राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा प्रधानमन्त्री सकारात्मक : महत

नेपालभ्युज

885523035821511
फाइल फोटो

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुखको चयन दलीय सहमतिका आधारमा गर्ने प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाएको बताएका छन् ।

प्रवक्ता महतले समग्र देश र संसद्को प्रतिनिधित्व गर्नुपर्ने भएकाले सो पदहरूको निर्वाचन पनि दलहरूबीचको साझा सहमतिमा हुने विषयमा प्रधानमन्त्रीले कांग्रेससँग प्रतिबद्धता गरेको उनको भनाइ छ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले विगतमा राष्ट्रपति पदको दुरुपयोग हुने संकेतहरू देखिएको भन्दै त्यस्तो हुन नदिन पनि आफ्नो पार्टीले राष्ट्रपतिसहितका राज्यका माथिल्लो संस्थाहरूको नेतृत्व चयन दलहरूबीचको सहमतिमा नै हुनुपर्ने प्रस्ताव अघि सार्नुपरेको जिकिर गरे ।

उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पद महत्त्वपूर्ण संवैधानिक पद भएकाले पार्टीहरूले साझा दृष्टिकोण बनाउन जरुरी रहेको बताए ।

संवैधानिक पदहरू मन्त्री चयन गर्ने किसिमको नभएकाले प्रधानमन्त्रीले आफूले दिएको वचनबद्धता पूरा गर्नेमा आशावादी रहेको उनले उल्लेख गरे ।

उनले संवैधानिक पदहरूमा रहने व्यक्तिले पार्टीगत रूपमा नभई समग्र देशको नै प्रतनिधित्व गर्ने भएकाले सबै पार्टीहरूले सोचेर निर्णयमा पुग्नुपर्नेमा जोड दिए ।

प्रवक्ता महतले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानमाथि फेरि पनि धावा बोल्ने ढंगका अभिव्यक्ति दिएपछि कांग्रेसले त्यसको रक्षाका लागि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुपर्ने अवस्था आएको दोहोर्‍याए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved