प्रहरी कार्यालय भत्काएर व्यापारिक कम्प्लेक्स बनाउँदै ललितपुर महानगर

बिचौलियाको प्रभावमा जनप्रतिनिधि

नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा संरक्षण गर्नुपर्ने दायित्व स्थानीय सरकारको हो। तर, उल्टै महानगरले भने निजी कम्पनीलाई लिजमा दिन लागेको छ, त्यो पनि प्रहरी चौकी हटाएर।

नेपालभ्युज

प्रहरी कार्यालय भत्काएर व्यापारिक कम्प्लेक्स बनाउँदै ललितपुर महानगर

काठमाडौं। ललितपुर महानगरपालिकाले वडा नम्बर १२ लगनखेलस्थित वडा प्रहरी कार्यालयको भवन भत्काएर व्यापारिक कम्प्लेक्स बनाउने प्रक्रिया थालेको छ। स्थानीयले विरोध जनाउँदा जनाउँदै पनि महानगरले ०४६ सालदेखि प्रहरी कार्यालयका रूपमा रहेको सरकारी भवन जबरजस्ती भत्काउन लागेको हो।

नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा संरक्षण गर्नुपर्ने दायित्व स्थानीय सरकारको हो। तर, उल्टै महानगरले भने निजी कम्पनीलाई लिजमा दिन लागेको छ, त्यो पनि प्रहरी चौकी हटाएर।

करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा प्रहरी दरबन्दी थपेर डिएसपीको कमान्डमा वृत्तका रूपमा विकास गर्ने तयारी छ। ललितपुरमा हाल दुई वटा मात्रै वृत्त छन्। त्यसैले अर्को वृत्त अत्यावश्यक देखिन्छ।

सो क्षेत्रमा घना बस्ती र धेरै जनसङ्ख्या भएको हुँदा आपराधिक गतिविधि बढी हुने गर्छ। त्यसलाई नियन्त्रण गर्न प्रहरी दरबन्दी थपेर डिएसपीको कमान्डमा वृत्तका रूपमा विकास गर्ने जिल्ला प्रहरी परिसरको योजना रहे पनि महानगरले विस्थापन गर्न खोजेको हो।

बसपार्क र घना बस्तीमा रहेको प्रहरी कार्यालय हटाएपछि शान्ति सुरक्षामा असर पर्ने खतरा छ। तर, महानगरले भने अमुक व्यापारीको स्वार्थमा प्रहरी चौकीको भवन भत्काउने भन्दै नयाँ व्यापारिक भवन बनाउन ठेक्का दिएपछि स्थानीय असन्तुष्ट छन्।

आफ्नो स्वामित्वमै नभएको जग्गा महानगरको कब्जामा

ललितपुर महानगरपालिका वडा नम्बर ५, ६, १२, १३, १४, १५, १९ र २० भित्रको शान्ति सुरक्षाको जिम्मा त्यही कार्यालयको हो। वरिष्ठ सइको कमान्डमा ३५ जना प्रहरी दरबन्दी रहेको त्यस कार्यालयमा हाल ४८ जना प्रहरी कार्यरत छन्।

सो क्षेत्रमा जुवा, पकेटमार, लुटपाट, चोरी, बलात्कारजस्ता घटना धेरै हुने गर्छ। सोही कारण जिल्ला प्रहरी परिसर जावलाखेलले दरबन्दीभन्दा बढी सुरक्षाकर्मी त्यस कार्यालयमा राखेको छ। तर, महानगरपालिकाले सो प्रहरी कार्यालय डोजर लगाएर भत्काउने तयारीपछि स्थानीय र प्रहरी असन्तुष्ट छन्। प्रहरी चौकी हटाइएपछि त्यस क्षेत्रको शान्ति सुरक्षामा समस्या आउने भन्दै स्थानीय चिन्तित छन्।

बटुक भैरव टोल सुधार समितिका अध्यक्ष राजन ठकुरी भन्छन्, ‘‘यहाँबाट प्रहरी कार्यालय हटे, पुरातात्त्विक महत्त्वका मूर्ति तथा अन्य बहुमूल्य वस्तु हराउने जोखिम छ। चेरी लुटपाट धेरै भइरहन्छ। अब सानो ठाउँमा थोरै प्रहरी बस्छन्। जस कारण यो क्षेत्रको सुरक्षामा ध्यान पुग्दैन।’’

प्रहरी चौकी भत्काएर महानगरले आफ्नो स्वामित्वमै नभएको जग्गामा व्यापारिक कम्प्लेक्स बनाउन ठेक्का सम्झौतासमेत गरिसकेको छ । त्यहाँबाट साततले भवन बनाउने गरी गत १२ असारमा ठेक्का सम्झौता गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved