द लन्चबक्स : मसला नपुगेको सम्बन्ध

फेरि यस्तो पर्फेक्ट डिसलाई मसला नपुगेको सम्बन्ध भन्न मिल्छ? मसला नपुगेको सम्बन्ध यो डिस अथवा फिल्मले देखाएको सम्बन्ध होइन। बरु म त्यो सम्बन्धको कुरा गरिरहेछु जुन फिल्मको कथाभित्र कतै गौण भएर लुकिरहेको छ। कुन सम्बन्ध हो त्यो? किन पुगेन मसला? कुन मसला नपुगेको हो? बिस्तारै खुल्दै जाला। आउनुस् अहिले मस्तमग्नसँग औंला नै चाटिबसौँ।

द लन्चबक्स : मसला नपुगेको सम्बन्ध

रितेश बात्राको द लन्चबक्सलाई लन्च नै मान्ने हो भने यो खाएर कहिल्यै नअघाइने लन्च हो। भलै पेट अघाओस् तर औँला चाटिरहूँ, नउठी, नचुठी त्यस्तै अर्को लन्च पर्खिरहूँ झैं बनाउने एउटा अभूतपूर्व लन्च! अर्को शब्दमा भन्नुपर्दा ‘अ पर्फेक्ट डिस’!

फेरि यस्तो पर्फेक्ट डिसलाई मसला नपुगेको सम्बन्ध भन्न मिल्छ? मसला नपुगेको सम्बन्ध यो डिस अथवा फिल्मले देखाएको सम्बन्ध होइन। बरु म त्यो सम्बन्धको कुरा गरिरहेछु जुन फिल्मको कथाभित्र कतै गौण भएर लुकिरहेको छ। कुन सम्बन्ध हो त्यो? किन पुगेन मसला? कुन मसला नपुगेको हो? बिस्तारै खुल्दै जाला।

आउनुस् अहिले मस्तमग्नसँग औंला नै चाटिबसौँ।

मनोविज्ञान

लन्चको माध्यमबाट फिल्मले दुई अलगअलग मनस्थितिबाट सिकिस्तिएका पात्रहरूको अनौठो प्रेमको कथा भनेको छ। स्ट्रेन्ज लवस्टोरी अफ टू स्ट्रेन्जर्स! एउटा पात्र यस्तो छ जसलाई आफू कुनै मनको रोगले खाइरहेको छ भन्ने पनि अब त ख्याल छैन।

उसलाई लाग्छ, ऊ यस्तै नै हो, किनभने उसको रोग, उसको सिकिस्ती नयाँ होइन। त्यहीँ अर्की पात्र यस्ती छे जसलाई भने आफ्नो मन सिकिस्ती टड्कारै महसुस भइरहेछ र त्यसको ओखती समेत ऊ खोजिरहेकै छे। खैर, दुवैको रोगको लक्षणमा एउटा समानता भने छ। र त्यो हो- एक्लोपन!

१. साजन फर्नान्डेज

साजन फर्नान्डेज, रिटायर हुनै हुनै लागिरहेको एउटा सरकारी कर्मचारी जो श्रीमतीको मृत्युुपछि भावशून्य भएको छ र अब त ऊ कुनै पनि किसिमको भावनालाई आफ्नो छेउ पर्नै दिँदैन। ऊ मान्छेहरूसँग हेलमेल रुचाउँदैन। ऊ यति दु:खी र एक्लो छ कि उसलाई दु:ख र पीडाको अनुहार कस्तो हुन्छ भन्ने पनि सम्झिनु छैन। ऊ आफ्नो बाटोमा आएको बिरालोलाई लात्ताले साइड लगाउँछ, उसकै एक लात्तीको कारण बिरालो गाडीको चक्कामुनि परेर प्राण त्याग्छ। तर, त्यो दृश्यले उसलाई किञ्चितै हल्लाउँदैन। बरु उसलाई लाग्छ, बिरालोको सट्टा मान्छे नै मरे पनि मलाई फरक पर्दैन। पत्नीवियोगले उसलाई यति त सिकाइसकेको छ, कि उसले यतिसम्म कठोर त हुनैपर्छ।

ऊ रिटायर हुनुअघि उसले आफ्नो जिम्मेवारीभित्र पर्ने काम असलाम सैखलाई सिकाइदिनुपर्ने भएको छ। खैर, मान्छेहरूबाट तर्किहिँड्ने ऊ सैखबाट पनि तर्किहिँड्छ। घरी भन्छ लन्चको समय भयो, पछि आइज! घरी भन्छ, यति बजे आइज! र त्यति बज्नुभन्दा अगाडि नै बिरालोको चालमा कुलेलाम ठोक्छ। पत्नीवियोगका कारण उसमा देखिएको मालअड्याप्टिव कोपिङ बिह्यावियर (maladaptive coping behaviour)को एउटा उदाहरण हो यो। जसलाई मनोविज्ञानले इस्केप अर्थात् पलायन भन्छ। ऊ चाहँदैन फेरि कोही मान्छेसँग नजिक हुनुपरोस्, सम्बन्ध बनाउनु परोस्, भावना बढाउनु परोस्। त्यसकारण, ऊ सक्दो पलायन रोज्छ र भाग्छ त्यस्ता अवसरहरूबाट।

खैर, हामी जेबाट भाग्छौँ त्यसैले हामीलाई लखेट्दै आउँछ। गल्लीका कुकुरदेखि डराएर भागेर हेर्नुस् त, भुक्दै, लखेट्दै झम्टिन आउँछन्। नडराए, नभागे बरु अपवादबाहेकले चासो पनि गर्दैनन्। तर, साजन फर्नान्डेज त यसरी डराएर भागिरहेको छ, मानौँ उसले आफूसँग संसारकै सबैभन्दा स्वादिष्ट काँचो मासु लिएर हिँडिरहेको छ र उसले जिन्दगीका गल्लीहरूमा भेटिने ती तमाम भावनात्मक कुकुरसँग छलाउँदै त्यसलाई आफ्नो भान्छासम्म पुर्याउनुपर्नेछ। यसरी भाग्दाभाग्दै पनि ऊ लखेटिन्छ, फेला पर्छ र उसले लुकाइहिँडेको मासु भावनात्मक कुकुरहरूले लुछाचुँडी गरी हसुरिदिन्छन्।

त्यो भावनात्मक कुकुर अरू केही नभएर एउटा लन्चबक्स हो, जसको वरिपरि रहेर फिल्मको कथा बगेको छ। मनोविज्ञानको भाषामा भन्नुपर्दा मेलानकलिक ट्र्याकमा एकोहोरिएर हिँडिरहेको ऊ त्यो लन्चबक्सका कारण ट्र्याक-आउट भयो, डिस्ट्र्याक्टेड भयो। लन्चबक्स नै उसको रोगको ओखती हो, डिस्ट्र्याक्सन हो!

२. इला

हरेक सिक्काको दुई पाटा हुन्छन्। यो लन्चबक्सको पनि दुईवटा पाटा छन्। एउटा पाउने र अर्को पठाउने। पाउनलाई साजनले पायो तर पठाउने कुन सजनी हो त? साच्चै पठाउनेको नाम इला नभएर सजनी भएको भए? खैर, राखिएन। नत्र दाजुबहिनी झैं सुनिन्थे कि?

अँ, लन्चबक्स पठाउने पात्र हो इला। छोरी यस्वीलाई स्कुल पठाइसकेर बहुतै अर्थात् एक्स्ट्रा मिहेनत गरेर तयार पारेको यो लन्चबक्स इलाले आफ्नो श्रीमान राजीवलाई पठाएकी हो। हो, लन्चबक्स वास्तवमा साजनको लागि थिएन तर, मुम्बईजस्तो व्यस्त सहरमा सानो सानो गल्ती त भइरहन्छ नै।

लन्चकै कुरा पनि एकछिन इलालाई नै केन्द्रमा राखेर गरौँ। इला कस्ती पात्र हो? लोग्नेको लागि छिमेकी आन्टीलाई गुहारीकन यति मिहेनतका साथ उसले लन्च तयार गर्नुको कारण के हो? अनि, गलत मान्छेले लन्च पाएपछि के हुन्छ इलाको जिन्दगीमा?

हरेक दिन लोग्नेलाई कसरी मीठो पकाएर खुवाउने? ऊ किन मसँग तर्किन्छ? किन हाम्रो सम्बन्धबाट मिठास हरायो? छोरीको समेत चासो नगर्नेगरी लोग्ने मसँग किन बिच्किरहेको छ? धरापमा परेको सम्बन्धलाई कसरी बचाउने? यावत कुराहरूमा मानसिक एवं व्यवहारिक विचरण गरिरहने इला एउटी बिचरी पात्र हो! उसलाई एकमन लाग्छ, कतै मेरो लोग्नेको परस्त्रीसँग पो सम्बन्ध छ कि? त्यसैले ऊ घरी घरी लोग्नेको सर्ट सुँघिबस्छे। मनभित्र पीडाको पहाड लिएर ऊ बाँचेकी छे। परिवारको साथमा बसेर पनि एक्ली छे।

छिमेकी देशपाण्डे आन्टीलाई गुहारीकन इला पुरानो उपाय अपनाउँछे- नयाँ र मसालेदार लन्च पकाएर पठाउने अनि टाढिएको लोग्नेलाई फकाउने! तर, आफ्नो दाम्पत्य जीवन बचाउने इलाको प्रयास मुम्बई डब्बावालाले नाकाम पारिदिन्छ।

अब लन्चबक्सतिर जाऊँ। रित्तो लन्चबक्स फर्किँदा खुसीले भुइँ छोडेकी इला लन्चबक्स साटिएको थाहा पाएसँगै पुन: आफ्नै तनावग्रस्त धरातलमा झरिहाल्छे। एउटी स्वास्नी र छोरीकी आमा भएर गृहिणी जीवन बिताइरहेकी इलालाई लाग्छ मैले लोग्नेलाई आफ्नो बनाउन सकिनँ। मेरो लोग्ने सायद अरू कसैको आफ्नो भइसकेको छ। म एक्ली छोडिएकी छु। छोरी हुर्किँदैछे, लोग्नेको यो पारा छ, म एक्लैले कसरी सम्हालुँली? डब्बावालालाई कम्प्लेन गरूँ? इला आत्तिन्छे! इला झोक्किन्छे! तर, देशपाण्डे आन्टी कम्प्लेन नगर्न सुझाउँछे। बरु चिठ्ठीको भाइ अर्थात् चिट लेखेर पठाउन अह्राउँछे। तब सुरु हुन्छ दुई अपरिचितको अप्रत्याशित दोस्ती। र हुँदै हुँदै प्रेम!

तपाईंलाई याद छ? सुरुमा निदाइरहेकी देशपाण्डेलाई जगाएर पनि इला कदेखि ज्ञसम्म सुनाउने गर्थी। तर, साजनसँगको दोस्तीले बाटो लिन थालेसँगै ऊ आन्टीसँग खुल्न छोडेकी हुन्छे नि! अब ऊ रिसिपी आन्टीसँग सोध्दिन, बरु रेडियोमा सुन्छे। किनकी उसले लोग्नेको मनपसन्द होइन, साजनको मनपसन्द सब्जी बनाउन थालेकी छे। अरू के के ल्याइस्? आन्टीले सोध्दा ऊ बैगुन ल्याएँ भन्दिन, यस्तै उस्तै भनेर टारिदिन्छे! किनभने बैगुन साजनको फेवरेट हो। हो, इला नजानेरै आफ्नो लोग्नेसँग बदला लिन थालिसकेकी छे। मनोविज्ञानको भाषामा भन्नुपर्दा रिभेन्ज चिटिङ। खाली भावनामा कसैलाई आफ्नो मान्छेलाई भन्दा प्राथमिकता दिइने काइदा- ‘इमोशनल रिभेन्ज चिटिङ’! भित्र कतै उसलाई यो अनैतिक लागिरहेको पनि छ। त्यसैले, स्वास्नी भएपछि भातभान्छा गरेर लोग्नेको मन जित्नुपर्छ भन्ने पुरानो सोच राख्ने देशपाण्डे आन्टीबाट इला यो कुरा लुकाउँछे।

खैर, समयले साथ नदिएर मात्र हो, नत्र इला त साजनसँगै लोग्नेलाई छोडेर भुटान जान पनि त तयार थिइन र?

पात्र विकास

१. साजन

अब म जिन्दगीमा कहिल्यै अघि बढ्न सक्दिनँ। म कसैसँग भावनात्मक सम्बन्ध राख्न सक्दिनँ। कोहीसँग नजिकिन सक्दिनँ। मेरो जिन्दगीमा अब कसैको लागि स्थान छैन। यस्तै, सोच्ने विदुर साजन मेरो गर्लफ्रेण्ड छ भन्नसक्ने भएको छ। त्यसपछि पनि, बूढो छु, अब प्रेम र रोमाञ्चका लागि मेरो जीवनमा कुनै ठाउँ छैन सोचेको ऊ अन्तिममा प्रेममा यसरी परेको अनुभूति गरिदिन्छ कि सहर छोडेर गाउँ हिँडेको ऊ पुन: फर्केर आउँछ। इलालाई नगुमाउने अठोटसहित साजन फर्किएको छ। उसले आफ्नो डरसँग सामना गरेको छ। निरसबाट ऊ रसिक भएको छ। भावशून्य विधुर आखिर एउटा रोमाञ्चक प्रेमी भएर निस्किएको छ।

२. इला

लोग्नेको साथबिना म एक्ली छु। कसरी छोरीको जिम्मेवारी उठाउन सकुँली? यो संसारसँग एक्लै सामना कसरी गरूँली? लोग्नेको साथ, कोही आफ्नो मान्छेको साथबिना कसरी सबथोक गरूँली भनी सोच्ने इला कथा अघि बढ्दै जाँदा लोग्नेलाई छोडेर एक्लै भुटानकस लागि निस्किएकी छे। आफू एक्लैको दममा छोरीलाई हुर्काउन सक्ने, संसारको सामना गर्नसक्ने आँट ऊभित्र पलाएको छ।

इला कमजोरबाट बलियो पात्र भएर निस्किएकी छे। निरीह गृहिणीबाट एउटी आँटिली-आत्मनिर्भर एकल आमाको रूपमा इलाको रूपान्तरण भएको छ।

३. सैख

फिल्ममा इम्प्याक्ट क्यारेक्टरको रूपमा आएको असलाम सैखको पात्रत्वमा आधारभूत रूपान्तरण नभए पनि उसको उपस्थितिले मुख्य पात्रको पात्रत्वमा परिवर्तनको लहर भने ल्याएको हो। त्यसो त अनाथ सैखले एउटा नयाँ गार्जियन पाएको छ, हुन नसकिरहेको विवाह त्यसैपछि भएको छ। आर्थिक सम्पन्नता र पदोन्नतिजस्ता वातावरणीय परिवर्तन भने उसको जीवनमा पनि देखिएकै छन्।

तर, अनाथ भए पनि जीवनमा कसैको हात मेरो शिरमा पनि हुन सम्भव छैन र? कसैको प्रेमको लायक मैले किन हुन नपाउने? अनाथ भए पनि म सबै सामान्य मान्छेझैं प्रेमको उत्तिकै लायक छु र खुसीको उत्तिकै हकदार छु। सैखले यही सिद्धान्तलाई कथाको सुरुदेखि अन्त्यसम्मै कायम राखेको छ।

लेयरिङ

१. प्रेम

फिल्म प्रेमको कथा हो। तर, यहाँ साजन र इलाको प्रेमकथा मात्र छैन। इलाकी एक्ली आमा र उसको रोगी बाबुबीचको प्रेमकथा छ, हरदम रोमान्टिक देशपाण्डे आन्टी र जिउँदो लासझैं अचेत उसको श्रीमानबीचको प्रेमकथा छ।

एकातिर वर्षौंअघि मरिसकेकी स्वास्नीप्रति एउटा निसन्तान विधुरको नओइलाउने प्रेम र झरझराउँदी स्वास्नी र कलकलाउँदी छोरीमाथि लुटाउन नसकेको एउटा युवाको ओइलाउँदै गरेको प्रेम!

कतै भने गरीब अनाथ युवक र कुल घरानाकी युवतीबीचको अन्धो प्रेम! कतै जीवनदेखि थकित दुई अपरिचितबीचको पागल प्रेम! अहो, परीपरीका प्रेम-परिकार!

२. भाषा

मानेँ डब्बा त साटियो र स्वाद पाएन राजीवले इलाको हातको। तर, घरमा जब एकसाथ परिवार बसेर खाइरहँदा नि? त्यतिबेला पनि किन स्वाद पाउँदैन ऊ? किन बुझ्दैन, किन देख्दैन, किन जान्दैन ऊ? माया मिसाएर इलाले पकाएकी, प्रेमले पस्किएकी? उसको एक वचन प्रशंसा सुन्न व्यग्र पर्खिरहेकी?

देशपाण्डे आन्टी नदेखेर पनि बुझ्छे, इला यतिबेला हाँसिरहेकी छे। तर, इलाको आँखामै देखिइरहेको पीडा पनि बुझ्दैन, खाली फोन र टिभीमा झुण्डिरहने उसको श्रीमान।

साजन फर्नान्डेज, एउटा क्रिश्चियन जो इलासँग अङ्ग्रेजीमा मात्रै बोल्छ। अनि इला, एक हिन्दू जो हिन्दीमा लेख्छे साजनलाई आफ्ना भावना र दैनिकीहरू। अनि सैख, मुस्लिम, जो एउटा क्रिश्चियनलाई अभिभावक बनाएर गर्छ आफ्नो विवाह।

प्रेम भए कुन भाषा, कुन संस्कार, के दूरी? प्रेमको भाषा प्रेमले बुझ्छ। मानवीयताको भाषा मनले बुझ्छ।

मन नभए आँखैअघिको मान्छे पनि देखिँदैन। प्रेम नभए साथै हुनेको भावना पनि बुझिँदैन। शब्दहरू त कोरा माध्यम न हुन्। प्रेम नै भाषा हो। मन नै भाषा बुझ्ने इन्द्रिय हो।

बिम्ब र प्रतीक

१. लन्चबक्स

लन्चबक्सको सबैभन्दा महत्त्वपूर्ण बिम्ब नै लन्चबक्स हो। फिल्ममा लन्च अर्थात् खानाले प्रेमलाई बिम्बित गरेको छ। आफूसँग दूरी बनाउँदै गइरहेको लोग्नेलाई आफ्नो प्रेम महसुस गराउन इला अनेक रिसिपी सिकेर लन्च तयार गर्छे। पछि उसको दिल साजनमाथि आउँछ। तब उस्तै प्रेमले ऊ साजनको फेवरेट लन्च तयार गर्छे।

त्यसो त, लोग्नेको मृत्यु लगत्तै इलाकी आमाले भोकको जिकीर गर्नु, फलानो थोक खान मन लाग्यो भन्नु पनि बिम्बात्मक रूपमा प्रेमकै भोक महसुस हुनु नै हो। लोग्ने फर्किएर आइदेओस् भन्ने अवचेतनको कामना!

अनि, ट्रेनमै सब्जी काटकुट पार्नु र आफै पकाइतुल्याइ गर्नुपनि सतहमा आदत देखिए पनि गहिराइमा चिहाउने हो भने आफ्नी प्रेमिकाप्रतिको सैखको असीमित प्रेमकै प्रस्फुटन हो।

२. पट्टी

सुरुतिरै जब इला यस्वीलाई स्कुलको लागि तयार गर्दै हुन्छे यस्वीको टाइ टाइट भएर उसका आँखामा पट्टीजसरी बाँधिन्छ। निक्कै झड्कारेर तानेपछी मात्र त्यो आँखाबाट तल घाँटीसम्म ओर्लिएको हुन्छ।

फिल्मको उत्तरार्धतिर अर्को एउटा दृश्य छ जहाँ त्यही टाइ खोलेर यस्वी मामाघरबाट ल्याएको डलको आँखामा पट्टी बाँधिदिन्छे। तर, यतिबेला भने आमा इलाले त्यो पट्टी खोलिदिन्छे। पट्टी खोलिदिँदै इला छोरीलाई भन्छे कि ऊ सानो छँदा त्यही डललाई आफ्नो बच्चा बनाएर घर-घर खेल्थी जहाँ ऊ आमा नबनेर बेबी डलको बाबू बन्ने गर्थी।

बेबी डल अर्थात् छोरीको आँखामा बाँधिएको पट्टी खोल्दै इला आफूमा पितृसत्तात्मक समाजको प्रभाव परेको स्वीकार गर्छे। भलै, यस्वीको यो कुरा बुझ्ने उमेर छैन। तर, साजनले लेखेको कुरा उसको मनभित्र गढिदिएको छ- कसैलाई सुनाइएन भने कति कुराहरू यसै बिर्सिइँदै गइन्छ।

इला बिर्सिन चाहन्न आफ्नो गल्ती। किनभने, ऊ दोहोर्याउन चाहन्न। ऊ त्यही संस्कार छोरीलाई दिन चाहन्न। अघि अघि छोरीले देख्छे कि भनेर डराएर चिठ्ठी पढ्ने इला त्यसपछि, छोरीलाई लिएरै गएकी छ साजनको अफिस। ऊ अब लुकाउन चाहन्न आफ्नो जिन्दगीमा के भइरहेछ। उसले लोग्नेबाट छुट्टिने मन बनाइसकेकी छे।

३. असम्भव के छ?

देशपाण्डे आन्टी सुनाउँछे- आज मैले पंखा सफा गरेँ नि! इला स्तब्ध हुन्छे। पंखा रोकिनु त अंकलको ज्यान जानु हो। कोमामा जिउँदै आएका अंकलको त ज्यान नै पंखामै अड्केको थियो! अहो! यो के गरिन् आन्टीले? कसरी गरिन्?

आन्टी फेरि भन्छे- बुझिस् इला, मैले घुमिरहेको पंखा सफा गरेँ आज! इला दोस्रोपटक स्तब्ध हुन्छे। दोस्रो स्तब्धता यो दु:खमा कि उसले आजसम्म किन कहिल्यै हिम्मत गरिन आफ्नो जीवनको मैलिएको पंखा सफा गर्ने? असम्भव सोचेको कुरा गरेको भए सम्भव पो हुन्थ्यो कि? घुम्दो पंखा सफा गरेझैं!

यसैपछि त ऊ संसारको सामना एक्लै गर्न तम्सिएकी हो।

४. झ्याल

समाजमा घुलमिल गर्न गाह्रो मान्ने साजनको छिमेकमा एउटी सानी फुच्ची छ। बरण्डामा बसेको एक्लो र निराश साजनलाई देखेर फुच्ची झ्याल बन्द गरिदिन्छे। जति साजन आफ्नो जिन्दगीमा खुल्दै जान थाल्छ फुच्ची पनि झ्याल खोल्दै जान थाल्छ।

र एकदिन त फुच्चीले खुला झ्यालबाट पल्लो घरको बरण्डामा टहलिरहेको साजनलाई हातसमेत हल्लाइदिन्छे। छिमेकको यो झ्याल खुल्नुले साजनको जीवन समाजका लागि कति खुला हुँदैछ भन्ने बुझाउँछ।

६. चाउरी

फिल्ममा भएको सबैभन्दा ठाडो बिम्ब यही नै पो हो कि?

इलाका लागी, प्रेमका लागि म बूढो भइसकेँ सोची मुम्बई छोडेर नासिक हिँडेको साजनको ट्रेनमा एउटा बूढो मान्छेसँग भेट हुन्छ। बुढोको चाउरी परेको हातका अगाडि बल्ल साजन आफूलाई अझै झरझराउँदो पाउँछ। अझै कति लामो जिन्दगी बाँकी रहेछ अगाडि! अहो! यति लामो जिन्दगी छ भने म एक्लै कसरी बिताउन सकूँला? इलाले झन् त्योभन्दा लामो जिन्दगी कसरी कटाउली?

तब इलालाई गुमाउने कल्पना साजनलाई भयानक लाग्छ। ऊ नासिकको ट्रेन छोडेर पुन: मुम्बई फर्किन्छ।

७. कन्ट्रास्ट

देशपाण्डे आन्टी एक्ली, इला एक्ली, साजन एक्लो, इलाकी आमा एक्ली, इलाकी छोरी झनै एक्ली। तर, सबै व्यस्त सहरका वासीहरू। जताततै भिड। लन्चबक्स साटिने गरी अस्तव्यस्तता तर, सबैजना कति एक्ला।

त्यो बिल्डिङको छतबाट हाम फ्यालेर प्राण त्याग्ने महिला कति एक्ली थिई होली? केही नबोल्दा पनि अटोचालक सोध्छ साजनलाई- केही भन्नुभएको हो? अरे! कोही त बोलिदेओस्! आफ्ना नबोले बटुवाहरू भए पनि बोलिदिउन्, अपरिचित नै सही, कोही त बोलिदिउन्!

हरेक दिन हजारौं पिठ एकअर्कासँग रगेडिन्छन् तर, छेवैको कर्मचारी अत्को कर्मचारीसँग बोल्दैन। जति उत्सुकताले मन खाइरहोस् तर, एकअर्कासँग बोल्ने फुर्सद आज कसैलाई छैन। देशपाण्डे अंकल उठे भने पनि आजको संसार देखेर कोमामै फर्केलान्।

सहरको भिडमा हरेक मान्छे एक्ला। भिड अनि एक्लोपन, कस्तो राम्रो कन्ट्रास्ट है?

७. चिठ्ठीको भाइ ‘चिट’

अब मसलाको कुरा गरौँ।

मसलाको कुरा गर्न यो भन्दा पर्फेक्ट टाइमिङ कुन पो होला? द लन्चबक्स, मसला नपुगेको सम्बन्धको एउटा ज्वलन्त जीवन्त उदाहरण हो। इला र राजीवबीचको सम्बन्ध त एउटा प्रतिनिधि सम्बन्ध मात्रै हो। यहाँ हरेक सम्बन्ध आज मसला नपुगेर खल्लो भएको छ। एउटा मान्छेको अर्को मान्छेसँग सम्बन्ध अलिनो भएको छ, विलिनो भएको छ। झारा टार्ने मेलोमा चलेको छ हरेक मान्छे-मान्छेको सम्बन्ध-साइनोको भान्छा। प्रेमको भान्छा, करुणाको भान्छा, मानवीयताको भान्छा।

र नपुगेको मसला हो ‘चिट’! चिट मसला अर्थात् ‘संवाद’ !

पुनश्च:

डब्बावालाहरू मानौँ खाना होइन पिकनिक हिँडेका मान्छे लिएर हिँडिरहेका छन्। अहो! त्यो दृश्य! लन्चबक्सहरूको कुम्भमेला! अनि, त्यो कुम्भमेलामा पनि परैबाट टड्कारै चिनिने इलाको डब्बा! वाह! सिनेम्याटोग्राफी!

इलाले कोठामा र साजनले ट्रेनमा सुनिरहेको गीतको संयोग! फ्यान रोकिनु र चल्नुको संयोग! झिंगासँग झिँझिनुको संयोग! दुवैको मनको हाल एउटै छ भन्ने सन्देश पो हो कि? कति संयोग? भन्न मन लाग्दा लाग्दै पनि नसकिने गरी सुन्दर!झट्ट हेर्दा स्ट्रिट आर्टिस्टहरूले बनाएका सबै पेन्टिङ एउटै देखिन्छन्। तर, गौर गरेर हेर्ने हो भने हरेकमा भिन्नाभिन्नै पात्र भेटिन्छन्। हरेक पेन्टिङ एक-अर्कोसँग मिल्दैनन्। तर, फेरिपनि किन किन साजनले एउटामा आफैलाई भेट्टायो।

सायद त्यो पात्रमा पनि कतै कुनै मसलाको कमी थियो। जसले पनि सायद पर्खिरहेको हुँदो हो इलाको लन्चबक्स! अ पर्फेक्ट डिस अब लव!! अ पर्फेक्ट बाइट अफ लाइफ!!!


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved