दुई सहपाठीको सञ्जाल ‘वार’ !

बाबुरामले मार्क्स र अल्बर्ट रोज्दा कमल थापाले रोजे अमिर खान र रोनाल्डो

नेपालभ्युज

दुई सहपाठीको सञ्जाल ‘वार’ !

काठमाडौं। डा.बाबुराम भट्टराई पूर्वप्रधानमन्त्री हुन् भने कमल थापा पूर्व उपप्रधानमन्त्री । डा.भट्टराई नेपाल समाजवादी पार्टीका अध्यक्ष र थापा राप्रपा नेपालका अध्यक्ष छन्।

यी दुई सहपाठी पनि हुन्। कुनै समय अमृत साइन्स क्याम्पसका विद्यार्थी रहेका भट्टराई र थापा अहिले नेपाली राजनीतिको विपरीत ध्रुवमा छन्।
एक-अर्काको सोच र विचारमा भिन्नता भएजस्तै सामाजिक सञ्जालमा पनि यी दुईको घोचपेच बेला–बेला पोखिने गर्छ । त्यसमा पनि यी दुईका सामाजिक सञ्जाल हेर्‍यो भने एक अर्कामा दुश्मनीभन्दा बढी माया र केयरिङ देखिन्छ ।

पछिल्लो समय यी दुईको ट्विटर वारमा पनि यस्तै रमाइलो वार देखापरेको छ। जसमा डा. भट्टराईले अल्बर्ट आइन्सटाइन, कार्ल मार्क्स र स्टिफन हकिङ्सलाई सम्झेका छन्। थापाले भने प्रिन्स अल्बर्ट,अमिर खान र रोनाल्डोलाई सम्झिए।

मार्च १४को दिनलाई डा.भट्टराईले तीन महान् आत्माको सम्झनाको दिन भन्दै अल्बर्ट आइन्स्टाइन १४ मार्च १९७९ मा जन्मेका, कार्ल मार्क्सको १४ मार्च १८८३ मा मृत्यु भएको र स्टिफन हकिङको निधन पनि १४ मार्च २०१८ मा भएको भन्दै लेखेका छन्–‘तिनीहरूमध्ये कसैले पनि भगवानमा विश्वास गरेनन् । तीन महान् मानवलाई नमन !’

यसैको उत्तरमा थापाले लेखेका छन्–‘तिमी किन धर्म र ईश्वरप्रति यति पागल र अविश्वासी छौ ? मोनाकोका शासक प्रिन्स अल्बर्ट द्वितीय, लोकप्रिय बलिउड अभिनेता अमिर खान र ब्राजिलका महान् फुटबलर रोनाल्डो र धेरै धेरै महान् आत्माहरू मार्च १४ मा जन्मेका थिए र भगवान् मा विश्वास गर्थे।’

यी दुई सहपाठीका यस्ता थुप्रै सवाल जवाफ छन् जसले धेरै कुरामा यिनीहरू एक अर्काको चासो राख्छन् भन्ने प्रष्ट हुन्छ ।

थापाले निर्वाचन आयोगबाट चुनाव चिन्ह् ‘तीर’ पाएको दिन आफ्नो ट्विटरमा निर्वाचन आयोगबाट ‘तिर’ चुनाव चिन्ह् प्रापत भयो भनेर लेख्नेबित्तिकै डा.भट्टराईले ‘ह्रस्व–दीर्घ’मा समेत ध्यान दिँदै लेखेका थिए–‘मेरा मित्र कमल थापाले चुनाव चिह्न ‘तिर’ पाएको हो की ‘तीर’ ? यदि, ‘तिर’ हो भने त्यो कतातिर ? भन्ने दिशाको प्रतिनिधित्व गर्ने र त्यो चुनाव चिन्ह् हुन नसक्ने यदि ‘तीर’ हो भने धनुषको ‘तीर’ चुनाव चिन्ह पाएकोमा बधाई’ भनेका थिए।

त्यति मात्रै होइन एकपटक डा.भट्टराईले ‘जुन धर्मले तपाईंलाई पैतालाबाट जन्मिएको भनेर जन्मेदेखि नै अपमान र विभेद गर्छ त्यही धर्म किन स्वीकार गर्नुहुन्छ ?’ भन्दै एउटा कार्यक्रममा सम्बोधन गरेका थिए ।

उनले त्यसबेला गरेको सम्बोधनको अंश यस्तो थियो ‘मान्छेको गलगाँडको अपरेसन गर्नु भनेको मान्छे मार्नु हैन । वर्णाश्रम व्यवस्था हिन्दू धर्मको गलगाँड हो ।

वर्णव्यवस्था उन्मूलन गर्नु भनेको हिन्दू धर्मको विरोध हैन बरू त्यसलाई बढी सुन्दर र ग्राह्य बनाउनु हो । धर्मको राजनीति गरेर दलितहरूको उत्पीड़न कायम राख्ने र जनता ठग्नेहरूलाई चेतना भया !’

बाबुरामको अभिव्यक्तिप्रति थापाले तुरुन्तै जवाफ फर्काएका थिए–‘स्वंय भगवान् श्रीकृष्णले ‘गीता’मा जन्मको आधारमा होइन, गुण र कामको आधारमा समाज व्यवस्था गरेको उल्लेख छ । भ्रम सिर्जना गरेर सार्वजनिक रूपमा धर्मपरिवर्तन गर्न उस्काउने कार्य अपराध हो।’

यिनीहरूको सामाजिक सञ्जालमा वार मात्रै होइन कहिलेकाहीँ मित्रता पनि देखिन्छ । जनता समाजवादी पार्टी गठनको समयमा डा.भट्टराईको वरीयता तलमाथी भएको विषयमा सामाजिक सञ्जाल ट्विटरमा थापाले ‘वरीयताको विषयमा डा.बाबुराम भट्टराईलाई केहीले खिसी गरेको पढें।

बाबुरामजीसँग धेरै विषयमा मेरो मतभेद छ । तर, उहाँको वरीयता र राजनीतिक उचाइ निर्वाचन आयोगमा पेश भएको कागजले गर्दैन। लामो राजनीतिक यात्रा र संघर्षले समाजमा उहाँको स्थान कायम भइसकेको छ। एकता गर्दा नाम तल राख्न मानेर बरु उहाँको उचाइ अझै बढेको देखिन्छ ।’

त्यसैगरी, बाबुराम प्रधानमन्त्री हुँदा काठमाडौंको बाटो फराकिलो पार्ने कामको प्रशंसा गर्दै थापाले संसदको रोष्ट्रमबाटै भनेका थिए–

‘बाबुरामजीको विचार र उहाँले लिएको बाटोमा म सहमत छैन । तर,उहाँ प्रधानमन्त्री हुँदा काठमाडौंको बाटो फराकिलो बनाउने कुरा नेपाली जनताले सधैं सम्झन लायक कार्य हो । म पनि यसको मुक्तकण्ठले प्रशंसा गर्दछु।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved