कांग्रेस संसदीय दलको निर्वाचन : संस्थापनइतरमा अझ सकस !

'संस्थापन पक्षबाट देउवा निर्विकल्प ?'

हालै सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो शक्तिका रूपमा आएको नेपाली कांग्रेसले यसै साताभित्र संसदीय दलको नेता चयन गर्दैछ ।

नेपालभ्युज

कांग्रेस संसदीय दलको निर्वाचन : संस्थापनइतरमा अझ सकस !

काठमाडौं । हालै सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो शक्तिका रूपमा आएको नेपाली कांग्रेसले यसै साताभित्र संसदीय दलको नेता चयन गर्दैछ । समानुपातिक सांसदहरूले प्रमाणपत्र ग्रहण गरेलगत्तै संसदीय दलको निर्वाचन हुने प्रवक्ता डा. प्रकाशशरण महतले बताए । नेपालभ्यूजसँग उनले भनेका छन्, ‘उहाँहरूले प्रमाणपत्र लिनेबित्तिकै हामी संसदीय निर्वाचनमा जानेछौँ ।’

तर, यसपटकको कांग्रेस संसदीय दलको निर्वाचन रोचक देखिने भएको छ । आकांक्षीहरू धेरै छन् । आकांक्षीहरूमा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शेखर कोइराला, शशांक कोइराला र गगनकुमार थापा छन् ।

यद्यपि उनीहरूमध्ये दुई वा तीनजनाले मात्रै उम्मेदवारी दिने आकलन गर्छन् राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी । ‘उनीहरूमध्ये शेरबहादुर र शेखरबीच मात्रै प्रतिस्पर्धा हुने सम्भावना उच्च देख्छु म त,’ उनले भने ।

उसो त आफ्नो अडानबाट किञ्चित् पछाडि नहट्ने नेताहरूमा शेरबहादुर, शेखर र गगन नै देखिन्छन् । शेरबहादुर पार्टी सभापति हुन् भने शेखर र गगन संस्थापनइतरको नेतृत्व गर्छन् ।

पार्टीको १४ औं महाधिवेशनमा एउटै ‘प्यानल’ बनाएर आन्तरिक निर्वाचनमा होमिएका उनीहरूबीच पनि संसदीय नेताका लागि भने होडबाजी नै देखिन्छ ।

संस्थापन पक्षबाट भने शेरबहादुर नै निर्विकल्प भएको उनीनिकट एक नेता बताउँछन् । ‘उहाँ (शेरबहादुर देउवा) नै हो कांग्रेसको संसदीय दलका नेता । त्यसबाहेक अरु को हुनसक्छ र ?,’ उनीनिकट एक नेताले नेपालभ्यूजसँग भनेका छन् ।

त्यसबाहेक अन्य आकांक्षीहरूलाई पनि सभापति देउवाले मिलाएरै लाने बताउँछन् ती नेता । ‘उहाँले मिलाएरै लानुहुन्छ । अहिलेसम्म पनि उहाँले पार्टी मात्रै होइन, गठबन्धनमा रहेका दलहरूलाई त मिलाएरै लानुभएको छ,’ उनले भनेका छन् ।

जसै— देउवाले सांसदहरूलाई आफ्नै वरिपरि राखिरहेका छन् । खासरूपमा कुनै काम नभएपनि उनले सांसदहरूलाई प्रधानमन्त्री सरकारी निवास बालुवाटार बोलाउने गरेका छन् । बधाई तथा शुभकामना दिने बहानामा बालुवाटार बोलाएका सांसदहरूलाई उनले संसदीय दलका नेतामा सहयोग गर्न भनिरहेका छन् ।

बालुवाटर पुगेका एक सांसदले भने, ‘उहाँले पुन: संसदीय नेता बन्न चाहन्छु, तपाईंहरूले सहयोग गर्नुपर्छ भन्नुभएको छ । तर, यसै गर्ने भन्नेमा पुगेको छैन ।’

तर, संस्थापनइतर पक्षमा भने गाह्रो देखिएको छ । १४औं महाधिवेशनमा सभापतिमा पराजित शेखर र निर्वाचित महामन्त्री गगन टसमस देखिन्छन् । उनीहरूबीच एक/दुई चरण वार्ता भएपनि सहमति ननिस्केको नेताहरूको भनाइ छ ।

उनीहरू दुवैजना आफूनिकटका सांसदहरूसँगको छलफल तथा संवादमा छन् । तर, सहमति बनाएर अगाडि बढ्ने बताउँछन् नेता चन्द्र भण्डारी । शेखर-गगनलाई मिलाउन लागेका भण्डारी भन्छन्, ‘आकांक्षा व्यक्त गर्नु अस्वाभाविक होइन, हामी मिलाएरै अगाडि बढ्छौँ ।’

भण्डारीबाहेक उनीहरूलाई मिलाउन डा. स्वर्णिम वाग्ले, पुरञ्जन आचार्य, अर्जनरसिंह केसीलगायत लागेका छन् ।

गगनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि समर्थन गरेका छन् । यसो हुँदा पनि कांग्रेस संसदीय दलको निर्वाचन रोचक हुने देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved