हिंसामा संलग्न भएको आरोपमा ब्राजिलका पूर्वमन्त्री पक्राउ

नेपालभ्युज

हिंसामा संलग्न भएको आरोपमा ब्राजिलका पूर्वमन्त्री पक्राउ

ब्रासिलिया । ब्राजिलका पूर्व न्यायमन्त्री एन्डरसन टोरेसलाई शनिबार पक्राउ गरिएको जापानी राष्ट्रिय टेलिभिजन एनएचके वर्ल्डले जनाएको छ । टोरेसलाई अमेरिकाबाट फर्के लगत्तै उनको निवासबाट पक्राउ गरिएको हो ।

टोरेसले आफुलाई जानकारी हुँदाहुँदै पनि जानीजानी राजधानीमा भएको आक्रमण रोक्न नचाहेको आरोप लगाइएको छ ।

एनएचकेले आफ्नो रिपोर्टमा भनेको छ, ‘उहाँले दङ्गा सुरु हुनुअघि नै देश छोड्नुभएको थियो ।’ पूर्व राष्ट्रपति जायर बोल्सोनारोका निकट सहयोगी टोरेसलाई गत वर्षको अक्टोबरमा भएको निर्वाचनमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पराजित गरेका थिए ।

एनएचके वल्र्डको रिपोर्टमा स्थानीय प्रहरी स्रोतलाई उद्धृत गर्दै टोरेसको घरमा अक्टोबरमा भएको राष्ट्रपतीय निर्वाचनको परिणाम उल्ट्याउने आदेशको मस्यौदा फेला परेको उल्लेख छ ।

अभियोजकहरूले टोरेसलाई दङ्गामा बोल्सोनारोको संलग्नताको सम्बन्धमा सोधपुछ गर्ने अपेक्षा गरिएको एनएचके वर्ल्डले जनाएको छ ।

यसैबीच टोरेसले आइतबार एक ट्वीट गर्दै भनेका छन्, ‘म सँधै कानुनी आधार र नैतिकताका साथ काम गरेको थिएँ । सत्यको जीत हुने मलाई पूर्ण विश्वास छ ।’

यसअघि ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले बोल्सोनारोले जनवरी ८ मा देशको राजधानीमा भएको हिंसा भड्काउन उक्साएको हो वा होइन भन्ने विषयमा अनुसन्धान गर्न स्वीकृति दिएका थिए ।

महान्यायाधिवक्ताको कार्यालयको अनुरोधमा अनुसन्धानका लागि अनुमति दिइएको हो । अनुसन्धानका लागि बोल्सोनारोले राजधानीमा भएको हिंसाको दुई दिनपछि फेसबुकमा अपलोड गरेको भिडियोलाई आधार बनाइएको छ ।

भिडियोमा बोल्सोनारोले लुइज इनासियो लुला दा सिल्भालाई राष्ट्रपतिमा निर्वाचित नगरिएको तर सर्वोच्च अदालत र ब्राजिलको निर्वाचन प्राधिकरणले छानेको दाबी गरेका छन् ।

ब्राजिलका अधिकारीहरूले बोल्सोनारोका ‘अतिवादी’ अनुयायीहरूलाई सर्वोच्च अदालत, संसद परिसर र राष्ट्रपति निवासमा आक्रमण गर्न कसले उक्साए भन्नबारे अनुसन्धान गरिरहेका छन् ।

दङ्गाका क्रममा ब्राजिलका पूर्व राष्ट्रपतिका समर्थकहरूले संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा तोडफोड गरेका थिए । गत अक्टोबर ३० मा बोल्सोनारोलाई पराजित गरेका राष्ट्रपति डा सिल्भाले पदभार ग्रहण गरेको करिब एक सातापछि उक्त हिंसात्मक घटना भएको थियो । एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved