, “मन्त्रीजीहरूले अब राजीनामा दिनुहुन्छ । त्यसपछि फरक तरिकाले अगाडि बढ्छौँ ।” प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरणमन्त्री छन् ।

माओवादी केन्द्रले संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने तयारीसमेत गरेको छ । प्रदेश सभामा १३ सिट भएको माओवादी केन्द्रले सुरूदेखि नै आफूले नेतृत्व पाउनुपर्ने बताउँदै आएको थियो । यद्यपि त्यसमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र राईले पनि आफू मुख्यमन्त्री बन्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले अरु प्रदेशहरूको नेतृत्व गरिरहेको भन्दै कोशीमा आफू मुख्यमन्त्री बन्नुपर्ने बताइरहेका छन् । त्यसमा कांग्रेस संसदीय दलका नेता उद्वव थापासमेत आफैँ मुख्यमन्त्री बन्नेमा दृढ छन् भने आङ्बोलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने माओवादी केन्द्रको तयारी छ ।

माओवादी केन्द्र बाहिरिएसँगै नेकपा (एमाले) का संसदीय दलका नेता हिक्मतबहादुर कार्की नेतृत्वको सरकार ढल्ने भएको छ । यद्यपि उसले प्रदेश सभामा १ सिट भएको जनता समाजवादी पार्टी (जसपा)लाई मनाएको खण्डमा सरकारले निरन्तरता पाउनसक्छ । स्वास्थ्यमन्त्रीसमेत रहेको जसपाकी एक्ली सांसद निर्मला तावा लिम्बूले यसअघि नै राजीनामा दिइसकेकी छन् । उनले अब सोही सरकारमा सहभागी नुहने बताइसकेकी छन् । यस्तो अवस्थामा एमालेलाई अप्ठ्यारो छ ।

उता अहिलेसम्म एमालेसँगै उभिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि मुख्यमन्त्री पाएमात्रै यथास्थानमा रहने बताएको छ । उसले जता रहेपनि मुख्यमन्त्री ‘टार्गेट’ बनाएको छ । तर, अरु दलहरू सङ्घीयताविरोधी राप्रपालाई मुख्यमन्त्री दिन राजी देखिएका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved