वर्ष ०८० को ‘कुण्डली’ : अकल्पनीय व्यक्ति सत्तामा पुग्नसक्ने, प्रतिष्ठित व्यक्तिको अकस्मात् निधन हुनसक्ने

प्रतिष्ठित व्यक्तिको निधनले राजनीतिमा संकट आउनसक्छ । सावधानी नअपनाए न्यायपालिकाले कार्यपालिकालाई कब्जा गर्न खोज्ने खतरा छ ।

नेपालभ्युज

वर्ष ०८० को ‘कुण्डली’ : अकल्पनीय व्यक्ति सत्तामा पुग्नसक्ने, प्रतिष्ठित व्यक्तिको अकस्मात् निधन हुनसक्ने

काठमाडौं । शुक्रबार वर्ष २०८० सुरू भएको छ । विक्रम सम्वत्‌को पात्रोअनुसार शुक्रबार यस वर्षको अन्तिम पहिलो दिन हो । ३ सय ६५ दिनपछि सधैँझैँ यो वर्षको पनि समीक्षा हुनेछ । सञ्चारमाध्यमहरूले देशमा प्राप्त उपलब्धि र भोगेका अप्ठ्याराहरूको वार्षिक फेहरिस्त पुनः सम्झना गराउने चलन त छँदैछ ।

राजनीतिक प्रक्रियाका दृष्टिले वर्ष २०७९ उत्साहप्रद नै रह्यो। बितेको वर्षले पनि केही उत्साह र सम्भावना देखाएको छ। केही निराशा र भद्रगोलसमेत बिम्वित गरेको छ। यो वर्ष २०८० भने कस्तो रहला त ? हुन त अघिल्लो वर्ष २०७९ ले पनि यो वर्षको सम्भावना पनि देखाएको छ । पं. ओजराज लोहनीले वर्ष २०८० को पंञ्चाङको विश्लेषण गर्दा यो वर्षको सम्भावित मुख्य घटनाक्रमहरू यस्तो अनुमान गरिएको छ ।

प्राकृतिक प्रकोपले जनधनको क्षति हुनसक्छ

पं. ओजराज लोहनीकाअनुसार वर्ष २०८० मा पिंगल नाम संवत्सरले पित्तप्रकोप वायु-बिकार थरिथरीका अज्ञात रोग प्रकट हुने सम्भावना रहन्छ । बाढी, पहिरो प्राकृतिक प्रकोपले जनधनको क्षति हुन सक्छ । औषधि उत्पादनबाट राज्यले सरसहयोग गरेमा आर्थिक लाभ राम्रै हुनेछ । आधुनिक बहानहरू देशमा भित्रिनेछन् । २०८० सालको वर्षमा राजा बुध, मन्त्री शुक्र छन्। राजा र मन्त्री दुवै एक अर्कामा मित्र भाव राख्ने अनि बुध राजा भएर शुक्रको नक्षत्रमा, शुक्र मन्त्री बनेर चन्द्रमाको नक्षत्रमा छन्।

शुभग्रह भएकाले वर्षभरि शुभ कार्य धेरै हुनेछन् । यज्ञ यज्ञादिमा रुचि बढ्नेछ। धार्मिक पर्यटनमा लाभ उठाउन सकिने वर्ष हो। वाणिज्य कारक बुध राजा भएको हुँदा निर्यातमा बढोत्तरी हुनेछ।

राजा मन्त्रीको नक्षत्रमा, मन्त्री चन्द्रमाको नक्षत्रमा बसेकाले महिलाशक्ति राज्य सञ्चालनमा र देश निर्माणमा पुरुषभन्दा अग्र हुनेछन्। विज्ञानमा चासो बढ्नेछ। प्राकृतिक स्रोतको खोजीमा जनचासो बढ्नेछ। यसवर्षको ग्रह गठनमा राजा र मन्त्रीलाई हेर्दा नपुंसक ग्रह राजा, स्त्रीग्रह मन्त्री पदमा आसीन छन्। राज्य सञ्चालनमा मन्त्रीको प्रभाव बढी हुनेछ। वाणिज्य कारक बुध, विज्ञान कारक शुक्रको विशेष प्रभाव रहने हुँदा वर्षको आरम्भमा अधिकार प्राप्तिका आवाज प्रशस्तै उठ्ने सम्भावना रहन्छन्।

धर्म र न्यायका निम्ति महिलाहरूले प्रभावशाली भूमिका निभाउन र ठोस कार्यलाई अगाडि सार्ने प्रयत्न गर्नेछन्। मन्त्री पदमा आसीन शुक्रले प्रशासनिक दक्षतालाई महिला तथा वैज्ञानिकहरूबाट निर्देशनात्मक तवरले बढावा दिने हुँदा राजनीतिलाई प्रतिबद्धता उन्मुख गराउन बल पुग्नेछ ।

राजनीतिमा स्वेच्छाचारिता बढ्न सक्ने

राजनीतिक दलले नियन्त्रणमा लिने प्रयास गर्दा राजनीतिमा स्वेच्छाचारिता बढ्ने सम्भावना रहन्छ। परिणामस्वरूप समाजमा विचलन आउन सक्छ, बौद्धिक वर्गहरू संगठित हुँदा शुभ ग्रहको प्रभाव बलियो रहेकाले सबैले धैर्य धारण गर्दै समन्वयतिर जोडिने प्रयास गर्नेछन्। त्यसबाट सकारात्मक प्रभावलाई बल पुग्नेछ। संयम र सजग भएमा ऐतिहासिक कार्य गर्ने अवसर मिल्नेछ।

यसवर्षको वर्ष प्रवेश कन्या लग्नमा भएको छ। यो द्विस्वभाव लग्न भएकाले राज्य सञ्चालकहरू द्विविधामा पर्नसक्ने सम्भावना हुन्छ । लग्नेश, चतुथेश, सप्तमेश र दशम भावको मालिकद्वारा बनेको लग्नादि योगले बलियो बनाएको छ। भाग्येश, पञ्चमेशको महत्त्वपूर्ण भूमिका हुन्छ ।

ग्रह वक्र र मार्ग, ग्रहको संयोग, उच र नीच सबैको अवस्थालाई मिलाउनुपर्छ । वर्ष आरम्भ हुँदा चन्द्रमा मकर राशीमा बस्छ। नेपालको राशिदेखि तृतीय स्थानमा भएकाले शुभ हो। लग्नेश र दशमेश भई बुध वर्ष लग्नबाट अष्टम भावमा लग्नादि योग बनाएर रहँदा बलशाली हुन्छन्।

सप्तमेश र चतुर्थे गुरु, जगलग्नदेखि सप्तम भावमा छन् । गुरु वर्षारम्भ हुँदाको समयमा नेपालको राशिदेखि पञ्चम भावमा अस्त छन्। वर्ष लग्नदेखि सप्तम भावमा बसेर लग्नमा दृष्टि दिने हुँदा देशले गति लिनेछ। नवमेशर द्वितीयेश शुक्र नवम भावमा रहेको छ। लग्नेश तथा दशमेश बुध, चतुर्थे र सप्तमेश गुरु, पञ्चमेश शनिबाट बनेको लग्नादि योगले बलशाली बनाएको छ।

पं. ओजराज लोहनी

न्यायपालिकाले कार्यपालिकालाई कब्जा गर्न खोज्ने

०८० सालको वर्षारम्भमा दशमभावमा सेनाधिपति मङ्गल मकर राशिमा, चन्द्रमा, सूर्य, बुध राहु अष्टमभावमा, शनि षष्ठ भावमा कुम्भ राशिमा रहेकाले ग्रहस्थितिले निकै उचारचढाव सामना गर्नुपर्ने छ। विशेष गरी राजनीति, धर्म र न्याय क्षेत्रमा विचलन ल्याउन सक्छ। केही गरी सावधानी नअपनाए न्यायपालिकाले कार्यपालिकालाई कब्जा गर्न खोज्छ। यो अवस्था जटिल हुने भएकाले सजग सचेत हुनु जरुरी छ।

वर्षारम्भ लग्नदेखि दशममा देशको राशिदेखि अष्टममा छन्। २०८० वैशाख २९ गतेसम्म मङ्गल मिथुन रहँदा राजनीतिमा संकट, आगलागी, भूकम्प, आँधीहुरीका साथै विमान दुर्घटनामा महत्त्वपूर्ण व्यक्तिको निधन हुनसक्छ।

शुक्रको सम्बन्ध सम्पूर्ण विज्ञान, विशेषतः स्वास्थ्य विज्ञान, स्त्री, भोगविलाश, सुन्दरता, सम्भोगमा रहन्छ। वर्षारम्भमा वर्ष लग्नदेखि नवम र देशको राशिबाट सप्तम कूटनीतिक भावमा रहने हुँदा महिला हिंसामा अग्रसर पुरुष र महिला अधिकारमा अग्र महिलाहरूको द्वन्द्व बढ्नसक्ने र संयमित महिलाहरूले उच्छृङ्खल पुरुषहरूलाई किनारा लगाउने देखिन्छ। मंगलले दक्षिणको, भूमिको तथा स्वदेशको प्रतिनिधित्व गर्ने हुँदा यस्तो स्थितिमा दक्षिणको चलखेल बढेर देशमा आन्तरिक विवाद हुने सम्भावना रहन्छ।

आ–आफ्नो स्वार्थले प्रेरित शक्तिको चलखेलमा राष्ट्रिय संकट आउन सक्छ। यस्तो समयमा अज्ञात रोग प्रकट हुनसक्ने, चोरी, अराजक कार्य, प्राकृतिक विपत्ति आउनसक्छ ।

विदेशीको उक्साहटमा नेतृत्वहरू गलत मार्गमा लाग्न सक्ने

असार ३१ गतेदेखि बक्र भएका मन्त्री शुक्र भाद्र १२ गते मात्र मार्गी हुनेछन्। सोही समयमा श्रावण १८ अस्ताउँदै भाद्र १ गते उदाउनेछन्। यस्तै श्रावण ३१ गते राजा बुध बक्री हुँदै भाद्र ६ गते अस्ताएर भाद्र २१ गते उदाउने, २३ गते मार्गी हुनेछन् । वर्षका राजा, मन्त्रीका बक्र योगले अविभावकीय भूमिका निर्वाह गर्नुपर्ने बौद्धिक वर्गहरू सुरक्षा, शिक्षा, प्रशासनिक र न्याय क्षेत्रमा न्यायोचित मार्गलाई बेवास्ता गर्दै स्वार्थमा प्रेरित हुन सक्ने सम्भावना बलियो रहनेछ ।

यस्तो अवस्थामा सुरक्षा, न्याय र धर्म एकसाथ जुटेर कार्यपालिकालाई अवज्ञा गर्दै राजनीतिलाई नियन्त्रणमा लिन खोज्दा मौका हेरी बसेका विदेशीको उक्साहटमा नेतृत्वहरू गलत मार्गमा लाग्न सक्छन्। राजनीतिक संकट आउन सक्नेछ। चुनौती र अवसरमध्ये अवसरलाई उपयोग गर्दै विषम् परिस्थितिलाई धैर्यसाथ नेतृत्वले कदम चालेमा वर्षारम्भको ग्रह गोचर बलियो रहेकाले देशले ऐतिहासिक सफलता हासिल गर्ने मार्ग अवलम्बन गर्नेछ ।

विदेशीको ठाडो हस्तक्षेप हुन सक्ने

सचेत र सजग नभएमा विदेशीको ठाडो हस्तक्षेप हुन सक्ने बढी सम्भावना रहन्छ। त्यसकारण जनधनको क्षति हुनुको साथै अर्थतन्त्रमा ठूलो नोक्सान भई राष्ट्र असफलताउन्मुख हुन सक्छ। सत्तासमेत परिवर्तन हुन सक्छ। विस्थापित शक्तिले अवसर पाउन सक्छन्, अकल्पनीय व्यक्तिको अकस्मात् उदय भएर ऐतिहासिक कार्य गरेर देशलाई नयाँ रूप दिने सम्भावना रहन्छ। प्रतिष्ठित व्यक्तिको निधनले राजनीतिमा संकट आउन सक्छ।

वर्ष लग्नदेखि भाग्यभावमा शुक्र सप्तम भावमा, गुरु देशको राशिदेखि पाँचौँ शिक्षितहरूले शिक्षाको सदुपयोग गर्नेछन्। वर्ष लग्नदेखि आठौँमा रहेको राहुले विदेशी ऋण बढ्ने सम्भावना हुन्छ।

केही समय बुध, शुक्र बक्र हुनेले राज्यले बाटो बिराउँदा संघर्षमा जनता आन्दोलित हुनेछन्।

प्रजातन्त्रमा सार्वभौम जनता भन्ने भनाइलाई सार्थक बनाउन यस वर्ष ग्रहले साथ दिनेछ। यो समयमा संयम नभए देश संकटग्रस्त भइ असफल वा परिवर्तनको दिशामा उन्मुख हुन सक्छ।

यो वर्ष मकरलाई अन्त्य, कुम्भलाई मध्य र मीन राशिलाई आद्य साढेसाती रहनेछ । कर्कट तथा वृश्चिक राशिलाई अढैया शनि रहनेछ। अढैया शनिले जन्म कुण्डलीमा शनि राम्रो भएमा बिगार नगर्ने, राम्रो भने कसैलाई नगर्ने हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved