विश्वप्रकाशले जनाए ओलीको अभिव्यक्तिमा आपत्ति, भन्छन्- हामी न्यायाधीश होइनौं

नेपालभ्युज

विश्वप्रकाशले जनाए ओलीको अभिव्यक्तिमा आपत्ति, भन्छन्- हामी न्यायाधीश होइनौं

काठमाडौं । नेपाली काँग्रेसका सांसद एवं महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको बेलामा रोष्टमबाट अनुसन्धान प्रभावित गर्ने बयान दिनु नहुने बताएका छन् ।

शनिवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको छ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाए । उनले दोषीलाई उम्क्याउन खोजिँदैछ भन्नेमा आफूले समर्थन गर्न सकेपनि निर्दोषलाई फसाइँदैछ भन्ने अभिव्यक्तिले अनुसन्धान प्रभावित बन्नसक्ने बताए ।

उनले काँग्रेसका नेताहरु यसअघि पनि भ्रष्टाचारको मुद्दामा जेल परेको र अहिले पनि मुद्दाको सामना गरिहेको भन्दै काँग्रेस दोषीलाई बचाउने प्रयासमा नरहेको जिकिर गरे । उनले मुद्दामा परेका कसैलाई पनि काँग्रेसले रोष्टममा उभिएर निर्दोष नभनेको दाबी गरे ।

‘केही दिनअघि सम्माननीय पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता केपी शर्मा ओलीले यो रोष्टममा उभिएर नक्कली भूटानी शरणार्थीको प्रकरणमा उभिएर बोल्दै गर्दा राख्नुभएका अन्य विषयमा म सम्मानपूर्वक समर्थन गर्दछु । दोषीलाई उम्क्याउन खोजिँदैछ भन्दै गरेको कुरामा पनि त्यो आशंकामा पनि राज्यले गम्भीरतापूर्वक ध्यान देला नै’ उनले भने, ‘सँगै म निर्दोष फसाउने प्रयास भइरहेको भन्ने वाक्य उल्लेख गर्नुभयो । अन्यत्र कहीँ भन्नुभयो रे होइन, यही रोष्टममा उभिएर भन्नुभयो । को दोषी को निर्दोषी नेपाल प्रहरीले छानबिन गरिरहेको छ । हामी न्यायाधीश होइनौँ सभामुख महोदय, यहाँबाट फैसला सुनाउनका लागि ।’

उनले रोष्टममा उभिएर मुद्दामा परेका कसैलाई पनि निर्दोष भनेर अनुसन्धान र न्यायिक प्रक्रियामा प्रभावित गर्नेगरी बोल्न नहुनेमा जोड दिए ।

सरकारको नीति तथा कार्यक्रममाथि शनिबार संसदमा भएको छलफलमा महामन्त्री शर्माले को दोषी र को निर्दोष भनेर नेपाल प्रहरीले छानबिन गर्ने बताए । एमाले अध्यक्ष ओलीले रोष्टममै उभिएर भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजियो भनेका थिए । यसमा आफ्नो विमति रहेको भदै महामन्त्री शर्माले भने, ‘यहाँबाट फैसला सुनाउनका लागि हामी न्यायाधीश होइनौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved