प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत लिनै कठिन छः काँग्रेस नेता विश्वकर्मा

नेपालभ्युज

प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत लिनै कठिन छः काँग्रेस नेता विश्वकर्मा
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दावी गरेका छन् ।

काँग्रेस जस्तो लचिलो पार्टीलाई त मिलाएर जान नसक्ने प्रधानमन्त्री दाहालले ७ वटा राजनीतिक पार्टीहरुलाई मिलाएर विश्वासको मत लिन कठिन हुने उनको तर्क थियो । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले ३० दिन भित्र विश्वास मत लियो भने दाहाल नेतृत्वको सरकार २ वर्षसम्म चल्ने अनुमान समेत गरे ।

संघीयतानै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आउ भन्ने राप्रपालगायतका राजनीतिक दलहरु रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने पनि उनले बताए । विश्वकर्माले भने, ‘अव उहाँसँगको सिट संख्याले अहिले त १६९ पुगेको छ । तर त्यो १६९ को आधारहरु हेर्ने हो भने सात वटा दल छन । ७ वटा दलको दावी त बाहिर आएकै छैन । त्यो दावी सुन्नै पाएका छैनौं । भर्खरै सुने–राष्ट्रिय प्रजातन्त्र पार्टीले हाम्रा पनि केही सर्तहरु छन । ती सर्त पूरा हुने लक्षण देखिएमात्रै सरकारमा जान्छौं । उहाँहरुको राजा आऊ, देश बचाऊ होला । यसैगरी फेरी राष्ट्रिय स्वतन्त्र पार्टी त सरकारमा गईहाल्यो ।’

‘अव उहाँहरुले प्रदेशमा उम्मेदवारी उठाउनु भएको छैन । किनभने उहाँहरुलाई प्रदेश सरकारप्रति विश्वास छैन । संघीयताप्रति भरोसानै छैन । यत्रो ८÷९ सय सांसद कहाँ पाल्न सकिन्छ ? भन्ने चिन्ताले मैले त्यतातिर उम्मेदवारी नदिएको रवि लामिछानेले भन्नु भएको छ । यसको अर्थ उहाँलाई संघीयताप्रति विश्वास छैन । राप्रपालाई गणतन्त्रप्रति विश्वास छैन । अनि अरु दलहरुपनि त्यस्तैत्यस्तै क्षेत्रीय दलहरु छन । अव ती सबै दलहरुलाई मिलाएर लिएर जानलाई यसको जिम्मेवारी त फेरी पनि प्रचण्डजीमै जान्छ । प्रचण्डजीले आफूलाई केन्द्रमा राखेर काँग्रेस जस्तो लचिलो पार्टी त मिलाउन सक्नु भएन भने यी सबै दलहरु कसरी मिल्लान ? र, मिलेनन् भने हामीले चाहेको राजनीतिक स्थायित्व आउँछ कि आउँदैन ? राजनीतिक स्थायित्व आउनलाई निकै कठिन छ । त्यसैले मलाई यो ३० दिन भित्र विश्वासको मत लिनुपर्ने परिस्थिति हाम्रो संविधानले सुनिश्चित गरेको छ, उनले भने ।’

‘३० दिन भित्रको विश्वासको मतसम्म यो सरकार कसरी पुग्छ ? त्यसैले ३० दिन कट्यो भने सरकार राम्ररी २ वर्ष जान्छ । यो सरकार पनि ३० दिन बाँच्यो भने यसलाई केहीले छुनेवाला छैन २ वर्षसम्म । त्यसकारण मलाई कहाँ लागेको छ भने अव सुरु हुन्छ । हिजो त आकस्मिक रुपले गठबन्धन तोडनु थियो, तोडियो । त्यसमा प्रचण्डजीको महत्वकांक्षालाई सबैले साथ दिएकै हो । आईहाल्यो गरिदिऊ भन्ने कुरा हो । ओलीजीलाई पनि गज्जब भो । जो मान्छे भाँडभैलो मच्चार बालकोटबाट निस्केको थियो । त्यो मान्छे खात्राकखुत्रुक परेर शरण परेपछि म भएपनि त्यही गर्थे । उहाँले त्यही गर्नु भयो । तर प्रचण्डजीको बारेमा भने समस्या हुन्छ, उनले भने ।’

कार्यक्रममा बोल्दै सत्तारुढ नेकपा (एमाले)का सांसद सूर्य थापाले संवैधानिक, कानुनी र राजनीतिक सबै हिसावले सत्तारुढ गठबन्धनको सरकार बनेको र यो सहज ढंगले अघि बढ्ने बताए। उनले पार्टीले आवश्यक ठाने आफू पनि सरकारमा जान योग्य रहेको समेत बताए ।

अर्का सत्तारुढ माओवादी केन्द्रका नेता दिनानाथ शर्माले आफूहरुले मिलेर सरकार चलाउने बताए। उनले विगतमा फुट आएपनि अव मिलेर अघि बढने गरी जनादेश आएकाले सोही अनुसार आफूहरु अघि बढनुपर्ने अवस्था रहेको पनि बताए । नेता शर्माले भने, ‘हामी फुट्यौ, झगडा पनि गर्‍यौ । अव मिलेर जान्छौं । मिल्छौं । विगतको आत्मसमिक्षा गरेर अघि बढछौं ।’

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved