राष्ट्रपति र उपराष्ट्रपति दुवै ‘राम’, कस्तो होला अबको ‘रामराज्य’

नेपालभ्युज

राष्ट्रपति र उपराष्ट्रपति दुवै ‘राम’, कस्तो होला अबको ‘रामराज्य’

काठमाडौं। नयाँ उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव विजयी भएका छन्। यस अघि फागुन २५ गते राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएका थिए।

तनहुँका ७८ वर्षीय ‘राम’ र बाराका ५२ वर्षीय ‘राम’ दुवै पुरुष हुन् तर, मर्यादा पुरुष हुने हुन् वा आलोचनाका पात्र त्यो भने हेर्न बाँकी छ। अनि ‘सेरेमोनियल’ भएपनि प्रमुख पदमा रहेका यिनको ‘रामराज्य’मा जनताले सास्ती पाउने वा सास्तीमुक्त हुने त्यसको परीक्षा आजैबाट सुरु हुनेछ।

रामचन्द्रले निर्वाचित भएको १६ घण्टा नबित्दै पशुपति र गुह्येश्वरी मन्दिर दर्शन गर्न जाँदा जनतालाई सडकमा सास्ती दिएको भन्दै आलोचित हुनुपरेको थियो । उनले शपथ नखाँदै तामझामसहित पशुपति, गुह्येश्वरी, सुन्दरीजल, स्वयम्भू, पुष्पलाल पार्क र बाडेगाउँको स्व.कृष्णप्रसाद भट्टराई आश्रम पुगेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहणसँगै पदभार ग्रहण गरिसकेका छन्। उनी शितलनिवास प्रवेश गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बाहिरिएकी थिइन्। तर, उपराष्ट्रपतिमा रामसहाय निर्वाचित नहुँदै निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले बहादुर भवन छाडिसकेका छन्।

नेपाली कांग्रेसको राजनीतिबाट उदाएका रामचन्द्र पार्टीको महामन्त्री हुँदै उपसभापति अनि सरकारमा पटक–पटक मन्त्री र एकपटक सभामुख भएका थिए । उनी १६ वर्षको उमेरमा राजनीतिमा प्रवेश गरेका थिए । पञ्चायतकालमा पटक–पटक गरी १४ वर्ष जेल बसेका थिए।

यता, मधेसको राजनीतिबाट उदाएका रामसहाय एकपटक संविधानसभा सदस्य र दुईपटक प्रतिनिधि सभामा निर्वाचित सांसद हुन्। उनी पार्टीमा दुईपटक महासचिव भएका र १९ वर्षको उमेरमा राजनीति सुरु गरेका व्यक्ति हुन्।

दुवै रामले ‘सेरेमोनियल’ पद रोजेपछि यिनको निर्वाचन क्षेत्र क्रमशः तनहुँ १ र बारा २ मा अर्का उम्मेदवारको भाग्य खुल्नेछ। यी दुवै निर्वाचन क्षेत्रमा उपनिर्वाचनमार्फत नयाँ सांसद आउनेछन्।

‘राम’ को उत्तराधिकारी बनेर तनहुँबाट कांग्रेसका गोविन्द भट्टराई र बाराबाट जसपा अध्यक्ष उपेन्द्र यादव आफैं संसद् छिर्ने तयारीमा रहेको चर्चा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved