सुदूरपश्चिममा सभामुख चयन अनिश्चित

नेपालभ्युज

सुदूरपश्चिममा सभामुख चयन अनिश्चित

धनगढी। सुदूरपश्चिममा सभामुख चयन गर्ने काम आज पनि हुन सकेको छैन। प्रदेशसभाको सभामुख पदका लागि बिहीबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेशसभाको कुल सदस्य सङ्ख्याको बहुमत सङ्ख्या प्राप्त नगरेकाले सभामुख निर्वाचन हुन सकेको थिएन।

पुन आज बिहान ११ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक समेत स्थगित गरिएको छ छ भने बैठक अनिश्चित बनेको छ।

प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नभएसम्म बैठक स्थगित भएको सूचना टाँस गरेको हो। आज बिहान ११ बजे सभामुखको पुनः निर्वाचन गर्ने गरी बिहीबार साँझको बैठक स्थगित भएको थियो।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हिजो ५० जना मतदानमा सहभागी भएका थिए । त्यसमध्ये सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भीमबहादुर भण्डारीको पक्षमा २६ मत खसेको थियो भने नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए। सभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य शिवराज भट्टले प्रदेशसभाको कुल सदस्य सङ्ख्याको बहुमत नपुगेकाले दुवै प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए।

नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरी र एमाले सांसद चक्र मल्ल मतदानमा सहभागी भएनन्। एक मत बदर भएको थियो। ज्येष्ठ सदस्यले बैठक शुक्रबार बिहानसम्मका लागि स्थगित गरेका थिए। तर अहिलेसम्म सभामुख चयनको प्रक्रिया अन्योलमै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved