हुम्ला र मुगु जिल्ला सडक सञ्जालसँग जोडिए, प्रदेश सरकारलाई हस्तान्तरण

हुम्ला र मुगु जिल्ला सडक सञ्जालसँग जोडिए, प्रदेश सरकारलाई हस्तान्तरण

सुर्खेत। हुम्ला र मुगु जिल्ला सडक सञ्जालसँग जोडिएका छन् । राष्ट्रिय सडक सञ्जालले नजोडिएको हुम्ला जिल्ला मुगु जिल्लासँग सडक सञ्जालले जोडिएको हो ।

मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिकाको देउलीसम्म ६७ किलोमिटर सडक सञ्जालसँग जोडिएको छ ।

बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण भएको मुगुको गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका देउलीसम्मको सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । १ अर्ब ६६ करोड ९३ लाख ५२ हजारमा निर्माण भएको सडक प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
बेलायती राजदूत निकोला पोलिटले हुम्ला–मुगु सडक कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई हस्तान्तरण गरेकी छन् ।

बेलायती राजदूत पोलिटले हुम्ला–मुगु सडकलाई औपचारिक रूपमा सडक सञ्जालसँग जोडेको बताइन् । ‘बेलायत सरकारको प्रमुख ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत ४.५ मिटर चौडा मोटरेबल लिंक रोडले खुट्टाले हिँड्ने बाटोलाई प्रतिस्थापन गरेको छ ।’ राजदूत उनले भनिन्, ‘यो बेलायतले नेपालमा निर्माण गर्न मद्दत गरेको सबैभन्दा लामो ग्रामीण सडक हो ।’

सडक सञ्चालनमा आएसँगै खाद्यान्नमा ४३ प्रतिशतले मूल्य घट्नुका साथै बजार, स्वास्थ्य सुविधालगायतमा उल्लेख्य परिवर्तन आएको राजदूत पोलिटले बताइन् । ‘अक्टोबर २०१८ बाट सुरु भएको सडक निर्माणका क्रममा चार हजार चार सयभन्दा बढी स्थानीय श्रमिकलाई रोजगारी दिइएको र श्रमशक्तिको ३५ प्रतिशत भन्दा बढी महिलाहरू सहभागी भएको थिए ।’ उनले भनिन्,‘महिलालाई पनि पुरुष सहर ज्याला दिएर काममा लगाइएको थियो ।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सात वर्षको उमेरदेखि हिँडेर यात्रा गरेको स्मरण गरे । ‘हुम्लाबाट यहीँ बाटो भएर महिना दिन लगाएर नेपालगञ्ज पुग्थ्यौं, मान्छे हिँड्न धौ–धौ हुने सडकमा अहिले गाडी गुडाएर आएका छौँ ।’ उनले भने, ‘विकासको पहिलो आधार नै सडक हो, सडक भएपछि अरु आवश्यकता पनि पूरा हुँदै जान्छन् ।’

यो सडकले चंखेली हिमालको तीन हजार तीन सय मिटरको अग्लो डाँडा पार गरेको छ । ६७ किलोमिटर सडकमध्ये मुगुमा ३३ किलोमिटर र हुम्लामा ३४ किलोमिटर पर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved