खानेपानीको बजेट माग्दै हर्क साम्पाङको टोली सिंहदरबारमा, माग पूरा नभए धर्ना बस्ने चेतावनी

प्रधानमन्त्रीदेखि मन्त्रीलाई भेटेर बुझाए मागपत्र

धरानमा खानेपानी वितरण कार्यमा दिनहुँजसो श्रमदान गरिरहेका मेयर साम्पाङको टोलीले काठमाडौं आएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि तीनजना मन्त्रीलाई भेटेका छन्। टोलीले माग पूरा नभए सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका थिए।

नेपालभ्युज

खानेपानीको बजेट माग्दै हर्क साम्पाङको टोली सिंहदरबारमा, माग पूरा नभए धर्ना बस्ने चेतावनी

काठमाडौं। धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानको खोजी गर्दै काठमाडौं आएको धरानका मेयर हर्क साम्पाङ नेतृत्वको टोलीले प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई भेटेर ज्ञापन पत्र बुझाएको छ।

धरानमा खानेपानी वितरण कार्यमा दिनहुँजसो श्रमदान गरिरहेका मेयर साम्पाङको टोलीले काठमाडौं आएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि तीनजना मन्त्रीलाई भेटेका हुन्।

नगरमा लामो समयदेखि खानेपानी समस्या भएकाले त्यसको सम्बोधनका लागि प्रधानमन्त्री र विषयगत मन्त्रीहरूलाई पनि भेटेर बजेट माग गर्दै सरकारको ध्यानाकर्षण गराएको हो।

प्रधानमन्त्रीलाई भेटेर मागपत्र बुझाउँदै धरानका मेयर हर्क साम्पाङको टोली

मंगलबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर आएपछि सो टोलीले सिंहदरबारमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, सहरी विकास मन्त्री सीता गुरुङ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलाई भेटेर मागपत्र बुझाएको हो।

माग पत्रमा ‘कोसी नदीबाट धरानमा खानेपानी झार्ने बजेट विनियोजन’ गर्नुपर्ने उल्लेख छ। मेयरसँगै उपमेयर आइन्द्रविक्रम बेघा पनि छन्।

बिहान बालुवाटारमा मेयर साम्पाङसहितको टोलीले आगामी आर्थिक वर्षको बजेटमा धरानको खानेपानी योजनालाई समेटिदिन प्रधानमन्त्रीसँग आग्रह गरे।

उपमहानगरले प्रधानमन्त्रीलाई बुझाएको माग पत्रमा धरानको खानेपानीको लागि अनेक प्रयास भए पनि दीर्घकालीन समस्या समाधान गर्न कोसीको पानी ल्याउनुपर्ने आवश्यकता उल्लेख छ।

सिंहदरबारमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई मागपत्र बुझाउँदै धरानका मेयर हर्क साम्पाङको टोली

उक्त योजनाका लागि खानेपानी मन्त्रालयले डीपीआरसमेत तयार पारेकाले बजेट विनियोजन गर्न माग गरिएको छ। उपमेयर आइन्द्रविक्रम बेघाले भने ‘‘धरानको सडक, खानेपानी र पूर्वाधार विकासलाई फोकस गरेका छौँ।

प्रधानमन्त्रीज्यूले खानेपानी समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताउँदै बजेटले सम्बोधन गर्ने आश्वासन दिनुभएको छ। बजेट हालिदिने भन्नुभएको छ।’’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई मागपत्र बुझाउँदै धरानका मेयर हर्क साम्पाङको टोली

उपमहानगरले बानियाँटार जलाशय निर्माणका लागि पनि बजेट मागेको मेयर साम्पाङले बताए। धरान– २० मा रहेको उक्त जलाशय निर्माण गर्न सके बर्खामासमा सर्दु र खर्दु खोलाको पानी सञ्चित गरेर कम्तीमा ४ महिना पुर्‍याउन सकिने उपमहानगरले भनेको छ । यसका लागि साढे १ अर्बको बजेट लाग्ने अनुमान गरिएको छ।

साम्पाङको टोलीले धरान क्षेत्रबाटै प्रतिनिधिसभामा निर्वाचित जसपा नेता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई भेटेर धरानको शिक्षासम्बन्धी योजना सुनाए। उनले पनि सहयोग गर्ने बताएका छन्।

सिंहदरबारमा सहरी विकासमन्त्री सीता गुरुङलाई मागपत्र बुझाउँदै धरानका मेयर हर्क साम्पाङको टोली

यसअघि, धरानका टोलीले सोमबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई भेटेको थियो।

भेटमा कोसीबाट धरानमा खानेपानी ल्याउने योजनामा बजेट माग गरेको थियो। श्रेष्ठले विस्तृत परियोजना प्रतिवेदनअनुसार मात्र बजेट खर्च गर्नुपर्ने सुनाएका थिए। साम्पाङको टोलीले माग पूरा नभए सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका थिए।

बालेन साह र हर्क साम्पाङबीच पहिलो पटक भेट, के भयो कुराकानी  ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved