टिप्पणी

बदलिएको भारत, बदलिनुपर्ने नेपाल

भारत शक्तिशाली हुँदै गर्दा दुई देशको सम्बन्धमा के फरक पर्छ ? यो भन्दा पनि नेपालले लाभ कसरी लिन सक्छ भन्नेमा चिन्तन मनन आवश्यक छ । नेपाल चीनतिर ढल्कियो भन्ने भारतीय जनमत र भारतले नेपाललाई खाँदैछ भन्ने नेपाली जनमतको भाष्य परिवर्तन गराउनु दुवै देशका सरोकारवाला सबैको दायित्व हो ।

बदलिएको भारत, बदलिनुपर्ने नेपाल

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ हमेसा भन्ने गर्छन्– ‘भारतको सेनादेखि घरसम्म नेपालीको पहुँचले दुई देशको सम्बन्ध प्रतिबिम्बित गर्छ । सेनाका जनरलदेखि सिपाहीसम्म नेपाली छन् । भारतको सुरक्षामा काम गर्ने अवसर तेस्रो देशका नागरिकलाई छैन । भारतीय परिवारको सबैभन्दा विश्वसनीय र नजिकको सदस्य नेपाली हो । हामी एक-अर्काको विकास र सुरक्षाका सहयोगी हौँ ।’

यो उनको मात्र नभएर भारतका चिनिएका सबै क्षेत्रका व्यक्तिले भन्दै आएको विषय हो । भारतमा नेपालीको पहुँचको स्तर जुन मात्रामा छ, हाम्रो धरातलीय यथार्थ अनुसार सम्बन्ध सञ्चालनको प्रयास नेपालबाट हुन सकेको छैन । अब २१औं शताब्दी सुहाउँदो र धरातलीय यथार्थ परावर्तित हुने गरी सम्बन्ध सञ्चालन आवश्यक छ ।

हाम्रो इतिहास र वास्तविकता छर्लंग हुँदै छ कि नेपाललाई छिमेकको साथ चाहिएको छ । आजसम्मको यथार्थ अझ यो हो कि हाम्रा लागि दुईमध्ये दक्षिण छिमेकीको महत्त्व बढी छ । उत्तरी छिमेकीको महत्त्वलाई दक्षिण छिमेकीको महत्त्वसँग तुलना गर्न सकिँदैन । उत्तर र दक्षिणसँग हाम्रो सम्बन्धको तुलना आवश्यक हुँदैन । किनभने अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन कुनै देशसँग तुलनात्मक आधारमा होइन, देशको बृहत् राष्ट्रिय आवश्यकताका आधारमा निर्देशित हुन्छ ।

भन्नु पर्दैन कि उत्तरसँग नेपालको सम्बन्धमा व्यावहारिकता कम र औपचारिकता बढी छ । उत्तरसँग हाम्रो जनस्तरको सघन सम्बन्ध भन्दा पनि शासकीय सम्बन्ध छ । दक्षिणसँगको सम्बन्ध बृहत् र बहुआयामिक छ । हाम्रो संलग्नताको तह पनि दक्षिण र त्यो हुँदै  बाँकी विश्वसँग फैलिएको छ ।

भारतका पूर्व विदेश सचिव श्याम शरणले भने अनुसार नेपालको शान्ति प्रक्रियामा भारत एउटा सहयोगी कर्ता हो । शान्ति प्रक्रियाको यहाँ किन उल्लेख गरिएको हो भने त्यसले नै नेपालको पछिल्लो राजनीतिक परिवर्तनको मार्गचित्र कोरेको हो । उहाँ उनलाई गलत बुझियो तर यथार्थ यही हो कि भारतले सहयोग नगरेको भए नेपालमा २०६२ को आखिरीमा तत्कालीन सात दल र माओवादीबीच १२ बुँदे सहमति पनि हुने थिएन र विस्तृत शान्ति सम्झौतापछिका घटनाक्रमको जग त्यसरी बस्ने थिएन ।

यसको मतलब यो होइन कि शान्ति प्रक्रिया र बाँकी राजनीतिक मार्गचित्र सबै उसैको हो । राजनीतिक दलहरुले भारतलाई विश्वासमा लिएर आफैंले शुरु गरेको शान्ति प्रक्रियाको जगमा नेपालले गणतन्त्र सहितको परिवर्तन हासिल गरेको हो । यो यथार्थलाई आत्मसात नगरेसम्म नेपाल भारत सम्बन्ध सही दिशामा अघि बढ्दैन । भारतसँग नेपालको सम्बन्ध नेपालीको जीवन रेखा रहेको सन्दर्भमा यो पृष्ठभूमि सबै राजनीतिक दल र सबैका लागि यादगार हुनुपर्छ ।

भारतीय नेताहरुको हमेसा गुनासो रहँदै आएको छ, ‘हरेक संघर्षमा हामी नेपाललाई सहयोग गर्छौं । तर, नेपालको शासक वर्गले हामीलाई सधैंभरि हस्तक्षेप मात्रै गरेको आरोप लगाउँदै आएको छ । नेपालमा भएको मधेस आन्दोलन समावेशी राजनीतिक बन्दोबस्तीका लागि थियो । तर, यसलाई नेपालका केही दलले राष्ट्रवादी औजारका रूपमा प्रयोग गरे । तीनतर्फबाट भीमकाय भारतले घेरिँदा नेपालले आफूलाई साँघुरिएको महसुस गरेको हुनसक्ने भारतीयको आकलनलाई पनि अस्वभाविकरूपमा लिन नमिल्ला ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जाने तयारीमा छन् । यतिखेर भारत कनेक्टिभिटी, विगतका सम्झौता कार्यान्वयन र डेलिभरि गर्ने पक्षमा छ । भारतले सम्झौता गरेअनुसार पूर्वाधार विकास आयोजना धमाधम कार्यान्वयनका क्रममा छन् । यसबीचमा नेपालले सबैभन्दा बढी सफलता हासिल गरेको भारतसँग विद्युत व्यापारमा हो । नेपालको प्रमुख निर्यात वस्तुका रूपमा स्वच्छ ऊर्जा (विजुली) हो । दुई देशबीचको सम्वाद हुँदै जाँदा नेपालमा उत्पादित बिजुली भारतीय बजारमा निर्बाधरूपमा र बंगलादेशसम्म लैजाने परिस्थिति निर्माण हुनसक्छ ।

नेपाललाई भारतले कुनै पनि ट्रान्जिट कोरिडोर प्रयोग गर्न दिने भन्दै आएको छ । तर, यसका लागि नेपालले स्पष्ट योजना प्रस्तुत गर्न सकेको छैन । कुनै बेला भारत सरकार नेपाललाई बेवास्ता गर्ने अवस्थामा थियो । नरेन्द्र मोदी नेतृत्वको भारत सरकार नेपाललाई साथमा लिएर अघि हिँड्ने पक्षमा छ । भारत सरकार कार्यान्वयनको चरणमा छ । अहिले कोलकाताबाट वीरगञ्जसम्म आउने कार्गोमा इलेक्टोनिक ट्रयाकिङ सिस्टम लागू छ । सीमापार रेलवे (जनकपुर–जयनगर) सञ्चालनमा छ र बाँकी निर्माण तथा अध्ययनको चरणमा छन् ।

भन्नुपर्दैन कि, भारत नेपालमा आफ्नो परम्परागत प्रभाव र सम्बन्धसहितको निरन्तरता चाहन्छ । नेपालसँग सम्बन्ध सुधार गर्नुपर्छ, सुदृढ हुनुपर्छ भन्ने दबाब दिल्लीमा हमेसा छ । भारतको छिमेक नीतिमा राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र विज्ञ समूहहरूको मत महत्त्वपूर्ण हुन्छ । पछिल्लोपटक भारत बदलिएको छ । नेपालबारे भारतका विभिन्न पक्षको कथ्य बदलिएको छ । त्यो के हो भने नेपाल चीनतर्फ ढल्केको व्याख्या र विवेचना भारतका प्रमुख शहरका बौद्धिक र प्राज्ञिक बहसमा बढी नै हुन्थे । तर, अहिले त्यस्तो अवस्था छैन ।

नेपाल र भारतबीच बृहत् सम्वाद हुनुपर्छ । दक्षिण एशियामा एक अर्ब ८० करोड जनसंख्या छ । यहाँको करिब ३४ खर्ब डलर अर्थतन्त्र छ । छिमेकको आवश्यकताका आधारमा सहयोग गर्ने भारतको चाहना देखिँदै आएको छ । भारतको अपेक्षा उसको सुरक्षा चासो सम्बोधन होस् भन्ने हो । यसमा नेपालले भारतलाई थप आश्वस्त बनाउनुपर्छ । नेपालले अहिले, नेपाल र भारतबीच व्यापार असन्तुलन हटाउन प्रयास गर्नुपर्छ ।

हामीले बुझ्नुपर्ने विषय के छ भने भारतको छिमेक प्रथम नीतिका दई आधार छन् । पहिलो, ‘सबका साथ सबका विकास’  र दोस्रो, “एक्ट इस्ट पोलिसी’ । भारत आफ्नो सम्पन्नता र विकास छिमेकमा साझेदारका रूपमा साझा गर्न चाहन्छ भन्ने अभिव्यक्ति भारतीय प्रधानमन्त्री र विदेशमन्त्री डा एस जयशंकरबाट बारम्बार आइरहेको छ । नेपालकै सन्दर्भमा हेर्ने हो भने नेपालले एसियन राजमार्गमा (म्यानमार, थाइल्यान्ड, भारतबीचको) पहुँच पाउँदैछ ।

पूर्वी भारत अहिले विकासको द्रुत गतिमा छ । त्यसबाट नेपालले फाइदा कसरी लिने, यसमा ध्यान दिनुपर्ने आवश्यकता छ । नेपालले एसियन राजमार्गबाट बहुपक्षीय प्लेटफर्म पाउँदैछ । तेस्रो मुलुकको सामुद्रिक बन्दरगाहमा नेपालको पहुँच स्थापित हुन्छ । थाइल्यान्ड, म्यानमार, भियतनाम, बंगलादेशको बन्दरगाह पाउँछ । यो पहुँच नेपालले शून्य लगानीमा पाउनेवाला छ ।

दुई देशको जनस्तरको कुरा गर्ने हो भने हामीले एक-अर्कालाई राम्रोसँग बुझेका छैनौँ । बुझेको भ्रममा बाँचिरहेका छौँ । उत्तर प्रदेश र विहार, उत्तराखण्ड र सिक्किम तथा पश्चिम बंगालको एउटा खण्डबाहेक अरु भारतीय राज्यमा नेपालप्रति खास बुझाइ छैन । उत्तर भारतमा पनि नेपालप्रति विहंगम बुझाइ विकास हुन सकेको छैन । नेपालले पनि भारतलाई बुझ्न सकेको छैन । नेपालीले बिहार र उत्तरप्रदेशलाई पनि राम्ररी बुझ्न सकेका छैनन् ।

कुनै समय नेपाली शीर्ष नेता बिपी कोइरालाले यही चिन्ता व्यक्त गरेका थिए कि यदि नेपाली र भारतीयले एक-अर्कालाई नबुझ्ने हो भने दुई देशको सम्बन्ध अघि बढ्न सक्दैन । अफ्रिका, युरोपदेखि विश्वका किनारालाई बुझ्ने भारतीय जनमतले छिमेकी नेपाललाई नबुझ्ने, नेपालको पनि यही हालत हुने हो भने हामी भविष्यमा कहाँ पुग्छौँ ? भारतसँग सम्बन्धको गुरुत्व मापन गर्ने बेलामा नेपाली नेतृत्वले यो यथार्थलाई गम्भीरतासाथ लिनुपर्छ ।

आजको भारत फरक छ । भारतीय राजनीति गतिशिल छ । नेपालले यसलाई आत्मसात गर्नुपर्छ । नेपालको कतिपय वृत्तले चाहिँ भारत शक्तिशाली हुँदै गएपछि दुई देशबीच ऐतिहासिक, पुरानो सम्बन्ध छ भनिरहेका छन् । यद्यपि, भारत शक्तिशाली हुँदै गर्दा दुई देशको सम्बन्धमा के फरक पर्छ ? यो भन्दा पनि नेपालले लाभ कसरी लिन सक्छ भन्नेमा चिन्तन मनन आवश्यक छ । नेपाल चीनतिर ढल्कियो भन्ने भारतीय जनमत र भारतले नेपाललाई खाँदैछ भन्ने नेपाली जनमतको भाष्य परिवर्तन गराउनु दुवै  देशका सरोकारवाला सबैको दायित्व हो ।

कहिलेकाहिँ खुला सिमानाको चर्चा हुन्छ । तर, यो कुराको चर्चा हुँदैन कि युरोपियन युनियन बन्नुभन्दा पहिल्यै नेपाल र भारतबीच खुला सिमाना थियो । युरोपियन युनियनका मुलुक एक-अर्काबीच खुला हुँदा केही नहुने, नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको खुला सीमानालाई सम्पत्ति (एसेट)का रूपमा हामीले किन प्रयोग नगर्ने ? यसमा विहंगम बहस जरुरी छ ।

यतिबेला, संसार अनिश्चिततामा छ । रुस–युक्रेन युद्धपछि अनिश्चितता थपिँदै गएको छ । अहिले कुनै देशलाई अर्को एउटा देशले भनेको मान्ने अवस्था छैन । एउटा शक्तिराष्टले कुनै विषयमा कसैलाई निर्देशित गर्ने अवस्था छैन र यो सम्भावना पनि छैन ।

शीतयुद्धपछि फेरिएको विश्व परिस्थितिमा साना ठूला सबै देशले शक्तिका रूपमा अभ्यास गरिरहेका छन् । विश्वशक्तिको बहुध्रुवीकरण भइरहेको यो बेलामा नेपालको छिमेकी भारत र चीनको हैसियत गुणात्मकरूपमा बढेको छ । हाम्रो सबैभन्दा निकट छिमेकी भारतको शक्ति र सामर्थ्य निकै द्रुत गतिमा बढिरहेको छ । अहिले अमेरिकाले चीनलाई रणनीतिक प्रतिस्पर्धी मानेको छ । तर, गजब के छ भने शीतयुद्ध ताकाको रुस र अमेरिकाबीच आर्थिक सम्बन्ध थिएन तर अमेरिका र चीनबीच अहिले सघन आर्थिक सम्बन्ध छ ।

यो पृष्ठभूमिमा नेपालले आफू केन्द्रित विदेश नीति तर्जुमा गरेर सञ्चालन गर्नु आवश्यक छ । देश केन्द्रित विदेश नीतिमा राजनीतिकरण वर्जित गरिनुपर्छ । फेरि पनि नेपाल-भारत सम्बन्धको अपरिहार्यतालाई विदेश नीति सञ्चालनको प्रमुख प्राथमिकतामा राख्नु अनिवार्य छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved