आठौंपटक मन्त्रिपरिषद् विस्तार हुँदै, समाजवादीले निहुँ खोज्दा प्रधानमन्त्री अफ्ठ्यारोमा

नेपालभ्युज

आठौंपटक मन्त्रिपरिषद् विस्तार हुँदै, समाजवादीले निहुँ खोज्दा प्रधानमन्त्री अफ्ठ्यारोमा
फाइल फोटो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म (भोलि) आइतबार बेलुकीसम्म मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गठबन्धनका दलबीच मन्त्रिपरिषद् विस्तार छिट्टै गर्न मोटामोटी सहमति भइसकेको छ। तर, एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने थप एक मन्त्रालय मागेर प्रधानमन्त्रीलाई अफ्ठ्यारो बनाइरहेका छन्।

प्रचण्ड प्रधानमन्त्री भएदेखि यता मात्रै सातौँपटक मन्त्रिपरिषद् पुनर्गठन भइसकेको छ। गठबन्धनका दलबीच सरकार छाड्ने र भित्रिने क्रम निरन्तर रहेका कारण अझै पनि सरकारले पूर्णता पाउन सकेको छैन। अझै ६ मन्त्रालय रिक्त छन्।

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा शनिबार बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग छलफल गरेका थिए। तर, एकीकृत समाजवादीले थप एक मन्त्रालय मागेपछि छलफल बिनानिष्कर्ष सकियो।

यसअघि, एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपंक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री भइसकेका छन्। सो पार्टीले थप एक मन्त्रालय मागेको तर राज्यमन्त्री दिने कुरा आएको बुझिएको छ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष नेपाललगायत दोस्रो तहका अन्य नेता पनि सहभागी थिए। छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा र समाजवादीबाट महासचिव घनश्याम भुसाल र किसान श्रेष्ठ पनि उपस्थित थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved