केएनभीबीको नेतृत्वमा फुटबल प्रशिक्षक तालिम सुरु

नेपालभ्युज

केएनभीबीको नेतृत्वमा फुटबल प्रशिक्षक तालिम सुरु

काठमाडौं। रोयल डच फुटबल संघ केएनभीबीको नेतृत्वमा फुटबल प्रशिक्षकको तालिम सुरु भएको छ ।  ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बिहानबाट ६ दिने तालिम सुरु भएको हो।

‘वर्ल्ड कोचेज फुटबल एन्ड लाइफ स्किल्स’ नामक तालिममा महिला र पुरुष गरी कुल ३२ प्रशिक्षकहरूको सहभागीता रहेको छ ।तालिमको मध्यान्तरमा आयोजित एक कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाले केएनभीबीको यस प्रयासप्रति आभार व्यक्त गर्‍यो।

एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले सो सहकार्यले नेपाली फुटबल र समाजलाई असल बाटो हिँड्न प्रेरित गर्ने बताए। नेम्वाङले भने,‘केएनभीबीसँगको अन्तरक्रियामा ग्रास रुट, युवा तथा महिला फुटबल विकासको बारेमा छलफल भएको छ। फुटबल खेलमार्फत महिला सशक्तीकरण र समावेशीताको साथ समान अवसर प्रदान गर्ने विषयलाई पनि ध्यान दिएका छौं।’

भारत, नेपाल र भुटानका लागि डच राजदुत मार्टेन भ्यान डेन बर्गले दुई राष्ट्रलाई तालिमले नजिक हुने अवसर प्राप्त गरेको आशावादी भाव व्यक्त गरे। राजदूत बर्गले भने,‘नेदरल्याण्ड्स र नेपाल फुटबलले जोडिँदा दुईबीचको सम्बन्ध अझैँ सुदृढ हुने आशा गर्दछु।’

नेपाल र नेदरल्यान्डसबीचको सम्बन्धलाई विभिन्न तहमा कसरी विकास गर्ने भन्ने अध्ययन भइरहेको नेपालको लागि नेदरल्यान्डसका मानार्थ महावाणिज्य दूत दीपक राज सापकोटाले जानकारी गराए।

‘पहिलो चरणमा एन्फा र केएनभीबीचको सहकार्यमा यो तालिम आयोजना भएको छ। जसले फुटबलको सीपलाई सामाजिक रूपान्तरणको लागि प्रयोग गर्न कलाको विकास गर्नेछ,’ दूत सापकोटाले बताए।

केएनभीबीका प्रशिक्षक योहान भ्यान गेइजनले स्थानीय तहबाट नै फुटबलको विकास गर्न नै तालिमको मुल उद्देश्य भएको जानकारी गराए। ‘स्थानीय स्तरबाट नै प्रशिक्षक उत्पादन गरेर फुटबलको जग बलियो बनाउने यस तालिमको उद्देश्य हो। साथै बालबालिकालाई फुटबलको क्षमता जीवन कौशलमा पनि उपयोग गराउने सीप विकास हुनेछ।’ प्रशिक्षक योहानले भने।

सन् १९७४ को विश्वकप फाइनलमा सबैभन्दा छिटो गोल गर्ने कीर्तिमानी गोलकर्ता योहान निस्केन्स

केएनभीबी टोलीका प्रशिक्षक तथा ‘टोटल फुटबल’ का प्रवृद्धकको रूपमा चिनिने योहान निस्केन्सले पनि यस तालिमले प्रशिक्षकहरूलाई प्रशिक्षणलाई रोमाञ्चक तरिकाले सञ्चालन गर्न मद्दत गर्ने बताए।

‘यस तालिमले फुटबललाई बुझ्न थप सहयोग पुग्ने छ । नेपालमा फुटबलको विकासमा टेवा पुर्‍याउन पनि यो तालिम उपयोगी साबित हुनेछ।’, निस्केन्सले भने। निस्केन्सले नेपालले जितेको यू–१५ महिला साफ च्याम्पियनसिपको उपाधिको पनि प्रशंसा गरे।

सन् १९७४ को विश्वकपमा निस्केन्सले पश्चिम जर्मन टोलीविरुद्धको खेलमा कीर्तिमानी गोल गरेका थिए। नेदरल्यान्डसले खेलको २ मिनेटमा पाएको पेनाल्टीमा निस्केन्सले गोल गरेका थिए। सोही खेलमार्फत निस्केन्सले विश्वकप फाइनलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडीको कीर्तिमान बनाए।

सो कीर्तिमान यथावत् नै छ । तथापि, सो खेलमा नेदरल्यान्डस २–१ ले पराजित भई उपविजेता बनेको थियो। अहिले ७१ वर्षीय निस्केन्स केएनभीबीका राजदूतका रूपमा सक्रिय छन्।

केएनभीबीले यस तालिमलाई विगतको १२ वर्षदेखि विभिन्न राष्ट्रमा सञ्चालन गर्दै आएको छ । रोयल डच फुटबल संघका प्रशिक्षकमा निस्केन्स र गेइजनसँगै बर्ट जुर्मन र किम्बर्ली मिरान्डाले पनि तालिम सञ्चालन गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved