कृतिम खुट्टाको सहायताले सगरमाथा चढ्दै हरि, भन्छन्- ‘नेपालीको शिर उच्च राख्छु’

हरिले यसअघि नै मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), मेरापीक (६,४७६ मिटर) लगायतका हिमाल आरोहण गरिसकेका छन् ।

नेपालभ्युज

काठमाडौं । दुवै खुट्टा गुमाएका आरोही हरि बुढामगर सगरमाथा चढ्ने भएका छन् । सगरमाथा चढ्ने प्रयोजनका लागि बुधबार उनी आफ्नो टोलीसँगै सोलुखुम्बु प्रस्थान गरेका छन् ।

उनले आफूले सगरमाथा चढेरै देखाउने साहस लिएको बताएका छन् । ‘म सगरमाथाको चुचुरोमा पुगेरै फर्किन्छु भन्नेमा कन्फिडेन्ट छु,’ हरिले भनेका छन्, ‘म उत्साहित छु ।’

त्यसअघि उनले भने, ‘सगरमाथा चढ्नुभन्दा पहिले मैले धेरै समस्याका सगरमाथा चढेँ । मुख्यत हामीलाई फन्ड रेजिङ्गमा समस्या देखियो । हामीजस्तो अपाङ्गलाई मान्छेहरूले पत्याउँदैनन् । त्यसमा धेरै दु:ख गर्नुपर्‍यो । सुरूमा उहाँहरूलाई विश्वास गराउन सकिएन । तर, अहिले उहाँहरूलाई विश्वास गराउन सकिएको छ । अहिले जाँदै गर्दाखेरि उत्साहित छु । मजस्ता धेरै अपाङ्गता भएका व्यक्तिहरू चढ्नुभएको छ । म पनि सकुशल चढ्न सक्छु भन्ने मलाई लागेको छ ।’

उनले आफूले सगरमाथा चढेर नेपाल र नेपालीको शिर उच्च राख्ने बताए । ‘म कन्फिडेन्ट छु । सगरमाथा चढेर नेपालको शिर उच्च राख्छु ।’

हरि पूर्वगोरखा सैनिक हुन् । उनका दुईवटै खुट्टा छैनन् । उनी कृतिम अर्थात् प्रोस्थेटिक खुट्टाको सहायतामा सगरमाथा चढ्न लागेका हुन् । उनी कृतिम खुट्टाको सहायतामा सगरमाथाको आधारशिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्तिसमेत हुन् ।

सगरमाथा चढ्नका लागि उनले विगत ५ वर्षयता तयारी गरिरहेका थिए ।

सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका उनका घुँडाभन्दा तल दुवै खुट्टा छैनन् । यद्यपि उनले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), मेरापीक (६,४७६ मिटर) लगायतका हिमालहरू आरोहण गरिसकेका छन् ।

रोल्पाको मिरूल गाउँमा सन् १९७९ मा जन्मिएका हरि यसअघि पनि सगरमाथा आधारशिविरसम्म पुगिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved