ईश्वर पोखरेललाई राष्ट्रपति बनाउने ओलीको चाहनाले माओवादीमा उब्जेको आशंका

उनी एमाले सबै कब्जा गर्ने कुत्सित मनसायबाट निर्देशित रहेको आरोप लगाउँछन् । ‘सभामुख आफ्नो, राष्ट्रिय सभा अध्यक्ष आफ्नो, उपसभामुख आफूले भनेको मान्ने दलको, प्रधानन्यायाधीश आफ्नो अनि राष्ट्रपति आफ्नो भएपछि एमालेले के-के गर्ला ? तपाईं आफैँ सोच्नूस्,’ ती पदाधिकारीले भने ।

ईश्वर पोखरेललाई राष्ट्रपति बनाउने ओलीको चाहनाले माओवादीमा उब्जेको आशंका

काठमाडौं । फागुन २५ गते राष्ट्रपतीय निर्वाचन हुँदैछ । त्यसका लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ । अहिले राष्ट्रिय राजनीति मूलत: राष्ट्रपतीय निर्वाचनकै वरिपरि नै घुमिरहेको देखिन्छ ।

प्रतिनिधि सभाका तीन ठूला दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्षस्थ नेताहरूबीच हुने बैठक, छलफल तथा भेटवार्ताहरूको मुख्य मुद्दा नै राष्ट्रपतीय निर्वाचन हुने गरेको छ ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले राष्ट्रपतिका सन्दर्भमा ‘राष्ट्रिय सहमति’ खोज्ने निर्णय गरेको छ भने कांग्रेस-एमालेले आफूले सिफारिस गरेको व्यक्ति राष्ट्रपति बन्नुपर्ने अडान दोहोर्‍याइ-तेहेर्‍याइरहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको निरन्तर संवादमा छन् भने कांग्रेस सभापति शेरबहादुर देउवा मौनप्राय: धुम्बाराही निवासमै छन् । ओलीले आफ्नै निवास बोलाएर प्रधानमन्त्रीसँग छलफल गरिरहँदा देउवा पार्टीकै नेताहरूसँग हुन्छन् ।

अधिकांश समय देउवा निवासमै बिताउने गरेका नेताहरूकाअनुसार राष्ट्रपति पाउनेमा कांग्रेस ढुक्क छ । देउवानिकट एक नेता भन्छन्, ‘शेरबहादुर दाइ राष्ट्रपति पाउनेमा ढुक्कजस्तै देखिनुहुन्छ । अधिकांश बैठकमा उहाँले गर्ने ब्रिफिङ पनि यही हो ।’ देउवालाई उद्धृत गर्दै ती नेता थप्छन्, ‘प्रधानमन्त्रीजीले बचन दिइसक्नुभएको छ ।’

राष्ट्रपति कांग्रेसले नै पाउने दाबी गर्ने नेताहरूमा प्रकाशमान सिंह, गगनकुमार थापा, विश्वप्रकास शर्मा, प्रदीप पौडेललगायत छन् । उनीहरूको एकसूत्रीय भनाइ छ— राष्ट्रिय सहमतिअनुसार नै राष्ट्रपति कांग्रेसले पाउँछ ।

यता एमाले अध्यक्ष ओली पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई राष्ट्रपति बनाउन चाहन्छन् । तर, प्रधानमन्त्री प्रचण्ड भने त्यसमा सहमत छैनन् । उनले प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्पष्टरूपमा भनेका छन्, ‘राष्ट्रिय सहमतिमा जोड दिनुपर्छ ।’ माओवादीले राष्ट्रपतिका सन्दर्भमा पनि राष्ट्रिय सहमति नै खोज्नुपर्ने बताइरहेको छ ।

माओवादी केन्द्रको यो ‘भर्सन’ कांग्रेससँग मिलेपछि एमाले सशंकित देखिन्छ । यसकारण एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग अझ नजिकिन चाहन्छन् । तर, उनले एमालेबाट राष्ट्रपति हुँदा ईश्वर पोखरेल नै हुने अडान छाडेका छैनन्, जहाँ प्रधानमन्त्री प्रचण्ड र उनको दल माओवादी केन्द्र तयार छैन ।

यसअघि वाम गठबन्धन हुँदै बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा दुईअध्यात्मक प्रणालीमा थियो, जहाँ प्रचण्ड पनि समान हैसियतका अध्यक्ष थिए । तर, पोखरेलले भने प्रचण्डलाई अध्यक्ष मान्न नसकिने बताउने गरेका थिए ।

पछि नेकपा फुट्यो, नेकपा फुट्नुमा पोखरेल पनि प्रमुख कारक रहेको बुझाइ माओवादी केन्द्र वृत्तमा छ । यत्तिमात्रै नभएर भावी दिनमा आउनसक्ने कृत्रिम संकटलाई बुझेर माओवादी केन्द्रले राष्ट्रपतिमा ईश्वर पोखरेललाई स्वीकार गर्न सकिरहेको छैन । माओवादीका एक पदाधिकारी भन्छन्— ‘ईश्वर पोखरेललाई राष्ट्रपति बनाउनु भनेको भावी दिनमा पहिले भोगिएजस्तै संकट निम्त्याउनु हो ।’

उनी एमाले सबै कब्जा गर्ने कुत्सित मनसायबाट निर्देशित रहेको आरोप लगाउँछन् । ‘सभामुख आफ्नो, राष्ट्रिय सभा अध्यक्ष आफ्नो, उपसभामुख आफूले भनेको मान्ने दलको, प्रधानन्यायाधीश आफ्नो अनि राष्ट्रपति आफ्नो भएपछि एमालेले के-के गर्ला ? तपाईं आफैँ सोच्नूस्,’ ती पदाधिकारीले भने ।

किन ईश्वरलाई नै राष्ट्रपति बनाउन चाहन्छन् ओली ?

ओली र प्रधानमन्त्री प्रचण्डबीच दैनन्दिनजसो संवाद हुने गरेको छ । त्यसक्रममा ओलीले पोखरेल बाहेक अरुलाई राष्ट्रपति नबनाउने बताउने गरेका छन् ।

एमालेबाट राष्ट्रपतिमा उपाध्यक्षत्रय सुवासचन्द्र नेम्वाङ, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यको चर्चा थियो । ओलीसँगको संवादका क्रममा प्रधानमन्त्री प्रचण्डले यी नेताहरूको नाम लिँदा पनि ईश्वर पोखरेलको नामदेखि ओली टसमस नहुने भनाइ माओवादी केन्द्रका नेताले बताउने गरेका छन् ।

किन यस्तो हुन्छ ? भन्ने प्रश्नमा ती पदाधिकारीले भनेका छन्, ‘उनी (ओली) आफ्नो रबर-स्ट्याम्पलाई राष्ट्रपति बनाउन चाहन्छन् र क्रमश सबै आफ्नो कब्जामा पार्न चाहन्छन् । माओवादी केन्द्र सशंकित भएको पनि यही भएर हो ।’

अत: नेम्वाङ, ज्ञवाली र शाक्य तीनैजना ओलीले जे भन्छन्, त्यही मान्ने नेता होइनन् । यो घटनाक्रमले पुष्टि गरेको तथ्य हो । विगतमा नेकपा विभाजनकै असरका कारण एमाले पनि सग्लो नरहने अवस्था देखिएको बेला यी तीनैजना नेताले त्यसलाई गलत भनेका थिए ।

ओलीले पोखरेललाई नै राष्ट्रपति बनाउनु चाहनुमा ‘सरकार ढाल्नेसम्मको योजना’ रहेको आशङ्का माओवादी केन्द्रका नेताहरूको छ । ती पदाधिकारीले भनेका छन्, ‘सभामुख आफ्नो अनुकूलका मान्छे छँदैछन्, राष्ट्रपति चुनावलगत्तै अहिलेको सरकार ढालेर आफैँ प्रधानमन्त्री बन्न ओलीले ईश्वर पोखरेललाई राष्ट्रपति बनाउन जोड गरेको हुनसक्छन् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved