प्रधानमन्त्रीको भारत भ्रमण:

प्रधानमन्त्री ‘प्रचण्ड मुस्कान’ लिएर स्वदेश फिर्दै

‘‘विभिन्न उतारचढावमा रहेको सम्बन्ध एउटा सुमधुर दिशामा आउनु निकै ठुलो सफलता हो। ऐतिहासिक सम्झौता र समझदारी भएका छन्। यसकारणा हामी सफल भयौँ। प्रधानमन्त्री प्रचण्डमा ‘प्रचण्ड मुस्कान’ छ।’’

प्रधानमन्त्री ‘प्रचण्ड मुस्कान’ लिएर स्वदेश फिर्दै

नयाँ दिल्ली। बुधबार भारत भ्रमणमा आएकै साँझ नेपाली दूतावासको रात्रि भोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भए। भारतका राष्ट्रिय सुरक्षा सल्लाहका अजित डोभल र विदेश सचिव विनयमोहन क्वात्रासँग चाणक्यपुरीमा भएको भेटपछि प्रचण्ड बाराखम्बा रोडमा आइपुग्दा निराश देखिन्थे।

उनको अनुहारमा कुनै चमक थिएन। प्रचण्डको भ्रमण टोलीमा आएका मन्त्रीहरूमा पनि उस्तै भाव देखिन्थ्यो। प्रफुल्लित मुद्रामा कोही देखिएनन्।

भोलिपल्ट बुधबार बिहान प्रचण्ड राजघाट गए। महात्मा गान्धीको समाधिस्थलमा गएर पुष्पहार अपर्ण गर्दै श्रद्धाञ्जलि दिए। फर्केर भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्न हैदरावाद हाउसमा पुगे। हैदरावाद हाउस छिर्दा बिहानको ११ बजेको थियो, प्रचण्डको भावमा कुनै परिवर्तन देखिन्थेन।

मध्याह्न पौने १ बजे हैदराबाद हाउसको एक सानो हलमा पत्रकार सम्मेलनको लागि जब प्रचण्ड मोदीसँगै झुल्किए, उनको अनुहारमा बदलाव आयो। अनुहारमा निकै चमक देखियो। उनको अनुहारको रङ्ग र मुस्कानले नै भन्थ्यो, ‘भ्रमण सफल भयो।’

त्यसअघि, एक घण्टा ४५ मिनेटको समयमा प्रधानमन्त्री प्रचण्डले गरेका भेटघाट छलफल र दुई देशबीचका प्रतिनिधिमण्डलले गरेको वार्ताको परिणामले प्रचण्ड प्रफुल्लित रहेका रहेछन्। उनले त्यो कुरा भोलिपल्ट आफू बसेको होटेल, आईसीटी मौर्यमा पत्रकार माझ खुलासा गरे।

‘‘राम्रो भयो। एकपटक त बिग्रिन्छ क्यारे, बिगार्छन् क्यारे भन्ने चिन्ता भएकै थियो। तपाईंहरूले हेर्नुभयो भने दूतावासको कार्यक्रममा मेरो अनुहार उज्यालो थिएन। दबाबमा परेको जस्तो थियो। तर, त्यसमा (अवस्था सुधार्न) मोदीजीले नै बढी पहल गरेको देख्छु। वान टु वान मिटिङबाट स्थिति सम्हालिँदै आयो’’ उनले अनुभूति सुनाए।

अलिअलि लुकाउन चाहेको, अलिअलि खुलाउन खोजेको भावमा पत्रकारमाझ प्रस्तुत भएका प्रचण्डले कतिपय प्रश्नको उत्तर नेपालमै दिने बताए। स्वदेश फर्किएलगतै त्रिभुवन विमानस्थलमा बताउने उनले प्रस्टै भने, ‘‘यसबारे यहाँ होइन, उतै गएर भनौँला।’’

यसरी सम्हालियो बिग्रन लागेको परिस्थिति

प्रचण्ड भारत आएका थिए, केही महत्त्वपूर्ण एजेन्डा बोकेर। जुन दुई प्रधानमन्त्रीबीच भेटवार्ता हुने अघिल्लो दिन मात्रै नेपालभ्युजले यस्तो सहमति हुँदैछन् भनेर सार्वजनिक गरेको थियो।

आफ्नो भ्रमण ऐतिहासिक बनाउन केही सम्झौता गरेर छाड्ने प्रधानमन्त्रीको चाहना थियो। त्यो विषयमा पनि भारत सहमतिमा आएन।
अढाई दशकअघि महाकाली सन्धि गर्ने नेपाली नेतृत्वले जनतासँग गरेका आवधिक वाचाहरू अलपत्र परेका थियो। यो अनुभवबाट प्रचण्ड रणनीतिक फाइदा लिँदै आफ्नो हात माथि पार्न कुनै हालतमा पञ्चेश्वर परियोजना अगाडि बढाइछाड्न चाहन्थे।

तर, विदेश सचिवसँग कुरा गर्दा भारतले सुरुमा त्यो विषयमै प्रवेश गर्न चाहेन। अर्को एयर रुटको अवरोध पन्छाउँदा मात्रै पनि प्रचण्डको भारत भ्रमण सफल भएको मान्न सकिन्थ्यो। त्यो विषयमा पनि भारत सहमतिमा आएन।

अर्को, वर्षौंदेखि अल्झिरहेको विषय ईपीजी प्रतिवेदन बुझ्नुपर्ने नेपाली जनताको दबाब छ। भारतको राजनीतिक वर्ग र कर्मचारीतन्त्रले सुन्न पनि नचाहने यो विषय उठाउनुपर्नेमा प्रचण्डलाई दबाब थियो। यसैले यो विषयको सट्टामा कर्णाली फुर्कोट परियोजनामा नेपाललाई सहज हुने प्रचण्डले देखे।

भ्रमणमा आएकै दिन बुधबार साँझको छलफलमा यी विषयमा सहमति हुन सक्ने देखिएन। यसैले राजनीतिक उपलब्धि बिनाको सद्भावना भ्रमण मात्रै बन्ने हो कि भन्ने प्रचण्डलाई चिन्ता थियो।

 

तर, भोलिपल्ट बिहीबार मध्यान्नसम्म परिस्थितिमा बदलाव आयो। अघिल्लो दिन सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव क्वात्राले अप्ठेरो पारेको माहोललाई भोलिपल्ट प्रधानमन्त्री मोदीले खुकुलाइदिए।

जसअनुसार केही सहमति, सम्झौतासँगै उद्घाटन र शिलान्यास भए। केही सहमति पछि हुने समझदारी भएको छ। यी विषय प्रधानमन्त्री प्रचण्डको भ्रमण देशका लागि उपलब्धिमूलक नै मानिएको छ। विशेष गरी पारवहन र ऊर्जाको क्षेत्रमा महत्त्वपूर्ण सहमति भएका छन्।

यसकारण ‘प्रचण्ड मुस्कान’

भ्रमणका क्रममा पारवहन सम्झौता नवीकरण, पेट्रोलियम पाइपलाइन र भण्डारणका परियोजना सम्झौता नवीकरण भएको छ। पेट्रोलियम पाइपलाइन नयाँ बन्नेछ र एउटा विस्तार हुनेछ। दुई ठाउँमा पेट्रोलियम भण्डारण डिपो बन्नेछन्।

दीर्घकालीन विद्युत् व्यापारका लागि प्रारम्भिक सम्झौता भएको छ। १० वर्षमा १० हजार मेगावाट बिजुली भारतले किन्ने छ। सम्झौताअनुसार भारतले २५ वर्षका लागि दीर्घकालीन विद्युत् व्यापार गर्नेछ। यो सम्झौताले बजार सुनिश्चित भएका कारण ऊर्जा व्यवसायीलाई पनि उत्साहित बनाएको छ।

बङ्गलादेशमा बिजुली निर्यातका अड्चन समाप्त भएको छ। भारतले आफ्नो बाटो हुँदै बङ्गलादेशमा विद्युत् निर्यात गर्न दिन सहमति जनाएको छ। बङ्गलादेशसँग समेत वार्ता गरेर त्रिपक्षीय सम्झौता गर्ने समझदारी बनेको छ।

वीरगञ्ज –काठमाडौं रेलमार्ग निर्माणको प्रक्रिया अघि बढाउने सहमति भयो। साथै, तल्लो अरुण र फुकोट–कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनीले बनाउने सम्झौता पनि भयो। उत्पादितमध्ये २१ प्रतिशत बिजुली नेपालले निःशुल्क पाउनेछ। सतलजले निर्माण सकिएर उत्पादन सुरु भएको १५ वर्षसम्म आयकरमा शतप्रतिशत छुट पाउनेछ।

यस्तै, फुकोट–कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना भारतीय सरकारी कम्पनीको लगानीमा बन्ने सम्झौता भएको छ।

साथै, ब्रेक थ्रुको अपेक्षा भए पनि पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन ३ महिनाभित्रै टुङ्गो लगाउने सहमति पनि भयो। लामो समयदेखि अड्किइरहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर ३ महिनाभित्रै टुङ्गो लगाउने सहमतिले उत्साह प्रदान गरेको छ।

अन्य सहयोगमा भैरहवा– सुनौली एकीकृत जाँच चौकी निर्माण र दोधारा–चाँदनी चेकपोस्ट निर्माणको सहमतिसमेत भएको छ। भारतले यसअघि तीनवटा एकीकृत जाँच चौकी बनाइसकेको छ।

दुई प्रधानमन्त्रीले बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइनको शिलान्याससमेत गरेका छन्। नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएकाले नेपालबाट समुद्रसम्म पानी जहाज सञ्चालनको बाटो पनि खुलेको छ। सधैंको विवादित विषयमा प्रचण्डभन्दा अघि मोदी बोलिदिए, ‘सीमामा रहेको समस्या हल गर्नेछौँ।’

पत्रकार सम्मेलनमा मोदीले ९ वर्षअघिको काठमाडौं भ्रमण सम्झिएका थिए। भनेका थिए, ‘‘त्यस बेला मैले हिट फर्मुला दिएको थिएँ। अहिले नेपाल भारत सम्बन्ध सुपर हिट भयो।’’

मोदीले दिएको सुपर हिट फर्मुलामा केही परियोजना थियो। फेरि अहिले भएको सात बुँदे सम्झौतासहितको फर्मुलाले सम्बन्ध थप सुपर हिट हुने अपेक्षासहित प्रचण्ड शनिबार अपराह्न स्वदेश फकिँदैछन्।

भ्रमण टोलीका एक मन्त्री भन्छन्, ‘प्रधानमन्त्रीको भारत भ्रमण सफल भयो। दुई देशबीचको सम्बन्ध सुपर हिट भयो।’

प्रधानमन्त्री मध्य प्रदेश गएपछि शुक्रबार बिहान होटल आईसीटी मौर्यको लबिमा देखिएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल भन्दै थिए, ‘‘विभिन्न उतारचढावमा रहेको सम्बन्ध एउटा सुमधुर दिशामा आउनु निकै ठूलो सफलता हो। हामी सफल भयौँ। प्रधानमन्त्री प्रचण्डमा ‘प्रचण्ड मुस्कान’ छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved