भारतीय विदेश सचिव क्वात्रासँग अन्तर्राष्ट्रिय हवाई रुट खोल्न पूर्वगृहमन्त्री खाणको माग

नेपालभ्युज

भारतीय विदेश सचिव क्वात्रासँग अन्तर्राष्ट्रिय हवाई रुट खोल्न पूर्वगृहमन्त्री खाणको माग

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् ।

काठमाडौँमा सोमबार भएको भेटमा उनीहरूबीच दुई देशबीचको आपसीहितका विभिन्न विषय र समसामयिक राजनीतिक विषयमा छलफल भएको नेता खाणको सचिवालयले जनाएको छ ।

भेटमा नेता खाणले लुम्बिनी विकास कोषको गुरुयोजना निर्माणबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीको भ्रमणमा आएका बेलामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको कुराकानीबारे स्मरण गराएका थिए । भारतीय प्रधानमन्त्री मोदीले भ्रमणका बेला लुम्बिनीको गुरुयोजना निर्माणमा सहयोग गर्ने बताएका थिए ।

साथै पूर्वगृहमन्त्री खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानको वातावरण बनाउन अन्तर्राष्ट्रिय हवाई रुट सन्दर्भमा सहयोगका बारे सचिव क्वात्रासँग छलफल गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनी भ्रमणका क्रममा थप हवाई रुटबारे पहल गर्ने आश्वासन दिएका थिए ।

विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आएका थिए । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा विमला राई पौड्याल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved