विजय हितानको ‘लाहुरेको रेलिमाई’ लोकार्पण

नेपालभ्युज

विजय हितानको ‘लाहुरेको रेलिमाई’ लोकार्पण

काठमाडौं । लेखक विजय हितानको ‘लाहुरेको रेलिमाई’ उपन्यास लोकार्पण भएको छ । शनिवार काठमाडौंको शिल्पी नाटकघरमा आयोजित एक समारोहका बीच हितानको ‘लाहुरेको रेलिमाई’ लोकार्षण गरिएको हो । उपन्यास समालोचक प्राध्यापक गोविन्दराज भट्टराई, लेखक तथा चलचित्र निर्देशक प्रकाश सायमी, कवि विमला तुम्खेवालगायतले सार्वजनिक गरेका हुन् ।

नेपाली गीतसंगीतका अग्रणी मानिएका मास्टर मित्रसेन थापामगरको जीवनकथामा आधारित उपन्यास डायरीको रूपमा प्रस्तुत गरिएको छ । उपन्यास ८० प्रतिशत मास्टर मित्रसेनको यथार्थ जीवनवृत्तमा आधारित रहेको लेखक हितानले बताए । “सन् २०१५ देखि ६ वर्ष निरन्तर अनुसन्धान गरेको छु । मित्रसेनको पुर्ख्यौली थलो पर्वतदेखि जन्मथलो भारतको भाग्सु धर्मशालासम्म, मित्रसेनबारे भारतीय लेखकका पुस्तकदेखि नेपाली लेखक तथा विद्यावारिधि शोधार्थीसम्म, बेलायत, बेल्जियम र फ्रान्समा रहेका युद्ध स्मारक, युद्ध संग्रहालयहरू चहारेँ । परिवारजनदेखि मास्टर मित्रसेन सिञ्जाली थापामगर प्रतिष्ठानसम्म सम्पर्क गरेर अनुसन्धान गरेर यो आख्यान तयारी भई प्रकाशनमा आएको हो,” लेखक हितानले भनेका छन्, “बाँकी २० प्रतिशतचाहिँ साहित्यिक विमर्शहरू पनि छन् । डायरीको प्रस्तुतिमा प्रस्तुत गरेको छु ।”

मास्टर मित्रसेन (१८९५ डिसेम्बर २९–१९४६ अप्रील ६) नेपाली संगीत क्षेत्रमा लोकगायक, कवि, नाटककार, निबन्धकार, गीतकार र संगीतकारका रूपमा चिनिन्छन् । उनै मित्रसेनले गाएका ‘लाहुरेको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको..’ गीतलाई नेपाली समुदायमाझ चर्चित छ । त्यही गीतको बोललाई लिएर हितानले ‘लाहुरेको रेलिमाई’ उपन्यास लेखेका हुन् ।

मित्रसेन १/१ गोर्खा राइफलका सैनिक थिए । प्रथम विश्वयुद्ध लड्न उनलाई उत्तरी फ्रान्स अनि मेसोपोटामिया (इराक र सिरिया) लगिएका थिए । युद्ध रोकिएपछि निवृत्त भएर उनले नेपाली संगीत, साहित्य र समाजसेवामा बाँकी जीवन समर्पित गर्दै भारत र नेपालका विभिन्न स्थानमा पुगेका थिए । उनको योगदानलाई लिएर भारत सरकारले ‘मास्टर मित्रसेन’को हुलाक टिकट प्रकाशन गरेको थियो । यसैगरी नेपाल सरकारले समेत ‘मास्टर मित्रसेन’को हुलाक टिकट प्रकाशन गरेको थियो ।

५६ वर्षीय हितान स्वयम् ब्रिटिस गोर्खा पल्टनबाट अवकाशप्राप्त लाहुरे हुन् । बेलायतको युनिभर्सिटी अफ ग्रिनवीचबाट वातावरण विषयमा स्नातकोत्तर गरेका उनी त्यहीँ वातावरण विज्ञका रूपमा कार्यरत छन् । पर्या साहित्य साहित्यकारका रूपमा बढी चिनिते हितानका ब्लु प्लानेट, बिछोडअघिको रात, बागमती ब्लुज, थकित पृथ्वी, इको उत्सर्जनलगायतका विभिन्न विधामा आधारित कृतिहरू बजारमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved